अर्थ

हवाई कम्पनी भन्छन्ः सरकारले सहुलियत दिए हवाई यात्रा सस्तो पर्छ

राजमार्ग रोकिँदा हवाई उडानमा चाप

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका बुद्ध र यती एयरलाइन्सका जहाज। फाइल तस्बिरः नागरिक

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि पर्यटकीय राजधानी पोखरा संघीय राजधानी काठमाडौंसँग सडक सञ्जालले बिच्छेद भएको छ। अहिले पोखरा–काठमाडौ सडक यात्रा गर्नैपर्ने बाध्यतात्मक अवस्थामा धेरै नै फेरो घुमेर जानुपर्ने अवस्था छ। साना सवारी जसोतसो गोरखाबाट धादिङबेसी हुँदै काठमाडौं प्रवेश गर्नसक्ने भएपनि ठुला सवारीका लागि भने अहिले बाटो नै छैन।

स्थलमार्ग रोकिएपछि अहिले पर्यटकीय राजधानी पोखरालाई काठमाडौं जोड्ने एकमात्र यातायात साधन भने हवाई माध्यम बनेको छ। स्थलमार्ग रोकिएपछि अहिले पोखरा–काठमाडौं रुटमा हवाई चाप पनि बढेको छ। पोखराबाट काठमाडौं जाने यात्रुको भीड बढेपछि अहिले हवाई कम्पनिलाई उडान व्यवस्थापन गर्न पनि सकस भएको छ। हवाई कम्पनिका अनुसार अहिले काठमाडौंबाट पोखरा आउने भन्दा पोखराबाट काठमाडौं जाने यात्रुको चाप बढि रहेको एयरलाइन्सले बताएको छ।

एकातिर भोटेकोशीको बाढीले मानवीय र भौतिक क्षति त गरेको थियो नै त्यही बाढीले कटान गरेपछि राजमार्ग पनि अवरुद्ध भएको हो। भासिएको पृथ्वी राजमार्ग तत्काल खुल्ने अवस्था नरहेको सडक विभागले बताईसकेको छ। राजमार्ग अवरुद्ध भएपछि अहिले पोखरा–काठमाडौं रुटमा हवाई टिकट पाउन समेत मुस्किल हुन थालेको छ।  

हवाई कम्पनिले भने अहिलेको अवस्थामा एकतर्फी मात्र यात्रुको चाप रहेको बताएका छन्। उनीहरुका अनुसार अहिले काठमाडौं–पोखरा रुटमा ५० प्रतिशत हाराहारीमा र पोखरा–काठमाडौं रुटमा भने ९० प्रतिशत हाराहारीमा अकुपेन्सी रहेको बताएका छन। ‘काठमाडौंबाट पोखरा आउने भन्दा पोखराबाट काठमाडौं जाने यात्रुको भीड बढि छ। एकतर्फी यात्रुको चाप छ, त्यसलाई व्यवस्थापन गर्न हवाई कम्पनिलाई सहज छैन,’ एक हवाई कम्पनिका उच्च अधिकारीले भने।  

ती अधिकारीका अनुसार भोटेकोशीको बाढीलगत्तै हवाई भाडा वृद्धि गरेको भनेर हवाई कम्पनिको ब्यापक आलोचना भयो। त्यही आलोचनापछि हवाई कम्पनिले अहिले काठमाडौ–पोखरा–काठमाडौं रुटमा सबैभन्दा सस्तो भाडादरमा उडान गरिरहेका छन्। हवाई कम्पनिले यो रुटमा यसअघि विभिन्न चारतहको भाडादर तोक्ने र यात्रुको माग अनुसार मुल्यमा उडान गर्दै आएका थिए। तर, पछिल्लो आलोचनापछि सबैभन्दा कम मुल्यमा यात्रुलाई उडान गरिरहेको हवाई कम्पनिको भनाई छ। अहिले एउटामात्र (सबैभन्दा सस्तो) मुल्यमा यो रुटमा यात्रुले उड्न पाएका छन्। अहिले काठमाडौं–पोखरा ६ हजार र पोखरा–काठमाडौं ६ हजार ५ सय रुपैयाँ भाडा पर्छ।

‘अहिलेको अवस्थामा दुईतर्फी यात्रु पर्याप्त छैनन। एकतर्फी यात्रुको चाप भने छ। यो बेला हामीलाई हवाई भाडा वृद्धि गरेको भन्ने आरोप लाग्यो। तर, यात्रुको यो चापको आधारमा हवाई कम्पनिले सेवा दिन सक्ने अवस्था नै छैन,’ एक हवाई कम्पनिका उच्च अधिकारीले भने, ‘न्यूनतम भाडादरमा उडान गरेर खर्च धान्न सक्ने अवस्था रहन्न। त्यसका लागि राज्यले नै केही सेवा सुविधा दिनुपर्छ।’ 

ती अधिकारीका अनुसार हवाई कम्पनिले इन्धनको मुल्य, एयरपोर्ट सर्भिस चार्ज, ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायतका शुल्क सरकारलाई तिर्नुपर्छ। सरकारी शुल्क र हवाई कम्पनिको भाडा एकमुष्ठ संकलन गरेर हवाई कम्पनिले यात्रुसँग लिन्छन। त्यसपछि सरकारी रकम सरकारलाई नै तिर्छन।  

