अर्थ

कुलमान हटेपछि २० अर्बको ऋणपत्र जारी गर्दै प्राधिकरण

तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङले नाफामा रहेको दाबी गरेको नेपाल विद्युत प्राधिकरणले नगद प्रवाहमा संकट देखिएको भन्दै ३० अर्ब रुपैयाँ ऋण लिने तयारी गरेको छ।

प्राधिकरणले उत्पादन, प्रसारण र वितरण प्रणाली सुधारका लागि २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने र तत्कालको नगद संकट टार्न १० अर्ब रुपैयाँ अल्पकालीन ऋण लिन लागेको हो।

प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार उत्पादन, प्रसारण र वितरण प्रणालीको विस्तार तथा विद्यमान संरचनाको स्तरोन्नतिका लागि २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बन्ड) जारी गर्न लागिएको हो।

‘ऋणपत्र जारी गर्न अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेको छ,’ प्रबन्ध निर्देशक शाक्यले भने।

प्राधिकरणले नगद अभाव भएपछि तत्कालको संकट समाधान गर्न १० अर्ब रुपैयाँको अल्पकालीन ऋण लिन लागेको हो। प्राधिकरणको हाल १४ अर्ब रुपैयाँ बराबरको दायित्व रहेको र नगद प्रवाह व्यवस्थापन गर्न कठिन भएको शाक्यले बताए।

‘१० अर्बको अल्पकालीन ऋणका लागि ऊर्जा मन्त्रालयबाट सहमति प्राप्त भएको छ,’ उनले भने। उक्त ऋण यही आर्थिक वर्षभित्रै लिइने प्राधिकरणले जनाएको छ।

यसअघि निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा प्राधिकरणलाई निरन्तर नाफामा लगेको र संस्थाको वित्तीय अवस्था सुदृढ भएको बताउँदै आएका थिए।

तर, नयाँ नेतृत्वले भने संस्थाको वित्तीय अवस्था सन्तोषजनक नभएको र नगद संकटमा रहेको बताउँदै ठूलो मात्रामा ऋण लिन प्रक्रिया अघि बढाएको हो।

प्रकाशित: २५ असार २०८२ १९:२४ बुधबार