उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्व चयनका लागि शनिबार (असार २७) निर्वाचन हुँदैछ। अध्यक्ष पदमा नवराज काफ्ले र गायत्री कट्वाल भण्डारीबीच प्रतिस्पर्धा हुने भएकाले दुवै समूह मतदाता रिझाउने अन्तिम कसरतमा जुटेका छन्।
अध्यक्षका उम्मेदवार नवराज काफ्ले समूहले शुक्रबार पत्रकार सम्मेलन गर्दै आठबुँदे संकल्पपत्र सार्वजनिक गरेको छ। काफ्ले समूहले ‘दिउँसो वा रात, व्यवसायीको साथ’ भन्ने मूल नारालाई अघि सार्दै व्यवसायीका समस्या जुनसुकै समयमा पनि सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।
संकल्पपत्रमा अनावश्यक बजार बन्द गर्ने परम्पराको अन्त्य गर्दै निर्भय वातावरणमा व्यापार–व्यवसाय सञ्चालन गर्ने, इटहरीको व्यापार प्रवर्द्धनका लागि मेला तथा लगानी सम्मेलन आयोजना गर्ने तथा संघलाई पूर्ण रूपमा डिजिटल बनाउने योजना समेटिएको छ।
काफ्ले समूहले ‘मुठीदेखि मोबाइलसम्म’को अवधारणाअनुसार मोबाइल एपमार्फत सदस्यता नवीकरणदेखि सेवा प्रवाहसम्मको व्यवस्था गर्ने, डिजिटल मार्केटिङ तथा ई–कमर्ससम्बन्धी तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। साथै, घरबहाल करको दीर्घकालीन समाधानका लागि स्थानीय सरकारसँग समन्वय गरी घरधनीले नै घरबहाल कर तिर्ने व्यवस्था मिलाउन पहल गर्ने उल्लेख गरिएको छ।
संकल्पपत्रमा नवप्रवर्तनमार्फत इटहरीलाई सूचना प्रविधि (आईटी) तथा स्टार्टअप व्यवसायको केन्द्रका रूपमा विकास गर्न लगानीकर्ता भित्र्याउने, बैंक तथा सरकारी निकायसँग साझेदारी गर्दै नयाँ सोचलाई प्रवर्द्धन गर्ने, भ्याट तथा करसम्बन्धी समस्या समाधानका लागि राजस्व कार्यालयसँग सहकार्यमा नियमित तालिम सञ्चालन गर्ने तथा महिला उद्यमशीलता प्रवर्द्धन गर्ने योजना पनि समावेश गरिएको छ।
पत्रकार सम्मेलनमा वर्तमान अध्यक्ष जीवन पराजुलीले आफ्नो कार्यकालमा पूरा हुन नसकेका काम काफ्ले समूहले पूरा गर्ने विश्वास व्यक्त गरे।
यता अध्यक्ष पदकी उम्मेदवार गायत्री कट्वाल भण्डारी समूहले पनि आफ्नो संकल्पपत्र सार्वजनिक गर्दै वित्तीय सुरक्षा र लगानी प्रवर्द्धनलाई प्राथमिकतामा राखेको जनाएको छ। संकल्पपत्रमा व्यवसायी राहतका लागि स्थायी आकस्मिक कोष स्थापना, सहुलियतपूर्ण व्यावसायिक कर्जाको पहल, युवा उद्यमीका लागि विशेष स्टार्टअप कोष स्थापना तथा वित्तीय साक्षरता र उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने योजना समेटिएको छ।
भण्डारी समूहले व्यवसायमैत्री कर नीतिका लागि सरोकारवालासँग प्रभावकारी पहल गर्ने, निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गराउने तथा घरभाडा, सम्झौता र बैंकिङसम्बन्धी समस्या समाधानमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।
संकल्पपत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) तथा डिजिटल सहायता सेवा सञ्चालन, सदस्यता तथा नवीकरण प्रणालीलाई डिजिटल बनाउने, अनलाइन भुक्तानी प्रणाली लागू गर्ने तथा साना–मझौला व्यवसायलाई प्राविधिक सहयोग उपलब्ध गराउने योजना पनि समावेश छ।
त्यसैगरी, समावेशी र उत्तरदायी नेतृत्वका लागि निःशुल्क सहकार्य कार्यस्थल (को–वर्किङ स्पेस), व्यावसायिक मार्गदर्शन तथा नेटवर्क विस्तारको व्यवस्था गर्ने, आधुनिक गोदाम तथा शीतभण्डार निर्माणका लागि पहल गर्ने, इटहरीलाई प्रदेशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्ने, बजार तथा पार्किङ व्यवस्थापन सुधार गर्ने र सार्वजनिक–निजी साझेदारीमार्फत व्यापार विस्तार गर्ने प्रतिबद्धता पनि संकल्पपत्रमा उल्लेख गरिएको छ।
संघको नयाँ नेतृत्व चयनका लागि १९ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ। निर्वाचनलाई लक्षित गर्दै दुवै समूहले बिहीबार र शुक्रबार छुट्टाछुट्टै भेलाको आयोजना गरी मतदाता भेटघाटलाई तीव्रता दिएका छन्। शुक्रबार राति पनि दुवै समूहले खानपानसहितका कार्यक्रम आयोजना गरेका छन्।
यसपटक उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा कुल २ हजार ३ सय ६५ मतदाताले मतदान गर्नेछन्। इटहरीको व्यावसायिक क्षेत्रको प्रतिनिधित्व गर्ने महत्वपूर्ण संस्थाको नेतृत्व चयन हुने भएकाले स्थानीय उद्योगी–व्यवसायीले निर्वाचनलाई विशेष चासोका साथ हेरिरहेका छन्।
प्रकाशित: २६ असार २०८३ १८:४१ शुक्रबार