कारोबार हुने साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । पछिल्ला ३ कारोबार दिन लगातार बढेको नेप्से सोमबार १०.५३ अंक घटेर २६२२.८८ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.४७ अंक, फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६० अंकले घटेको छ।
सोमबार कारोबार रकम पनि आइतबारको तुलनामा करिब ७६ करोडले घटेको छ। सोमबार ३३७ स्टकको ६९ हजार ५४८ पटकको कारोबारमा ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँबराबरको १ करोड ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आइतबार ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एसवाई प्यानल नेपालको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने १० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको एसवाई प्यानल नेपालको २३ करोड २ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। मञ्जुश्री फाइनान्सको १८ करोड र शिवम् सिमेन्ट्सको साढे १३ करोड बराबरको कारोबार भयो ।
१३ उपसमूहमध्ये सोमबार विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंकले बढ्यो । बाँकी ११ वटा उपसमूहहरुको परिसूचकमा भने गिरावट आएको छ ।
प्रकाशित: १४ पुस २०८२ १५:२९ सोमबार