बुद्धकालीन समयदेखि प्रचलनमा रहेको कालानमक धानको क्षेत्रफल निरन्तर घटदै गएको छ । लागत र परिश्रम अनुसारको प्रतिफल नपाएपछि कपिलवस्तुका किसानले बिस्तारै कालानमक धान खेती छाडदै गएका छन् । अहिले ऐतिहासिक पहिचान बोकेको कालानमक धान बिलुप्त हुने अवस्थामा पुगेको छ ।
कृषि ज्ञान केन्द्र अनुसार कपिलवस्तुमा कालानमक धान यस वर्ष ७४ हेक्टरमा मात्र लगाइएको छ । ५ वर्ष अघिसम्म ५ सय हेक्टरमा लगाईने कालामनक धानको क्षेत्रफल झन पछि झन घटदै गएको हो । सहज बजारीकरणको समस्या तथा सिचाई र स्याहारसुसार बढी गर्नु पर्ने अनि रोग तथा कीराको प्रकोप बढी देखिने भएकाले किसान आधुनिक जातका धानसँग अभ्यस्त हुन थालेका छन् ।
यो धान धेरैको रोजाइमा भए पनि किसानको मेहनत धेर पर्ने भएकाले किसानको रोजाइमा पर्न छाड्दै गएको छ ।
मसिनो र बास्नादारको सुचीमा पर्ने यो धान कालो भएकाले यसलाई कालानमक भनिएको हो । अहिले बजारमा हाईब्रेड र रैथाने दुबै खालको कालानमक पाईन्छ ।
सेतो रंगको कालानमक पनि रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस्तै प्रजाति अन्तर्गत गोपालभोगसमेत छ । यो धान बासमतीभन्दा उत्कृष्ट मानिन्छ । यो पकाउँदा बास्नादार हुन्छ । स्वाद मिठो हुन्छ । यसले स्वास्थ्यलाई पनि फाइदा गर्ने कृषक महासंघका जिल्ला सचिव बालगोबिन्द त्रिपाठीले बताए । उनले भने, ‘यो उत्कृष्ट धान हो, यसको स्वाद नै बेग्लै हुन्छ।’
यो चामलमा फाईबर आईरन लगायतका तत्व पाइन्छ ।
गत वर्ष सम्म ६ हेक्टरमा कालानमक धान लगाएका यशोधरा गाउपालिका वडा नम्बर ६ रंगपुरका कृषक त्रियुगी नारायण जैसवाललले घाटा भएपछि यो वर्ष ६ कठ्ठामा मात्र लगाएको बताए । लोकल जातको कालानमक उत्पादन गरेको बुद्धकालीन धानको संरक्षणमा सरकारले खासै चासो नदिएको भन्दै उनले गुनासो गरे ।
कृषि ज्ञान केन्द्रका प्रमुख घन श्याम चौधरीले कपिलवस्तुमा कालानमक धान खेतीको क्षेत्रफल निरन्तर घटदै गएको बताए ।
प्रकाशित: ३ मंसिर २०८२ १८:०५ बुधबार



-1200x560-600x400.jpg)