अर्थ

भैंसेपाटी मन्त्री-निवास तत्काल प्रयोग गर्न नमिल्ने

सञ्चालनमा आएको डेढ वर्ष नपुग्दै भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवास गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा तत्काल प्रयोग गर्न नमिल्ने गरी आगजनी तथा तोडफोड भएको  प्रारम्भिक विवरण तयार गरिएको छ।

सहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले नयाँ  मन्त्री निवासमा भएको क्षतिबारे विवरण संकलन गर्न एउटा टोली बनाएको छ।

उक्त टोलीले प्रारम्भिक विवरण तयार गरेको छ। सचिवलायका सूचना अधिकरी उमेश चौधरीका अनुसार तत्काल भैंसेपाटीस्थित नयाँ मन्त्री–निवास प्रयोग गर्न नमिल्ने गरी आगजानी तथा क्षति भएको छ। मन्त्रीहरूका लागि बनाइएका २७ वटा ब्लकमध्ये एउटा मात्र ब्लक, जसमा निर्वतमान रक्षामन्त्री मानवीर राई बसेका थिए, त्यसमा भने कम क्षति भएको छ। ‘अरू सबै ब्लकमा पुनर्निर्माण नगरी प्रयोग गर्न सकिँदैन’, चौधरीले भने,  ‘निवर्तमान रक्षा मन्त्री बसेको ब्लकमा पनि सामान्य क्षति भएको छ। झयालका सिसा फुटेको छ। फुटेका सिसा परिवर्तन गरेर तथा अन्य मर्मत गरेर मात्र सो ब्लक प्रयोग गर्न सकिन्छ।’

चौधरीका अनुसार जेनजी आन्दोलनको क्रममा मन्त्री निवासका २७ वटा ब्लकमध्ये २६ ब्लक पूर्ण रूपमा ध्वस्त भएका छन्। सचिवालयका अनुसार भैंसेपाटी मन्त्री क्वाटरलाई आइतबारदेखि नेपाल प्रहरीले सुरक्षा दिने गरेका छन्। गत भदौ २४ गतेदेखि आइतबारसम्म उक्त ठाउँमा नेपाली सेनाले सुरक्षा दिँदै आएको थियो। ‘आइतबार देखि भने नेपाल प्रहरीले सुरक्षा दिने गरेको छ’, चौधरीले भने।

चौधरीका अनुसार भैंसेपाटीमा मन्त्रीका लागि २७ वटा ब्लक, एउटा साइड अफिस, एउटा जिम खाना, एउटा हेल्थ क्लब र तीन वटा सुरक्षाकर्मीका लागि कोठा निर्माण भएका छन्। २०८१ असार पहिलो साताबाटै केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका मन्त्रीहरू भैंसेपाटी सर्न सुरु गरेका थिए।

२०८१ भदौसम्म ओली सरकारका सबै मन्त्री भैंसीपाटी सरिसकेका थिए। मन्त्री सरेको एक वर्षमै नयाँ मन्त्री क्वाटर जेन–जी आन्दोलनबाट ध्वस्त भएको छ। सुरुमा २०८१ असार १ गते तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह भैंसेपाटी सरेका थिए। त्यसपछि क्रमशः अन्य मन्त्रीहरू पनि भैंसेपाटी सर्न सुरु गरेका थिए। नयाँ मन्त्री निवास बनाउन सरकारले ठूलो रकम लगानी गरेको छ। जेनजी आन्दोलनबाट आगलागी हुँदा सरकारको उक्त लगानी खेर गएको छ।

भैंसेपाटीमा मन्त्री निवास बनाउन सरकारले २०७६ कात्तिकमा केसी–समानान्तर जेभी व्यावसायिक कम्पनीसँग सम्झौता गरेको थियो। दुई वर्षभित्रै काम सक्नेगरी सम्झौता भएको थियो तर पटक–पटक म्याद थप गर्नुपरेकाले निर्माण अवधि लम्बिएको थियो। पहिलो चरणको कामका लागि सरकारले एक अर्ब तीन करोड ४६ लाख ८३ हजार रुपैयाँ छुट्याएको थियो। त्यसपछि हरेक वर्ष सरकारले बजेट छुट्याउँदै आएको थियो।

हालसम्म सबै काम पूरा गर्न तीन अर्ब रुपैयाँ हाराहारी खर्च लागेको बुझिएको छ। भैंसेपाटीमा संघीय सरकारका मन्त्री, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुखका लागि २७ वटा छुट्टाछुट्टै भवन निर्माण गरिएका छन्। भैंसैपाटीस्थित मन्त्री निवासको क्षेत्रफल ९६ रोपनी १० आना छ। हरेक भवनले करिब सात आना क्षेत्रफल ओगटेका छन्।

सहरी विकास मन्त्रालय मातहतको विशेष भवन आयोजनाका अनुसार नयाँ मन्त्री निवासमा जिम हल, पौडी पोखरी, सामुदायिक भवन, किराना पसल तथा सुरक्षा निकायका लागि बस्ने कोठासहित मन्त्री निवास बनाइएको थियो। प्रत्येक भवनको माथिल्लो तलामा योगका लागि कोठा बनाइएको थियो।

त्यस्तै प्रत्येक भवनको भुइँतलामा आगन्तुक प्रतीक्षा कोठा, बैठक कोठा, निजी कोठा र स्वकीय सचिव बस्ने कोठा थिए। दोस्रो तलामा आवासका लागि कोठा छुट्याइएको थियो। प्रत्येक भवनमा एउटा पूजा कोठा पनि बनाइएको थियो। मन्त्री निवास नेपाली कला, संस्कृति तथा परम्परा झल्कने गरी बनाइएको थियो। पुल्चोकस्थित मन्त्री निवास साँघुरो भएकाले सरकारले भैंसेपाटीमा नयाँ निवास बनाएको हो। पुल्चोकस्थित पुरानो मन्त्री क्वाटरमा सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राखिएको छ।

प्रकाशित: ६ आश्विन २०८२ ०९:२९ सोमबार