नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन गरिने भएको छ । अध्ययन गर्नका लागि लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि – फिलोस कम्पनी लिमिटेडका बीच समझदारीपत्रमा विहीवार हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी जि – फिलोस कम्पनी लिमिटेडका तर्फबाट प्रमूख कार्यकारी अधिकृत गा वु पार्कले हस्ताक्षर गरे ।
समझदारी अनुसार प्रस्तावक कम्पनी जि – फिलोस कम्पनी लिमिटेडले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपश्चात विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी करिब १० महिना भित्रमा लगानी बोर्डको कार्यालयमा पेश गर्नेछ ।
हस्ताक्षर कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क ताए योङले नेपालमा यस प्रकारका नवीकरणीय स्वच्छ ऊर्जाको प्रचुर सम्भावना रहेको बताए । नेपाल र दक्षिण कोरिया बीचको द्विपक्षिय सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डा। राम प्रसाद धिताल, विद्युत विकास विभागका महानिर्देशक जिवछ मण्डल, ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य एवम् ग्रीन हाइड्रोजनको अध्ययन तथा अनुसन्धानमा क्रियाशील काठमाडौँ विश्वविद्यालयका अनुसन्धानकर्ता डा विराज सिंह थापाको पहि सहभागिता थियो । बोर्डका सिइओ ज्ञवालीले अध्ययन पश्चात यथासक्य छिटो नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट स्थापना हुने प्रतिबद्धता व्यक्त गरे ।
प्रस्तावक कम्पनी जि–फिलोस कम्पनी लिमिटेडले नेपालमा सार्वजनिक–निजी साझेदारी ढाँचामा ग्रीन हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापना, विकास तथा सञ्चालनका लागि गत वैशाखमा लगानी बोर्डको कार्यालयमा प्रस्ताव पेश गरेको थियो । लगानी बोर्ड बैठकले प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो
प्रकाशित: १२ भाद्र २०८२ १५:२३ बिहीबार