वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि विशेष नगरसभा बोलाएर संशोधन बजेट ल्याएको छ। बुधबार वीरगञ्ज महानगरपालिकाको २१औँ विशेष नगरसभाबाट संशोधन बजेट ल्याइएको हो।
मधेश प्रदेशको एक मात्र महानगर, वीरगञ्जका प्रमुख राजेशमान सिंहले विशेष नगरसभाबाट चार अर्ब २१ करोड ३४ लाखको संशोधन बजेट ल्याइएको बताएका छन्।
यसअघि गत असार १० सम्पन्न २०औँ नगरसभाले ल्याएको बजेटमा संशोधन गरी त्यसमा २१ करोड रुपैयाँ घटाएर नयाँ संशोधन बजेट ल्याएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ।
महानगरका प्रमुख सिंह निलम्बनमा परेका बेला गत असार १० गते कार्यवाहक प्रमुखको जिम्मेवारीमा उपप्रमुख इम्तियाज आलमले चालु आर्थिक वर्षका लागि चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट ल्याएका थिए।
असोज ३ गते विशेष अदालतबाट सफाइ पाएर पुनः पदमा बहाल भएका प्रमुख सिंहले २०औँ नियमित नगरसभामा बजेट घटाउने र अनावश्यक योजनाहरू राखिएको थाहा पाएपछि त्यसलाई संशोधन गर्न गृहकार्य सुरु गरेका थिए।
विशेष नगरसभामा मेयर सिंहले प्रस्तुत गरेको संशोधित बजेटमा चालु आर्थिक वर्षका लागि संशोधित कुल चार अर्ब २१ करोड ३४ लाख ६९ हजार रुपैयाँ विनियोजन गरिएको छ।
चालु खर्चतर्फ दुई अर्ब ३३ करोड १६ लाख ८५ हजार अर्थात् ५६ प्रतिशत, पुँजीगत खर्चतर्फ एक अर्ब ८१ करोड १७ लाख ८४ हजार अर्थात् ४३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७ करोड अर्थात् १ प्रतिशत रहेको उल्लेख छ।
संशोधित बजेटमा चालु आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतहरूमध्ये आन्तरिक राजस्वबाट एक अर्ब २७ करोड, संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९८ करोड २९ लाख, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १४ हजार, घरजग्गा रजिस्ट्रेसन शुल्कबापत ४५ करोड र नगर विकास कोषबाट १५ करोड रुपैयाँ व्यहोर्ने उल्लेख गरिएको छ।
महानगरको आन्तरिक राजस्व असुलीमा कमी र वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँटबाट प्रक्षेपणअनुसार स्रोत प्राप्त हुन नसक्ने देखिएपछि विशेष नगरसभा बोलाएर संशोधन बजेट ल्याइएको नगरप्रमुख राजेशमान सिंहले दाबी गरेका छन्।
२०औँ नगरसभाबाट वीरगञ्जको गौरवको योजनाका रूपमा अघि सारिएको विपी उद्यान निर्माणमा बजेट रकम विनियोजन गर्न पनि संशोधन बजेट ल्याउनुपरेको सिंहले बताए।
वीरगञ्जको घण्टाघरनजिकै निर्माणाधीन अवस्थामा रहेको विपी उद्यानमा पार्क, वाक–वे, बाल उद्यान, ज्येष्ठ नागरिक विश्राम केन्द्र तथा हरियाली विस्तार गर्दै सुरक्षित, प्रविधिमैत्री र पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गरिने उनले बताए।
वीरगञ्ज महानगरलाई रात्रिकालीन समयमा सुरक्षित र सौन्दर्यपूर्ण बनाउन विगतदेखि सञ्चालित उज्यालो वीरगञ्ज अभियानलाई थप प्रभावकारिताका साथ निरन्तरता दिइने भन्दै उनले यसका लागि महानगरका मुख्य सडक, चोक तथा भित्री बस्तीहरूमा दक्ष स्मार्ट एलईडी तथा हाइमास्ट बत्तीहरूको नयाँ जडानलाई तीव्रता दिँदै सहरको कुनै पनि क्षेत्र अन्धकारमा रहन नदिने प्रतिबद्धता पनि बजेटमा प्राथमिकतामा दिइएको बताए।
वीरगञ्जलाई सभ्य, आकर्षक र जीवन्त बनाउन सडक कोरिडोर, डिभाइडरमा हरियाली प्रवर्द्धन, खुला ठाउँमा वातावरणमैत्री पार्क निर्माण, अव्यवस्थित तार तथा होर्डिङ बोर्डको वैज्ञानिक व्यवस्थापन र ऐतिहासिक सम्पदा एवं पोखरीहरूको सौन्दर्यीकरणसहित स्वच्छ, हरित र वैभव वीरगञ्ज अभियान सञ्चालन गरिने सिंहले बताए।
बुधबारको विशेष नगरसभामा उपमेयर इम्तियाज आलम भने उपस्थित भएनन्।
नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमितिले नै मंगलबार एक विज्ञप्ति जारी गर्दै आफ्नो दलबाट निर्वाचित उपमेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरूलाई बुधबारको विशेष नगरसभामा सहभागी नहुन ह्विप नै जारी गरेको थियो।
कांग्रेसको ह्विप जारीबीच पनि विशेष नगरसभामा हाल कायम १६४ नगरसभा सदस्यमध्ये बहुमतका लागि आवश्यक संख्या ५१ प्रतिशतभन्दा बढी अर्थात् ११८ जना सहभागी भएर संशोधन बजेटलाई पास गरेको सिंहले बताए।
प्रकाशित: १४ आश्विन २०८३ २०:०४ बुधबार