नेपाल धितोपत्र बोर्डले बाढीबाट प्रभावित हुन सक्ने सूचीकृत कम्पनीहरूको विवरण तत्काल उपलब्ध गराउन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ।
त्रिशूली तथा भोटेकोशी नदी प्रणाली आसपास सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत आयोजना, प्रसारण संरचना र अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको भन्दै बोर्डले प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको धितोपत्र कारोबारमा विशेष सतर्कता अपनाउन निर्देशन दिएको हो।
धितोपत्रसम्बन्धी ऐनको दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै बोर्डले नेप्सेलाई यस्तो निर्देशन दिएको जनाएको छ। निर्देशनअनुसार प्राकृतिक विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने सूचीकृत कम्पनीहरूको विस्तृत सूची तत्काल तयार गरी बोर्डलाई जानकारी गराउन भनिएको छ।
साथै प्रभावित कम्पनीहरूबाट उनीहरूका आयोजना, सम्पत्ति, उत्पादन, वित्तीय अवस्था तथा व्यवसायमा परेको प्रभावसम्बन्धी विवरण संकलन गरी बोर्डलाई उपलब्ध गराउन समेत नेप्सेलाई निर्देशन दिइएको छ।
प्रकाशित: १६ भाद्र २०८३ ११:०० मंगलबार