अर्थ

शरदयाम: आरोही पर्यटकको आगमन उत्साहजनक

आरोहीबाट संकलित राजश्वको आकार अहिलेसम्मकै बढीः पर्यटन विभाग

मनास्लु आरोहणका लागि पुगेका आरोही र उनीहरुका सहयोगीका लागि आधारशिविरमा बनाइएको अस्थायी भिलेज। यो सिजनमा मनास्लु आरोहणका लागि आउने आरोहीको संख्या उत्साहजनक छ। फाइल तस्बिरः नागरिक

जेनजी आन्दोलनपछि पर्यटन क्षेत्र प्रभावित बन्यो। सिजनको मुखैमा भएको आन्दोलनले अग्रिम बुकिङ रद्द भएको व्यावसायीले बताईरहेका छन। नोेभेम्बरसम्मको बुकिङ प्रभावित भएको व्यावसायीको भनाई छ। पर्यटन व्यावसायीले विदेशी पाहुना आगमनमा एकाएक गिरावट आएको गुनासो गरिरहँदा यसपालिको शरदयाममा नेपाल आउने आरोहीको संख्या भने उत्साहजनक देखिएको पर्यटन विभागको भनाई छ।  

शरदयाममा आरोहणका लागि आएका आरोहीले तिरेको राजश्वले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको पनि विभागको भनाई छ। विभागका अनुसार शरदयाम सुरु भएदेखि अक्टोवर १५ (बुधबार) सम्म नेपालका हिमाली चुचुरा आरोहणका लागि आएका आरोहीको संख्या १२ सय ७ पुगेको छ। विभिन्न ५२ वटा हिमाल आरोहण गर्नेगरि ७८ वटा मुलुकका आरोही नेपाल आएका छन्।  

आरोहीमध्ये ९ सय २३ जना पुरुष र २ सय ८४ जना महिला रहेको विभागको भनाई छ। ती आरोहीबाट अहिलेसम्म २२ करोड ९२ लाख २६ हजार रुपैयाँ राजश्व संकलन भएको छ। यो सिजनका लागि १ सय ४७ टिमले अनुमति लिएको पनि विभागको भनाई छ।  

विभागका निर्देशक लिलाधर अवस्थीका अनुसार शरदयाममा आएका आरोहीबाट संकलन भएको यो नै सबैभन्दा बढी राजश्व भएको बताए। ‘जेनजी आन्दोलनपछि विदेशी पाहुनाको आगमन खस्केको भनेर पर्यटन क्षेत्रले गुनासो गरिरहेको छ। पर्यटन क्षेत्रमा सबैतिर निराशाका कुरा सुनिन्छ। तर, आरोहणका लागि भित्रिएका विदेशीको संख्या भने उत्साजनक छ,’ विभागका सूचना अधिकारी समेत रहेका अवस्थीले भने, ‘घुमघाम र बिदा मनाउने अरु पर्यटक नआएका हुनसक्छन। तर आरोहीको संख्या भने खासै घटेको देखिएको छैन। बरु अघिल्ला वर्ष भन्दा राजश्व पनि बढिसकेको छ।’

उनका अनुसार सन् २०२४ को शरदयामको अवधिमा नेपाल भित्रिएका आरोहीको संख्या जम्मा १२ सय ९६ थियो। सबैगरि १ सय ६१ टिमले अघिल्लो वर्षको यो सिजनका लागि अनुमति लिएका थिए। विभिन्न ४७ वटा हिमाल आरोहणका लागि १ हजार २ जना पुरुष र २ सय ९४ जना महिलागरि १२ सय ९६ जनाले अघिल्लो वर्षको यो यामका लागि आरोहणको अनुमति लिएका थिए। सन् २०२४ को शरदयाममा भित्रिएका आरोहीबाट सरकारले जम्मा ७ करोड ८० लाख ४० हजार रुपैयाँ राजश्व संकलन गरेको थियो।  

‘शरदयाममा आउनेमध्ये अधिकांश आरोही अक्टोवर दोश्रोसातासम्म आइपुग्छन। त्यसपछि पनि नआउने भन्ने त होईन। अझै केहीदिन त आउँछन नै,’ उनले भने, ‘पोहोरकै संख्याको नजिक त पुगिसकेका छौं। आम्दानीका हिसाबले भन्ने हो भने त योपटक सर्वाधिक बढी राजश्व संकलन भएको छ।’ 

अघिल्लो वर्षकै हाराहारीमा आरोही आइसकेको र उनीहरुले तिरेको राजश्वको आकार भने अहिलेसम्मकै बढी हुनुले जेनजी आन्दोलनपछि आरोहणमा आउने आरोहीको आकार उत्साहजनक नै रहेको भन्न सकिने उनले बताए।  

