सरकारले उपलब्ध गराउने रासायनिक मल सुचीकृत सहकारी र डिलरमार्फत् कृषकहरुको हातमा पर्ने प्रावधान छ ।
पालिकाले ताकेको सहकारीलाई तोकेको कोटा अनुसारको मल कृषि सामग्री लिमिटेड र साल्ट्रेनिङ कप्र्रोरेशनले उपलब्ध गराउने गर्दछ । ती सहकारीले आफ्ना सदस्य र कृषकहरुलाई दामासाहीले बिक्री गरेको मलको भरपाई समेत पालिकाको कृषि शाखालाई बुझाउनु पर्छ । सो भरपाईमा वडाध्यक्षको समेत सिफारिस हुनु पर्छ । तर यो प्रावधानलाई लत्याउदै डिलर र कृषि सहकारीले कृषककालागि आएको मल आफु खुशी बेच्ने गरेका छन् ।
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ५ बलुहवाको कृषकका लागि सोही पालिकाको डुमरास्थित चेतना विकास कृषि सहकारीले कृष्णनगरस्थित साल्ट ट्रेडिङबाट किनेर ल्याएको मल बाटो मै गायब भएको स्थानीय कृषकहरुको आरोप छ । एक महिना अघि नै ल्याइएको मलबारे अझैसम्म कुनै अत्तोपत्तो छैन । सो मलको विषयमा वडाध्यक्ष राघबेन्द्र पोण्डेयले समेत आफूलाई कुनै जानकारी नभएको बताए । सोही विषयको छानबिन गरी मल उपलबध गराउन भन्दै कृषकहरुले गाउँपालिकामा निवेदनसमेत दिएका छन् । गाउँपालिका अध्यक्ष वलीउद्दनि मुसलमानले सो विषयको छानबिन गर्न उपाध्यक्ष सरस्वती यादवलाई निर्देशन दिएको बताए ।
स्थानीय कृषक चन्द्रवली यादवले आफुहरुको लागि आएको मल डिलर खुलेयाम गायब गर्दा समेत केही नभएको गुनासो गरे । बिगत लामो सयमदेखि जिल्लामा मलको हाहाकार छ । तर सरकारले अनुदान दिएको मलमा भने सहकारीको अध्यक्ष कै हालीमुहाली छ । अध्यक्षहरुले सो मल आफूखुशी बेच्ने गरेका छन् । जिल्ला कै प्रमुख बालीका रुपमा रहेको धान खेतीका लागि युरिया र डिएपी मल नपाएर कृषकहरु छटपटाई रहेका छन् । सप्रीरहेको धान खेतका लागि युरिया मल आवश्यक पर्ने कृषि प्राविधिकहरु बताउँछन् । सरकारले माग अनुसारको मलको आपुर्ति गर्र्न सकेको छैन् । माग भएको अत्यन्तै न्युन मात्रामा जिल्लामा मल पठाईने गरिएको छ । सरकारी अनुदानमा आएको त्यो मलमा पनि कृषि सहकारीको रजाई हुने गरेको छ । जिल्लामा तौलिहवा र बहादुरगंजमा रहेको कृषि सामगी लिमिटेड र कृष्णनगरस्थित साल्ट्रेडिङमार्फत् कृषि सहकारीलाई मल उपलब्ध गराउने गरिएको छ ।
कृषि ज्ञान केन्द्र अनुसार जिल्लाभर साढे ३ सय बढी कृषि सहकारी छन् । पालिको सिफारिस अनुसार तिनीहरुलाई ३ स्थानबाट पालौपालो मल उपलब्ध गराउने गरिएको ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेलले बताए । सहकारीले आफनो कार्यक्षेत्र र सदस्यहरुलाई बाहेक अरुलाई मल बिक्री गर्न नपाउने नियम छ । तर जिल्लाका अधिकांस कृषि सहकारीले सहकारी अनुशासन बिपरित सहुलियत मलको कालोबजारी गर्ने गरेको कृषकहरु बताउछन् ।
तौलिहवाका कृषक राका यादवले कृषि सहकारीले कृषकहरुकालागि आएको मलको कालोबजारी गर्ने गरेको आरोप लगाए । ‘सहकारीले हामीलाई मल दिदैन, तोकिए भन्दा बढी पैसा दिनेलाई बेच्ने गरेको छ,’ निराश हुदै उनले भने ‘वर्षोदेखि यस्तो कारोवार गर्दै आएका सहकारीलाई कसैले कारबाही गर्दैन ।’ सहकारीका अध्यक्षले नै मललाई मनपरीढंगले राख्ने गरेको यशोधरा गाउँपाकिा अर्को कृषक बिनोद चौधरीले बताए । ‘सहकारीको अध्यक्षको कब्जामा मल हुन्छ, आफूलाई चाहिए जति राख्ने अनि बचेको मल मन परेको व्यक्तिलाई बढी रकम लिएर बच्ने गरेको छन्’ उनले भने । सहकारीलाई दिईएको मल कस्ले पायो, के गरियो लगायतका विषयका कसैले सोधखोज नगरेकाले मलमा सहकारी कै अध्यक्षका रजाई हुँदै आएको उनी बताउँछन् ।
जिल्लामा कृषकका लागि आउने रासायनिक मलको दुरुपयोग हुने गरेको पाईएको छ । जिल्ला कृषि समितिले १५ वर्षअघि देखि कृषि सहकारी मार्फत सहुलियत मलको बिक्रि गर्ने निर्णय गरेको थियो । त्यसअघि कृषि सामग्री कम्पनीमार्फत् डिलर र कृषकहरुलाई बिक्री गर्ने गरिन्थ्यो । आफनो सदस्यहरुलाई मात्र बिक्री गर्न लगिएका मल कृषि सहकारीहरुले भने मलका व्यापारी, बढी रकम दिने कृषक, प्लाई उड उद्योगलाई बेच्ने गरिएको कृषकहरु बताउँछन् । सहुलियत मलको कारोवारका लागि डिलरसिपको अनुमिति लिएका आधा बढी सहकारीले मलको दुरुपयोग गरी बेच्ने गरेको स्रोतको भनाई छ ।
जिल्लामा १० हजार टन युरिया मलको चाहिए पनि त्यस अनुसार आपुर्ति भएको छैन । सहकारी मलको दुरुपयोग रोक्न पालिका र प्रशासन कार्यालयले ठोस कदम चाल्नु पर्ने नेपाल कृषक महासंघका जिल्ला सचिव बालगोबिन्द त्रिपाठीले बताए । ‘कृषकका लागि आएको सहुलियतको मल दुरुपोग गर्ने माथि कारबाही गर्नुपर्छ,’ उनले भने । प्रजिअ दिल कुमार तामाङले अनुदानको मल दुरुपयोगका रोक्न आवश्यक कार्यअघि बढाउने बताए । जिल्लानमा साढे ६५ हजार बढी धान खेतीका लागि २० हजार युरिया र १० हजार डिएपी मल आवश्यक पर्छ ।
प्रकाशित: २६ श्रावण २०८२ १९:५० सोमबार