अर्थ

उखुसँगै दुग्ध किसानले पनि थाले आन्दोलन: भुक्तानी चाँडै चुक्ता गर्न माग

प्रहरीसँग किसानको घम्साघम्सी

उखु किसानको आन्दोलन जारी रहेका बेला दुग्ध किसानले पनि आन्दोलन थालेका छन् ।  

किसानले लामो समयदेखि दूधको भुक्तानी नपाएपछि आजित भएर आन्दोलनमा उत्रनु परेको बताएका छन् । उनीहरू दूधको भुक्तानी नपाएकोले चाँडो भुक्तानीको माग गर्दै आन्दोलन सुरु गरेको बताए । दुग्ध किसानहरूले काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी)को कार्यालयमा धर्ना दिएका छन्।

आइतबार दुग्ध किसान डीडीसीको कार्यालय बाहिर धर्ना दिन पुगेका थिए । धर्ना दिन भेला भएका किसानलाई प्रहरीले कार्यालय परिसरमा प्रवेशमा रोक लगाएपछि घम्साघम्सी नै भएको थियो ।  

दूधको मूल्य भुक्तानीका बारेमा दुग्ध विकास संस्थान लगायत सरोकारवाला निकायलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि भुक्तानी नभएकाले डीडीसीको कार्यालयमा धर्ना दिनु परेको अखिल नेपाल किसान महासंघकी महासचिव सरिता भुसालले बताइन ।  

पहिले बेचेको दूधको मूल्य माग गर्दै ध्यानाकर्षण गराउँदा प्रहरी लगाएर दमन गर्न खोजिएको भन्दै उनले आपत्ति जनाएकी छन् ।  

दूधको मूल्य नपाउँदा संकटमा परेको भन्दै किसानले पटक पटकको खबरदारीलाई राज्यले वेवास्ता गरेपछि आन्दोलनमा उत्रनुपर्ने बाध्यता आएको बताएका छन् । 

प्रकाशित: १५ भाद्र २०८२ १५:२७ आइतबार