अर्थ

चामेको पुलले रोक्यो अन्नपूर्ण फेरोको पदयात्रा

चामेको पुलले मनाङको माथिल्लो क्षेत्रसँग सडक सम्पर्क विच्छेद

मनाङको चामेमा मर्स्याङदी नदीको वहावलाई पहिरोले थुनेपछि डुवानमा परेको पुल। पुल डुवानमा परेपछि अहिले माथिल्लो क्षेत्रसँग सडक सञ्जाल टुटेको छ। तस्बिरः नागरिक

हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्र र सदरमूकाम चामे अहिले सडक सञ्जालबाट पूर्णरुपमा बिच्छेद छन। सदरमुकाम चामेस्थित मर्स्याङदी नदीको वहावलाई नै अवरुद्ध गर्नेगरि गत आइतबार भीषण पहिरो झरेपछि नदी आंशिक रुपमा थुनिएको थियो। नदी थुनिएपछि अहिले माथिल्लो मनाङसँगको सदरमुकाम चामेको सडक सम्पर्क टुटेको छ।  

सडक अवरुद्ध हूँदा पर्यटकीय सिजनमा पदयात्राका लागि गएका पर्यटक चामे भन्दा माथि जान सकेका छैनन। पहिरोका कारण सडक नखुलेपछि अन्नपूर्ण फेरोको पदयात्रा पनि रोकिएको छ। मर्स्याङदी नदीमाथि करिब ३५ मिटर लामो मोटरेवल पुल रहेको छ। त्यही पुललाई डुबाउने गरि नदीको वहाव रोकिएको थियो। नदीको वहाव केहीबेर रोकिएर छेउबाट बग्न थालेपनि पुलमाथिबाट पानी बग्न भने रोकिएको छैन। त्यसबाहेक पुलकै दायाँबायाँको खण्डबाट पनि पानी बगिरहेको छ।  

रोकिएको वहाव घटाएर सडक खुलाउने प्रयास भइरहेपनि अहिलेसम्म नसकेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए। उनका अनुसार पहिरोले वहाव रोकिएसँगै त्यहाँ ठूलो परिमाणमा ढुंगा, गिट्टी बालुवा थुप्रिएको छ। थुप्रिएको ढुंगा, गिटी र बालुवा निकाल्ने गरि उपकरण परिचालन गर्न सम्भव नभएपछि अझैसम्म सडक खुलाउन नसकेको उनले बताए।  

‘पुललाई नै छुनेगरि ढुंगा, गिट्टी बालुवा जम्मा भएको छ। ढुंगा, गिट्टी बालुवाको थुप्रो बिचमा छ, तर, दायाँबायाँबाट भने नदीको तिब्र वहाव छ,’ उनले भने, ‘नदी तारेर उपकरण लैजान सकिने अवस्था रहेन। नदीको वहाव तत्काल घट्ने अवस्था पनि छैन। त्यही भएर सडक खुलाउन नसकिएको हो।’  

२०७८ असार पहिलो साता मनाङमा भीषण वर्षा हुँदा मर्स्याङदी नदी यसैगरि थुनिएको थियो। त्यो बेला पनि नदीको वहाव खुलाउन निकै नै दिन लागेको थियो। ‘पहिरोले थुनिएको नदीमा थुप्रिएको ढुंगा, गिट्टी बालुवा निकाल्ने प्रयास भईरहेको छ,’ उनले भने।मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेल पनि वहाव रोकिएको ठाउँमा थुप्रिएको ढुंगा, गिट्टी बालुवाका कारण सडक खुलाउन सहज नभएको बताउँछन्।

‘पुलको दायाँबायाँ र माथिबाट नदी बगिरहेको छ। पुलमुनि ढुंगा, गिट्टी बालुवाको थुुप्रो छ, त्यो थुप्रोसम्म पुग्न सहज छैन, छेउँमा पानीको ठूलो वहाव छ,’ पौडेल भन्छन, ‘तालमा भरिएको गेग्रान निकाल्न नसक्दा समस्या भएको हो।’  

