अर्थ

अशोक स्टिलको चिम्नी बिग्रियो, हानिकारक धुँवाले सर्वसाधारणलाई सास्ती

वीरगन्ज–पथलैया औद्योगिक करिडोर अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा सञ्चालित अशोक स्टिलबाट निस्कने धुँवाका कारण स्थानीय समस्यामा परेका छन् । उक्त धुँवा मानव स्वास्थ्यका लागि हानिकारक रहेको छ ।

उद्योगको कबाड पगाल्ने भट्टीबाट निस्कने धुँवा चिम्नीबाट नभई सिधै हावामा छाड्नाले श्वासप्रश्वासमा समस्या देखिनुका साथै आँखा पोल्ने गरेको उनीहरूको गुनासो छ । उद्योगहरुले जथाभावी धुँवा छोड्दा स्थानीय र राजमार्गमा ओहोरदोहोर गर्ने यात्रुहरूलाई पनि सास्ती हुने गरेको छ । उद्योगबाट निस्कने कालो धुवाँले आसपासमा रहेका घरमा बस्नेलाई बढी समस्या दिएको छ ।

फलामको कवाड पगाल्ने उक्त भट्टीबाट निस्कने धुँवामा कार्बन डाइअकसाईड, कार्बन मनोअकसाईड, नाइट्रोजन डाईअकसाइड लगायतका स्वास्थ्यका लागि हानिकारक ग्यासहरू निस्कने गरेको छ । जीतपुर सिमराका कुलप्रसाद घिमिरेले धुँवा व्यवस्थापनका लागि धेरै पटक आग्रह गरेपनि सुनुवाइ नभएको बताए ।

‘दिनहुँ भट्टीबाट निस्कने धुँवा घर भित्रसम्म पुग्ने गरेको छ, ’अशोक स्टिलसँगै रहेको बकुलहर टोलका दसैँ रामले भने, ‘धुवाँले गर्दा आँखा पोल्नुसको साथसाथै शरीर चिलाउने र सास लिनसमेत समस्या हुने गरेको छ ।’

यद्यपि धुँवालाई व्यवस्थित बनाउने काम भइरहेको उद्योगका सञ्चालक पुनम अग्रवालले बताए । फलामको कण मिसिएको प्रदूषित धुँवालाई ३२ फिटभन्दा माथि छोड्नु पर्ने नियम छ । भारतसहितका देशबाट फलाम आयात गर्दा धेरै रकम लाग्ने भएकाले स्वदेशभित्रै संकलन भएको कवाडलाई पलागेर फलाम उत्पादन गर्ने गरेको अग्रवालले बताए।

उद्योगका प्रशासकीय अधिकृत बिनाय झाले विगत लामो समयदेखि चिम्नीबाटै धुँवा फाग्ने गरेको जानकारी दिँदै अहिले उक्त चिम्नी बिग्रिएकाले भवनको छानामुनिबाटै धुँवा बाहिर निस्कने गरेको बताए । तत्काल समाधानको काम भइरहेको उनको भनाइ छ ।

अशोक स्टिल उद्योगमा अहिले दैनिक १० ट्रकभन्दा बढी फलामका कवाड पगाल्ने गरेको झाले बताए ।

प्रकाशित: ३० असार २०८२ १८:३६ सोमबार

#NagarikNews #Ashok Steel