अर्थ

एआईटी पूर्वविद्यार्थी संघ नेपालद्वारा बाढीपीडितका लागि साढे २९ लाख सहयोग

एआईटी पूर्वविद्यार्थी संघ नेपालले बाढी प्रभावित क्षेत्रको पुनस्र्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले संकलन गरेको २९ लाख ६४ हजार रकम सरकारलाई सहयोग गरेको छ ।  

संघको बाढी राहत अभियानअन्तर्गत संकलित रकम एआईटी पूर्वविद्यार्थी संघ नेपालका अध्यक्ष डा. चण्डिका प्रसाद भट्टले भौतिक पूर्वाधार विकासमन्त्रीसुनिल लम्साललाई हस्तान्तरण गरेका छन् । बाढीबाट प्रभावित समुदायको पुनस्र्थापना तथा पुनर्निर्माण कार्यमा सहयोग पुर्‍याउने लक्ष्यसहित संघले राहत अभियान सञ्चालन गरेको थियो ।

अभियानमा नेपालका अतिरिक्त थाइल्यान्ड, अमेरिका, जापान, कम्बोडिया र फिलिपिन्समा रहेका सहयोगीहरूले समेत आर्थिक सहयोग गरेको संघका अध्यक्ष चण्डिका भट्टले बताए ।

संकटको समयमा एकता, सहकार्य र मानवीय भावनालाई प्रतिबिम्बित गर्न सहयोग गरेको डा. भट्टले बताए । एआईटी पूर्वविद्यार्थी संघ नेपालले सामाजिक उत्तरदायित्वको भावले सहयोग गरेको हो ।

प्रकाशित: ११ कार्तिक २०८३ १८:२६ बुधबार