‘हामीलाई जहिले पनि भाडा बढाएको आरोप लाग्छ। खासमा सरकारले हवाई कम्पनिसँग लिएको विभिन्न शीर्षकको शुल्कमा केही छुट दिने हो भने अझै राहत मिल्छ।  फ्यूल सरचार्ज, एयरपोर्ट सर्भिस चार्ज, ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायतका शुल्कमा सरकारले पनि त छुट दिनसक्छ। त्यो भयो भने अहिले भन्दा पनि अझ सस्तो पर्छ,’ उनले भने। सरकारले लिनेजति सबैखाले शुल्क लिने, तर, हवाई कम्पनिलाई जहिल्यै दवावमा राख्ने गरेको उनले बताए।  

‘सरकार आफुले लिनेजति शुल्कमा केही राहत दिने हो भने हामी पनि सस्तोमा उडान गर्न सक्छौ। तर, सरकारले आफुले पाउनुपर्ने शुल्कमा एकरुपैयाँ पनि घटाउन चाहेन, खाली हामीलाई मात्र भाडा बढाएको आरोप लगाउने गरिएको छ,’ उनले भने, ‘राज्यले चाहे एउटै निर्णयले हवाई कम्पनिलाई छुट दिन सक्छ। त्यसो हुँदा हवाई भाडा घटिहाल्छ।’ अप्ठेरोको अहिलेको केही समयलाई सहज बनाउने हो भने राज्यले दिने सेवासुविधामा राहत दिने हो भने हवाई कम्पनिले पनि मुल्य घटाउन सक्ने उनले बताए।  

अर्काे एक हवाई कम्पनिका अधिकारीले पनि अहिले यात्रुको चाप बढेको भनेर खुसी हुने अवस्था नरहेको बताउँछन। ‘राज्यका लागि एयरलाइन्सले नै विभिन्न शीर्षकमा रकम संकलन गरिदिएका छन्। यात्रुसँगे उठेको रकम सरकारलाई नै दिने हो। यात्रुले एकमुष्ठ तिर्ने भएकोले हवाई भाडा बढि देखिएको हो,’ ती अधिकारीले भने, ‘राज्यले आफुले लिने शुल्क छुट दिने हो भने हवाई भाडा सस्तो पर्न जान्छ। राज्यले नघटाउने, तर, एकमुष्ठ रकम तिरेको आधारमा हवाई कम्पनिलाई भाडा बढाएको आरोप लाग्ने गरेको छ।’

उनले पनि सस्तो मुल्यमा उडान गर्नुपर्ने अवस्थामा हवाई कम्पनिलाई सहज नहुने बताए। एकतर्फी उडानमा मात्र यात्रु संख्या बढेर नहुने उनले बताए। ‘अहिले काठमाडौंबाट पोखरा जाने यात्रु छैनन। पोखराबाट काठमाडौं आउने चाप छ। तर, सबैभन्दा कम मुल्यमा उडान गरिरहेका छन, अझ काठमाडौंको आकाशमा होल्ड गर्नुपर्दा अझै बढि खर्च हुन्छ, त्यो पीडा कसैले देख्दैन,’ उनले बताए।  

पर्यटन व्यावसायी पनि राज्यले अहिलेको अप्ठेरो अवस्थामा केही सहुलियत दिएर यात्रु र हवाई कम्पनिलाई सहजीकरण गर्नुपर्ने बताउँछन्। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) गण्डकीका पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले भने, ‘राज्यले लिने शुल्कमा केही कम गर्ने हो भने हवाई भाडा स्वतः कम हुन्छ। हवाई कम्पनिलाई मात्र दवाव दिएर हुँदैन। राज्यले हवाई कम्पनिमार्फत उठाएको रकममा केही छुट दिनैपर्छ।’  

विपत् र राजमार्ग अवरुद्ध भएको यो समयमा सरकारले केही सहुलियत दिने हो भने अहिलेको न्यूनतम भाडा पनि अझै कम पर्ने उनले बताए। पोखरा पर्यटन परिषद्(पिटिसी)का पूर्वअध्यक्ष समेत रहेका उनले भने, ‘हवाई कम्पनिलाई मात्र भाडा बढाएको आरोप लगाउनु भएन, राज्यले छुट दिएको अवस्थामा हवाई कम्पनिले समायोजन नगरेमा बल्ल त्यो बेला भन्न मिल्छ। अहिले राज्यले सहुलियत दिएको छैन। सबैभन्दा सस्तो मुल्यमा उडान भईरहेको छ।’  

अहिले बुद्ध, यती र श्री एयरले मात्र पोखरा–काठमाडौं–पोखरा रुटमा उडान गरिरहेका छन। बुद्धले यो रुटमा दैनिक एकदर्जन उडान गरिरहेको छ। त्यस्तै यती एयरले पनि यही रुटमा दैनिक १० वटा उडानको तालिका राखेको छ। अर्काे श्री एयरलाइन्सले पनि दैनिक उडान गरिरहेको छ।  

प्रकाशित: १५ भाद्र २०८३ १८:३२ सोमबार

पृथ्वी राजमार्ग बुद्ध र यती एयरलाइन्स