अर्थ

निर्वाचनले व्यापार बढेपछि व्यवसायी उत्साहित

प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा पछिल्लो एक हप्ता विभिन्न क्षेत्रको व्यापार ह्वात्तै बढेपछि व्यवसायीहरू उत्साहित भएका छन्।

निर्वाचनको कारण पेट्रोल पम्प, होटल, मदिरा व्यवसायी, चिया पसल, तरकारी पसल तथा मासु पसल, छपाइ प्रेस र यातायात लगायतका क्षेत्रमा पहिलेको तुलनामा पछिल्लो एक हप्ता झन्डै ५० प्रतिशतले व्यापार बढेको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले बताएका छन्।

उनका अनुसार पछिल्लो एक हप्ता यातायात व्यवसायमा भने करिब २५ प्रतिशत व्यापार बढेको छ। हाल देशभरि साढे चार लाख सार्वजनिक यातायात गुड्छन्। यतिबेला एउटा सार्वजनिक गाडीले एक दिनमा ५० हजारदेखि एक लाख २५ हजारसम्म आम्दानी गर्ने गरेको छ। सबै खर्च कटाएर कर्मचारीलाई भत्तासमेत वितरण गर्दा पनि खुद आम्दानी भने एक दिनमा १५ हजार देखि २५ हजारसम्म हुने गरेको नेपालले बताए।

विज्ञहरूका अनुसार निर्वाचनको मिति घोषणा भए पछि राजधानी काठमाडौंलगायत देशभरि आर्थिक गतिविधि बढेको छ। त्यसमा पछिल्लो १५ दिन विभिन्न क्षेत्रमा व्यापार तथा व्यवसाय गर्दै आएका साना तथा ठूला व्यापारीहरू खुसी भएका छन्। पछिल्लो एक महिनामा मात्र केही अर्ब रुपैयाँ  बजारमा छरिएको विज्ञहरू बताउँछन्।

यतिबेला अधिकांश उम्मेदवारले अपरादर्शी खर्च गर्ने गरेका छन्। त्यो खर्च सोझै मतदातासम्म पुग्ने गरेको छ। निर्वाचनको बेला  विभिन्न माध्यम र पक्रियाबाट तल्लो तहको जनतामा पैसा पुग्ने भएकाले यतिबेला आर्थिक क्षेत्र चलायमान भएको विज्ञहरू बताउँछन्। यतिबेला विभिन्न बैंकमा पनि सेवाग्राहीहरूको भिड लाग्ने गरेको छ।

भक्तपुरमा व्यवसाय गर्दै आएका एक व्यपारीले भने, ‘यतिबेला कपाल काट्ने पसलमा समेत पहिलेभन्दा व्यापार बढेको छ। अण्डा व्यापार तथा तरकारी पसल गर्दै आएका सानातिना व्यापारी पनि यतिबेला खुसी भएका छन्। एक विज्ञका अनुसार निर्वाचन प्रहरीलाई दिने तलब–भत्ता मार्फत राज्यको अर्बभन्दा बढी रुपैयाँ सोझै निम्नवर्गको घरमा पुगेको छ। ‘यो खुसीको कुरा हो’, उनले भने।

पछिल्लो एक महिनामा फस्टाएको व्यापार चुनाव पछि फेरि घट्दै जाने हो कि भन्ने चिन्ता व्यवसायीहरूको छ।

सुनसान भयो काठमाडौं

प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्न सर्वसाधारणले काठमाडौं छाड्ने क्रम बुधबार साँझसम्म जारी रह्यो। जसले गर्दै दसैं तिहार जस्ता ठूलो चाडपर्वमा झैं निर्वाचनको बेला काठमाडौंका सडक सुनसान देखिएका छन्। व्यवसायीहरूका अनुसार बुधबार साँझसम्म करिब १० लाख सर्वसाधारणले काठमाडौं उपत्यका छाडिसकेका छन्।

यातायात व्यवसायीका अनुसार  काठमाडौंबाहिर विभिन्न जिल्लाका मतदाता नामावली  सूचीमा नाम रहेका नेपाली नागरिक मतदान गर्न विगत ६÷७ दिनदेखि नै काठमाडौं छाड्न थालेका छन्।

विशेष गरी सोमबार, मंगलबार र बुधबार काठमाडौं छाड्ने क्रम झन् बढेको छ। काठमाडौंमा बसोबास गर्दै आएका तथा मतदाता सूचीमा काठमाडौं बाहिर विभिन्न जिल्लामा नाम भएका नागरिकले काठमाडौं छाड्न लागेका हुन्।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्न देशभर १० हजार नौ ६७ मतदानस्थल र  २३ हजार एक सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ। यो निर्वाचनमा २०७९ सालको कुल मतदानस्थलको संख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएका छन्।

नेपालका अनुसार  गत निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढिरहेको छ। काठमाडौं छाडेका यात्रु आ–आफ्नो मतदान केन्द्रमा पुग्न थालिसकेका छन्। यात्रुको चाप बढेसँगै मुख्य राजमार्ग, बसपार्क तथा उपत्यकाबाट बाहिरिने नाकाहरूमा सवारीसाधनको लामो लाम देखिएको छ।

ट्राफिक प्रहरीका अनुसार यातायात व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउने जनशक्ति वृद्धि गरिएको छ। प्रहरीका अनुसार सवारी–साधनको चाप बढी हुने क्षेत्रमा अतिरिक्त ट्राफिक प्रहरी परिचालन गरिएको छ भने आवश्यकताअनुसार सवारी–साधनको चाप व्यवस्थापनका लागि नजिकका प्रहरी एकाइसँग समन्वय गरी निगरानी बढाइएको छ।

प्रहरीका अनुसार निर्वाचन सुरक्षामा खटिएका प्रहरी टोलीलाई समेत यातायात व्यवस्थापनमा प्रयोग गरिएको छ। यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै राजमार्गहरूमा गस्ती बढाइएको र आवश्यकता अनुसारका क्षेत्रहरूमा विशेष निगरानी गरिएको प्रहरीको भनाइ छ।

ट्राफिक प्रहरीले सर्वसाधारणलाई सुरक्षित र संयमित तवरले यात्रा गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउन तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ।  साथै, लामो दूरीको यात्रा गर्दा सवारी–साधनको अवस्था जाँच गर्न र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले सुझाव दिएको छ।

यातायात व्यवसायीका अनुसार काठमाडौं छाडेका सार्वजनिक यातायातको सुुरक्षा र दुर्घटना शून्य होस् भन्ने भन्ने उद्देश्यबाट चालक, सहचालक तथा यातायात कर्मचारीहरूलाई विभिन्न निर्देशन दिइएको छ।

लामो दूरीको यातायातको लागि दुई जना चालक राख्नुपर्ने, छिटो पुग्ने प्रतिष्पर्धा गर्न नहुने, चालकहरूले मोबाइल फोन प्रयोग गर्न नहुने निर्देशन गरिएको छ। साथै सवारी चालकहरूले आपसमा प्रतिष्पर्धा गर्न नहुने, यात्रुहरूले दबाब दिए पनि ढिलो यात्रा गर्नुपर्ने, ठाउँठाउँमा गाडी रोक्नुपर्ने सुझव दिइएको छ। बेला–बेलामा गाडी रोकेर चालकले आराम गर्नुपर्ने लगायतका बुँदा अनिवार्य पालना गर्न निर्देशन दिइएको नेपालले बताए।

प्रकाशित: २१ फाल्गुन २०८२ ०९:२३ बिहीबार