अर्थ

भोटेकोशी बाढी : १२ जलविद्युत आयोजना प्रभावित, ९०९ जना बेपत्ता

भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट १२ वटा जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढीबाट सञ्चालनमा रहेका ८ वटा र निर्माणाधीन ४ वटा आयोजना प्रभावित भएका हुन्।

प्रभावित आयोजनाको कुल जडित क्षमता ६६९ मेगावाट छ। यसमध्ये सञ्चालनमा रहेका आयोजनाको क्षमता २८१ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ३८८ मेगावाट रहेको छ।

बाढीबाट क्षतिग्रस्त आयोजनामध्ये ११ वटा आयोजनामा कार्यरत ९०९ जना सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ। विशेषगरी रसुवामा रहेका जलविद्युत आयोजनामा ठूलो मानवीय क्षति भएको छ।

रसुवामा बाढीबाट माथिल्लो त्रिशूली–१ आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएको छ। २१६ मेगावाट क्षमताको निर्माणाधीन उक्त आयोजनाका प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका अनुसार बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत थिए। हालसम्म ८७८ जनाको उद्धार गरिएको छ भने ७ वटा शव फेला परेको विवरणमा उल्लेख छ।

सम्पर्कविहीनमध्ये ९ जना कोरियाली, ३४ जना चिनियाँ र ५० जना भारतीय नागरिक रहेको इप्पानद्वारा जारी विवरणमा उल्लेख छ।

त्यस्तै, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना पनि बाढीबाट पूर्णरूपमा प्रभावित भएको छ। सञ्चालनमा रहेको उक्त आयोजनामा ९३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

बाढीबाट प्रभावित अन्य आयोजनामा ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी, १५.६ मेगावाटको मिडल त्रिशूली, २५ मेगावाटको नुवाकोटस्थित गंगा जलविद्युत आयोजना, १२० मेगावाटको रसुवा–भोटेकोशी, २० मेगावाटको लाङटाङ खोला, २२ मेगावाटको चिलिमे र ५ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजना रहेका छन्।

यस्तै, त्रिशूली जलविद्युत केन्द्र र १४.१ मेगावाटको देवीघाट जलविद्युत केन्द्र पनि बाढीबाट प्रभावित भएका छन्। त्रिशूली जलविद्युत केन्द्रमा तीन जना सम्पर्कविहीन रहेको र ७० जना सकुशल रहेको विवरणमा उल्लेख छ। देवीघाट जलविद्युत केन्द्रमा एक जना सुरक्षागार्ड सम्पर्कविहीन रहेको जनाइएको छ।

प्रकाशित: २७ भाद्र २०८३ ०७:५८ शनिबार