सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीलाई समेत उपहार दिने व्यवस्था गरेको छ।
अर्थ मन्त्रालयले उपभोक्ता र व्यवसायी दुवैलाई कर प्रणालीमा सहभागी गराउने उद्देश्यले यस्तो व्यवस्था गरेको हो। मन्त्रालयले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन र बिक्री गर्दा अनिवार्य रूपमा बिल जारी गर्न सबै उपभोक्ता तथा व्यवसायीलाई आग्रह गरेको छ।
यस कार्यक्रममार्फत सरकारले बिल लिने र दिने दुवैलाई प्रोत्साहन गर्ने भएको छ। सामान खरिद गरेपछि बिल नलिने उपभोक्ता र बिक्री गर्दा बिल नदिने व्यवसायीलाई समेत बिल अनिवार्य गर्न भनिएको हो।
जारी सूचनामा भनिएको छ, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत खरिद बिल लिने उपभोक्ताका साथै बिल जारी गर्ने व्यवसायीले समेत उपहार प्राप्त गर्ने व्यवस्था गरिएको छ। वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन र बिक्री गर्दा अनिवार्य रूपमा बिल जारी गर्न सम्पूर्ण उपभोक्ता तथा व्यवसायीहरूलाई अनुरोध गरिन्छ।’
त्यस्तै, मन्त्रालयले ‘हाम्रो कर, हाम्रै बजेट, हाम्रो भविष्य’ भन्ने सन्देशसहित सबैलाई बिल लिने र दिने बानी बसाल्न आग्रह गरेको छ।
प्रकाशित: २२ कार्तिक २०८३ १६:३६ आइतबार