अर्थ

अन्नपूर्ण क्षेत्र: ६८ प्रतिशत पाहुना सार्क मुलुकका

अन्नपूर्ण क्षेत्रमा पदयात्रामा रहेका पाहुना। तस्बिरः नागरिक

सन् २०२६ को सुरुको चारमहिना (जनवरी–अप्रिल) अवधिमा अन्नपूर्ण क्षेत्रमा सबैगरि १ लाख ५२ हजार ४ सय ८६ जना विदेशी पर्यटक घुमघामका लागि पुगे। तीमध्ये ६८ प्रतिशत (१ लाख ४ हजार २ सय २७) जना पर्यटक सार्क मुलुकका पाहुना छन्। बाँकी ४८ हजार २ सय ५९ जना पाहुना भने अन्य तेश्रो मुलुकका छन्।  

पछिल्लो समय अन्नपूर्ण क्षेत्रमा घुमघाममा जानेमा अधिकांश पाहुना सार्क मुलुकका हुन थालेका छन्। सार्क मुलुकमध्ये पनि भारतीय पाहुना निकै नै बढि हुन्छन्। किनभने भारतीय धार्मिक पाहुना अन्नपूर्ण क्षेत्रभित्रको मुक्तिनाथ मन्दिर दर्शन गर्न जान्छन्। मुक्तिनाथ जाने पनि यसैमा गणना हुन्छ। तर, पछिल्लो समय भारतीय धार्मिक बाहेक पदयात्राकै लागि भनेर जाने सार्क मुलुकका अरु पाहुना पनि बढिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ।  

एक्याप प्रमुख रविन कडरिया भन्छन्, ‘भारतीय धार्मिक पाहुनाको आगमन बढेकोले स्वभाविक रुपमा सार्क मुलुकका पाहुनाको आकार बढिरहेको पनि हो। तर, पछिल्लो समय धार्मिक बाहेक पदयात्राकै लागि भनेर जाने सार्क मुलुकका अरुखाले पाहुना पनि छन्।’ पछिल्लो समय नेपालमा भारतबाहेक बंगलादेश, भुटान र श्रीलंकाका पाहुना पनि भित्रिन थालेका छन्। नेपाल भित्रिने १० उत्कृष्ट मुलुकभित्र भारत, बंगलादेश, भुटान, श्रीलंका परिरहन्छन।  

‘भारतीय धार्मिक पाहुनाको आगमन हिसाबले स्वभाविक रुपमा सार्क मुलुकका पाहुना बढि हुन्छन। तर, पदयात्राका लागि जाने सार्क मुलुककै पाहुना पनि बढिरहेका छन,’ उनले भने। 

उनका अनुसार तेश्रो मुलुकका पाहुनाको आगमन पछिल्लो समय कुनै न कुनै बहानामा प्रभावित हुन थालेको छ। यतिबेला त झन मध्यपूर्वका मुलुकमा देखिएको तनावका कारणले पनि आगमन प्रभावित भएको छ। योपटक सिजनको बेलाको आगमन पनि मध्यपूर्वको तनावले गर्दा प्रभावित भएको थियो। तर सार्क मुलुकका पाहुनाको आगमनमा भने कुनै प्रभाव परेको थिएन।

कडरियाका अनुसार सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा सबैगरि २ लाख ९९ हजार ८ सय ३१ जना पाहुना अन्नपूर्ण क्षेत्रमा गएका थिए। ती मध्ये ४१ प्रतिशत (१ लाख २२ हजार २ सय ३ ) जना तेश्रो मुलुकका पाहुना थिए। त्यसैगरि ५९ प्रतिशत (१ लाख ७७ हजार ६ सय २८ ) पाहुना सार्क मुलुकका थिए।  

‘कोरोना भाइरस संक्रमण अघि र पछिको अवस्था ठ्याक्कै उल्टो बनेको छ। कोरोना अघि अन्नपूर्ण क्षेत्रमा तेश्रो मुलुकका पाहुना बढि हुन्थे, सार्क मुलुकका पाहुना कम थिए,’ उनले भने, ‘अहिले सार्क मुलुकका पाहुना बढि हुन थालेका छन। तेश्रो मुलुकका पाहुनाको आगमन कमजोर बनेको छ।’ सन् २०२० पछिका वर्षमा सार्क मुलुकका पाहुनाको अन्नपूर्ण क्षेत्रमा बाहुल्यता रहेको उनले बताए।  

सन् २०२६ को अप्रिलमा मात्र अन्नपूर्ण क्षेत्रमा सबैगरि ६२ हजार ८ सय ७२ जना पाहुना पुगेका थिए। त्यो आगमन संख्या अघिल्लो वर्षको अप्रिलमा ४४ हजार ७ सय ६३ थियो। पछिल्लो समय अन्नपूर्ण क्षेत्रमा पदयात्रामा जाने पाहुनाका लागि सरकारले केही सहजता पनि बनाईरहेको अवस्थामा आगामि दिनमा सार्क मुलुकका पाहुनाको संख्या अझै बढ्ने अपेक्षा रहेको उनले बताए।

एक्यापका अनुसार २०२६ जनवरीमा अन्नपूर्ण क्षेत्रमा जानेमध्ये १६ हजार ५ सय ५४ जना सार्कका पाहुना थिए। त्यो महिना तेश्रो मुलुकका पाहुनाको संख्या ३ हजार ५ सय ७ थियो। त्यस्तै फेब्रुअरीमा जाने २१ हजार ४० जना पाहुनामध्ये १२ हजार ३ सय ३८ सार्क र ८ हजार ६ सय २ जना तेश्रो मुलुकका थिए। मार्च महिनामा गएका ४८ हजार ५ सय १३ जना पाहुनामध्ये सार्क मुलुकका ३२ हजार २० र बाँकी तेश्रो मुलुकका १६ हजार ४ सय ९३ जना तेश्रो मुलुकका पाहुना थिए।  

पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणिराज लामिछाने पनि मध्यपूर्वको प्रभावले गर्दा अमेरिकी र यूरोपियन मुलुका पाहुना प्रभावित भएको बताउँछन्। ‘दक्षिण एशियाली मुलुकका पाहुनाको आउजाउ सहज छ। अझ भारतीय पाहुना त स्थलमार्गबाटै आउन सक्छन। त्यसले गर्दा पनि सार्कका पाहुनाको आगमन बढिरहेको छ,’ लामिछाने भन्छन, ‘मध्यपूर्वको तनावले गर्दा योपटक तेश्रो मुलुकका पाहुनाको आगमन कम्तिमा १० प्रतिशत गिरावट आएको छ। अप्रिल महिनामा मात्र पाहुना आगमनमा सातप्रतिशत कमी थियो।’ दक्षिण एशियाली मुलुकमा प्रवर्द्धन गर्न सकेको सकेको खण्डमा नेपालको पर्यटन क्षेत्रले लाभ पाउने उनले बताए।  

प्रकाशित: २४ वैशाख २०८३ १६:२५ बिहीबार

अन्नपूर्ण क्षेत्रको पदयात्रा सार्क मुलुक