धनगढी उपमहानगरपालिका- ११ बाँसखेडाका परशुनारायण चौधरीले १४ वर्षदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आएका छन्। चौधरीको फार्ममा भालेपोथी गरेर २७ बङ्गुर छन्। उनको फार्मबाट वार्षिक ३० लाख रूपैयाँ बराबरको बङ्गुरका पाठापाठी बिक्री हुन्छ।
खर्च कटाएर औसतमा वार्षिक १२ लाख रूपैयाँ आम्दानी हुने गरेको उनले बताए। व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रै हुन थालेको उनले बताए। बङ्गुरको पाठापाठी हुर्काएर बेच्न उमेर पुग्न झन्डै एक महिना लाग्छ। एउटा पाठा वा पाठी छ हजार रूपैयाँमा बिक्री गर्ने गरेका छन्।
बङ्गुरपालनबाट गरेको कमाइले उनले गाउँमा इँटाभट्टा र मसला उद्योग चलाएकाे बताए। “बङ्गुरपालन राम्रै फापेको छ”, उनले भने, “यो व्यवसायको कारोबार बढ्दै गयो र फाइदा हुँदै गयो, अहिले गाउँमा सानो इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको छु, जसबाट घरपरिवारका सदस्यले काम पाए।”
चौधरीले धनगढीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रबाट यसै वर्ष ९० हजार रूपैयाँ अनुदान पाएका छन्। अनुदान रकमले व्यवसाय गर्न अझै सहज भएको उनले बताए। उनले सफल कृषककाे रूपमा पनि पुरस्कार पाएका छन्।
सुरुकाे वर्षमा मासु बेचेका उनले मासुका लागि बजार नपाएपछि पाठापाठी बेच्न थालेको बताए। किसानलाई व्यवसाय सहजताका लागि सरकारी तवरबाट कोल्डस्टोर, वधशाला स्थापना गरिदिए अझै सहज हुने उनको भनाइ छ।
प्रकाशित: २६ असार २०८२ १२:३६ बिहीबार