नेपालबाटै अर्ब डलर मूल्यका (युनिकर्न) प्रविधि कम्पनी स्थापना गर्न सरकारले आवश्यक नीतिगत सुधार गर्ने प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्।
नेपालीले बनाएका लुडो र कलब्रेक गेमको विश्वव्यापी सफलताको उदाहरण दिँदै उनले गेमिङ र सूचना प्रविधि (आइटी) उद्योगको विकासलाई प्राथमिकता दिने बताएका हुन्।
शनिबार सामाजिक सञ्जालमार्फत उनले विश्वभर लोकप्रिय लुडो गेम २० करोड र कलब्रेक गेम १५ करोडभन्दा बढी पटक डाउनलोड भएको उल्लेख गरेका छन्। यी दुवै गेम नेपालीले नै बनाएको र सयौं युवा गेम एप विकासमा सक्रिय रहेको उनले बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार सरकारले गेम बनाउनेसँग छलफल गरी उनीहरूका समस्या बुझेको छ। गेम डेभलपमेन्ट क्षेत्रलाई सहज बनाउँदै उद्योगका रूपमा विकास गर्न आवश्यक गृहकार्य पनि अघि बढाइएको छ।
उनले नेपालबाटै विश्वस्तरका अर्ब डलर मूल्यका कम्पनी स्थापना गर्न सहज हुने गरी नियम र व्यावसायिक वातावरण पुनरावलोकन गर्ने बताएका छन्।
त्यस्तै, आइटी उत्पादन र निर्यातलाई प्रोत्साहन गर्न कर प्रणाली सहज बनाउने, नीतिगत सुधार गर्ने र अन्तर्राष्ट्रिय आम्दानीसम्बन्धी नियमलाई थप लचिलो बनाउने उनको भनाइ छ। नेपाली कम्पनीले सहज रूपमा आम्दानी गर्न र पुनः लगानी गर्न सक्ने वातावरण बनाइने उनले बताएका छन्।
गेमिङ तथा आइटी उद्योगको विकासका लागि सरकारले गेम जाम, स्टार्टअप कार्यक्रम, ह्याकाथन तथा नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग नियमित अन्तरक्रियाजस्ता गतिविधिमा लगानी गर्ने योजना पनि उनले सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री शाहले लेखेका छन्
के तपाईंलाई थाहा छ नेपालमा गेम बनाएर संसारभर नाम कमाएका गेम कम्पनीहरू पनि छन्।
संसारकै सबैभन्दा चर्चित लुडो (~ २०० मिलियन डाउनलोड्स) र कलब्रेक गेम (१५० मिलियनभन्दा बढी डाउनलोड्स) नेपालीले नै बनाएका हुन्। त्यसैगरी सयौँ युवाहरू गेम एप बनाउन तल्लीन हुनुहुन्छ।
हामीले उहाँहरूलाई बोलाएर समस्याहरू पनि बुझ्यौँ र यो गेम डेभलपमेन्ट क्षेत्रलाई सजिलो बनाउन र उद्योगको रूपमा अघि बढाउने कुराहरूबारे पनि कुरा गर्यौँ र अब उहाँहरूको समस्या समाधान गर्ने गृहकार्य अघि बढाइएको छ। नेपालबाटै हामीले ग्लोबल युनिकर्न कम्पनी बनाउन सहज पार्नुपर्ने नियम, वातावरण सबै पुनरावलोकन गर्नेछौँ।
आईटीका प्रोडक्टहरू र एक्सपोर्ट पनि अहिले निकै प्रमिसिङ स्टेजमा छ र हाम्रो ट्यालेन्ट, कम्पनीहरूले सहजै कमाउने, रि-इन्भेस्ट गर्ने कुराहरूलाई ध्यानमा राख्दै ट्याक्स सहजता र पोलिसी इम्प्रुभमेन्ट, इन्टरनेसनल इन्कममा कन्जर्भेटिभ नियमहरू अझै सहज बनाउनेछौँ।
यसका साथै गेम जाम, स्टार्टअप इभेन्ट्स, आईटी सेक्टर र राष्ट्र बैंक, अर्थ मन्त्रालयको रेगुलर इन्टरयाक्सन, ह्याकाथन्स र समग्र आईटी प्रोडक्ट एन्ड गेमिङ इन्डस्ट्रीलाई फाइदा हुने इकोसिस्टम इभेन्ट्समा इन्भेस्ट गर्नेछौँ।
प्रकाशित: १४ कार्तिक २०८३ १३:२१ शनिबार