उनका अनुसार ढुंगा, गिट्टी बालुवा थुप्रिएको ठाउँमा दलदल रहेको र त्यो ठाउँसम्म उपकरण पुर्याउन पनि सहज छैन। अहिले रोकिएको वहाव अबको दुईदिनभित्र संचालन गर्न सकिने अपेक्षा रहेको उनले बताए। पहिरोले थुनिएको वहावभित्रै केही घरहरु समेत डुबेका छन्। २०७८ मा यही ठाउँमा यसैगरि लामो समय पुलले अवरोध गरेको र अहिले पनि त्यही तरिकाले अवरोध भएपनि खुलाउने प्रयास अहिलेका लागि बढि जोखमपूर्ण रहेको उनले सुनाए।  

पुलले सडक अवरुद्ध गरेपनि पैदल यात्रा गरेर माथिल्लो क्षेत्रमा जान सकिने उनले बताए। ‘चामे भन्दा माथि हिडेर जाने हो। माथिल्लो क्षेत्रमा गाडीको पहुँच अहिलेका लागि छैन, त्यसैले हिडेर जाने हो,’ उनले भने। उनका अनुसार चामे भन्दा तल्लो क्षेत्रमा पनि बाटो खुलिसकेकेको छैन। धारापानी भन्दा केही तलको खोत्रो भन्दा माथि अहिले गाडी जान नसक्ने उनले बताए।  

‘तल्लो खण्डको बाटो पनि खुलाउने प्रयास भईरहेको छ, माथिल्लो क्षेत्रका लागि बढि बल लगाउनुपरेको छ,’ उनले भने। अहिले बाटो अवरुद्ध हुँदा अन्नपूर्ण फेरोको पदयात्रा पूर्ण रुपमा खुल्न सकेको छैन। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडक खुल्नासाथ पर्यटकका लागि पनि पदयात्रा अनुमति जारि गर्ने बताएको छ।

यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बाढीपहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिएका छन। चामे पुगेका मुख्यमन्त्री पाण्डेले स्थानीय तहका जनप्रतिनिधि, जिल्ला सुरक्षा समिति तथा प्रदेश मातहतका कार्यालयका प्रमुखसँग छलफल गर्दै बाढीपहिरोका कारण अवरुद्ध सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउने र प्रभावित नागरिकको जनजीवन सामान्य बनाउने प्रयास गरिरहेको बताए।  

‘अहिले पानी बगिरहेकाले जोखिम कम देखिएको भएपनि खोलाघरमा थुप्रिएको ग्राभेल र ठुला ढुंगाका कारण चामेमा घरहरु जोखिममा परेका र पुल पनि डुबानमा परेको छ। खोलाघर खोल्ने प्रयास भईरहेको छ,’ मुख्यमन्त्री पाण्डेले भने। मुख्यमन्त्री पाण्डेसँग स्थानीयले सडक तथा यातायात सञ्चालन, खानेपानी, खाद्यान्न, आवास तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणलगायत विषयमा समस्या र माग राखेका थिए।

स्थानीय तह र प्रदेश सरकारको स्रोत तथा क्षमताले तत्काल गर्न सकिने अत्यावश्यक कामलाई प्राथमिकताका साथ अघि बढाउने र प्रदेशको स्रोतबाट सम्भव नहुने ठूला तथा दीर्घकालीन कामका लागि संघीय सरकारसँग समन्वय गरिने मुख्यमन्त्री पाण्डेले बताए।  

‘अहिलेको प्राथमिकता प्रभावित नागरिकको जीवन सहज बनाउने, अवरुद्ध सडक तथा पूर्वाधार सञ्चालन गर्ने र आवश्यक राहत तथा पुनःस्थापनाको व्यवस्था गर्ने हो,’ मुख्यमन्त्री पाण्डेले भने, ‘प्रदेश, स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित कार्यालयबीच समन्वय गरेर तत्काल गर्न सकिने काम अघि बढाउँछौं र थप आवश्यक सहयोगका लागि संघ सरकारसँग समन्वय गछौं।’  

चाडपर्वको समय पनि नजिक रहेकाले स्थानीयको दैनिकी सहज बनाउन तत्काल गर्नुपर्ने कामलाई पहिलो प्राथमिकतामा राखेको पनि उनले बताए। यसअघि मंगलवार मुख्यमन्त्री पाण्डे बागलुङ, म्याग्दी, पर्वत जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका थिए।

प्रकाशित: १४ आश्विन २०८३ १७:१५ बुधबार

मनाङ चामे मर्स्याङदी नदी