अर्थ

उद्योग वाणिज्य संघ इटहरी : काफ्ले र भण्डारी समूहबिच चुनावी प्रतिस्पर्धा हुँदै

उद्योग वाणिज्य संघ इटहरीको आगामी असार २७ गते हुन लागेको निर्वाचनमा नवराज काफ्ले र गायत्री कट्वाल भण्डारीबिच चुनावी प्रतिस्पर्धा हुँदैछ। असार ११ गते मनोनयन रहेकाले दुवै समूहले आ–आफ्नो टीम खडा गर्दैछन्।

सुरुवाती चरणमा काफ्ले, भण्डारी र बलबहादुर न्यौपाने अध्यक्षमा प्रतिस्पर्धा गर्ने चर्चा थियो। तर, न्यौपानेको समूह   काफ्ले समूहसँगै मिल्ने भएपछि अब दुई पक्षीय चुनावी प्रतिस्पर्धा हुन लागेको हो।

दुवै समूहले आफ्नो टीमबाट प्रतिस्पर्धा गर्ने उम्मेदवार औपचारिक रूपमा सार्वजनिक नगरेता पनि काफ्ले समूहबाट यसअघि कार्यसमितिका बसेका धेरैजसो दोहोरिने निश्चित छ। भण्डारी समूह कसलाई चुनावमा उठाउँदा प्रभाव पर्छ? भन्ने ढंगले उम्मेदवारको अन्तिम चयनमा लागेको छ।

उद्योगी व्यवसायीहरुको छाता संगठनको चुनाव सरगर्मी बढिरहँदा काफ्ले समूहलाई नेपाली कांग्रेस र नेकपा एमाले निकट व्यवसायीहरूको समर्थन रहेको छ। यद्यपी पार्टीले पनि कुनै विगतमा जस्तो कुनै औपचारिक निर्णय नगरेको जानकारी दिइयो।

भण्डारी समूहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (माओवादी केन्द्र) निकट व्यवसायीहरूले समर्थन छ। अघिल्लो पटकको निर्वाचनमा भने कांग्रेसले आधिकारिक रूपमा भण्डारीलाई नै उम्मेदवार बनाएको थियो। त्यो बेला एमालेबाट रञ्जु सिग्देललाई औपचारिक रूपमा उम्मेदवार बनाएको थियो। तर, त्यतिबेला कांग्रेसकै जीवन पराजुलीले चुनाव जितेका थिए।

अध्यक्षको उम्मेदवार काफ्लेले उद्योगी व्यवसायीको हितमा काम गर्न आफू दृढ संकल्प लिएर चुनावी अभियानमा होमिएको प्रतिक्रिया दिए। उनी उद्योग वाणिज्य संघ इटहरीलाई सवै व्यवसायीको साँझा र बलियो संस्था बनाउने अभियानका साथ सक्रिय रूपमा जुटेका छन्।    

भण्डारीले आफूले महिला अध्यक्ष भएर रेकर्ड बनाउने र समावेसी ढंगले उम्मेदवार चयन गरेर अघि बढ्ने बताइन्। उनले अनुभव, ऊर्जा र भिजन संस्थाको विकासको नयाँ अभियान भन्ने नाराका साथ चुनावी अभियानमा जुटेकी छन्।

काफ्ले यसअघि दुई पटक उद्योग वाणिज्य संघ इटहरीको सदस्य भइ सकेका छन्। भण्डारी एक कार्यकाल सदस्य र एक कार्यकाल कोषाध्यक्ष भइ सकेकी हुन्।

अघिल्लो निर्वाचनमा ६ हजार ५ सय हाराहारी व्यवसायी मतदाता थिए। यसपटक २ हजार ३ सय ६५ जना व्यवसायीको मात्रै सदस्यता नवीकरण भएको छ। यस आधारमा हेर्दा यसपटक बजार क्षेत्र जहाँ इटहरी वडा नं. ६, ९ र ४ क्षेत्रबाट एक हजार हाराहारी मतदाता रहेका छन्।

बजार क्षेत्रका मतदाता निर्णयक हुने दुवै समूहको निष्कर्ष छ। जसले गर्दा दुवै पक्ष बजार क्षेत्रका मतदातालाई कसरी आफ्नो पक्षमा पार्ने रणनीतिका साथ लागेका छन्।

प्रकाशित: ८ असार २०८३ १०:३० सोमबार