‘आन्दोलनपछि विदेशीको आगमन निकै नै कमजोर हुने ठानिएको थियो। आन्दोलन लगत्तै बुकिङ रद्द भएको भनेर व्यावसायीले बताईरहेका थिए। तर, पर्यटन बोर्डले नेपाल सुरक्षित रहेको र घुम्न आउन कुनै समस्या नरहेको भनेर विश्वास दिलाएपछि आरोहीको आकार कमजोर हुन पाएन,’ उनले भने, ‘कतिपय मुलुकले ट्राभल एड्भाईजरी जारी गरेर आफ्ना नागरिकलाई नेपाल नआउन भनिरहँदा ती मुलुकका आरोही आएका छन्। यसको अर्थ नेपालमा अहिले घुमघाममा समस्या छैनन भन्ने देखाउँछ।’  

राजश्वको हिसाबले अहिलेसम्मकै सबैभन्दा बढी कमाई यो पटक भएपनि आगमनको संख्याले पनि पोहोरको आकारलाई उछिन्न सक्ने उनको अनुमान छ। विभागका अनुसार अघिल्लो वर्ष यो याममा नेपाल भित्रिएका आरोहीमध्ये आमादब्लम (६८१४मि) का ४१ टिमका ४८१ जना आरोही भित्रिएका थिए। त्यो संख्या अहिले अक्टोवर १५ सम्म २१ टिमका २ सय ७५ जना मात्र रहेका छन। त्यस्तै पोहोर यो सिजनमा हिमलुङ हिमाल (७१२६मि) का लागि १२ टिमका १ सय ४४ जना आरोही आएका थिए। तर, अहिले अक्टोवर १५ सम्म हिमलुङ आरोहणका लागि १८ टिमका १ सय ७६ जनाले अनुमति लिएका छन्।  

त्यसैगरि अघिल्लो सिजनमा मनास्लु (८१६३मि) का लागि २८ टिमका ३ सय ८ जना आरोही आएकोमा यो पटक अहिलेसम्म मनास्लुका लागि ३१ टिमका ३७४ जनाले आरोहण अनुमति लिएका छन्।

‘हिमाल आरोहण मौसमी हुन्छ। जतिबेला पनि आउने र आरोहण गर्ने कुरा रहन्न। अरु घुमघाममा सिजनले खासै फरक पार्दैन,’ अवस्थी भन्छन, ‘घुमघाम र बिदा मनाउने अरु पर्यटक कम भएपनि आरोहणका लागि आउनेको संख्या कमजोर भन्न मिल्दैन।’

पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने जेनजी आन्दोलनले पर्यटन क्षेत्रलाई असर पारेको भएपनि आरोहणका लागि भने आरोहीको आगमन उत्साहजनक भएको बताउँछन। ‘आरोहणका लागि राम्रो आगमन छ। हिमाल आरोहणका लागि आउनेलाई सहरी क्षेत्रमा हुने गतिविधिले खासै असर पनि गर्दैन। काठमाडौं ओर्लिएपछि गन्तव्य तय गर्छन, त्यही भएर पनि आगमन कमजोर देखिएको छैन,’ लामिछाने भन्छन, ‘पर्याप्त सुविधा खोज्ने लक्जरीयस पर्यटकलाई भने आन्दोलनका गतिविधिले असर गर्छ र गरेको पनि छ।’

जेनजी आन्दोलन भईरहँदा त्यो बेला आउने तयारीमा रहेका पर्यटक रोकिएको भएपनि त्यसपछिको आगमनमा सुधार हुन थालेको उनले बताए। ‘आन्दोलनका कारण अन्तिम समयमा नेपाल जाने की नजाने नभेर निर्णय गर्ने अवस्थाका पर्यटक त्यतिखेर आएनन। कतिपय डराएर पनि आउन सकेनन। सुरक्षासँग संवेदनशील पर्यटक आउन नमानेका हुन,’ उनले भने, ‘तर, अब भने केही सुधार देखिन थालेको छ। अक्टोवर मध्यदेखि पर्यटकको चहलपहल थपिएको छ। ’

जेनजी आन्दोलनले साहसिक पर्यटकलाई खासै फरक नपारेको तथ्यांकले देखाउने उनले बताए। ‘अन्तिम समयमा निर्णय गरेकाहरु अन्त गएका पनि हुन सक्छन। नत्र अब अवस्था सामान्य हुँदै जाँदा आगमन पनि बढ्नेछ,’ उनले भने, ‘नेपालमा घुमघाममा समस्या छैन भनेर पर्यटन बोर्डले विदेशी पाहुनालाई विश्वस्त तुल्याउने प्रयास गरिरहँदा आगमनले पनि गति लिएको हो।’ आरोहण बाहेक पदयात्रामा पनि अहिले पर्यटकको संख्या उल्लेख्य रहेको उनले बताए।  

प्रकाशित: ३० आश्विन २०८२ १५:५५ बिहीबार

शरदयाम आरोही पर्यटक जेनजी आन्दोलन