अर्थ

वीरगञ्जको भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर

वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ। 

कार्यालयले चालु आर्थिक वर्षको प्रथम छ महिनामा रू एक खर्ब १६ अर्ब ५८ करोड राजस्व संकलन गरेको छ। तर, यहाँको राजस्व संकलनको हिस्सा भने पेट्रोलियम पदार्थको आयातबाट मात्रै छ महिनामा रू ३७ अर्ब ८५ करोड संकलन भएको छ।

दोस्रो धेरै राजस्व संकलन यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट भने रू १३ अर्ब ९८ करोड राजस्व संकलन भएको छ। कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट प्राप्त हुनेमा निर्भर रहेको बताए।

चालु आवको छ महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट रू छ अर्ब ८३ करोड, कपडा आयातबाट रू पाँच अर्ब २६ करोड, इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जाबाट रू चार अर्ब ९१ करोड राजस्व संकलन भएको छ।

त्यस्तै मदिराजन्य पेयपदार्थको आयातबाट भने रू एक अर्ब ८३ करोड राजस्व संकलन भएको छ। शृंगारको सामानबाट एक अर्ब ८१ करोड राजस्व उठेको छ। रासस

प्रकाशित: २६ माघ २०८२ १०:१८ सोमबार