म्याग्दीको मालिका गाउँपालिकाको अदिभारा-टाक्से-रुम सडकमा छ वर्षपछि यातायात सञ्चालन हुन थालेको छ।
स्थानीयले घरजग्गा धितो राखेर विसं २०७५ मा मार्ग खोलेका उक्त सडकको टाक्से खण्डमा पहिरो खसेपछि विसं २०७७ देखि बन्द भएको थियो।
रुम म्याग्दी जिल्लाको ठूलो बस्तीमध्येमा पर्ने वडा हो। रुमलाई पालिकाको केन्द्र दरवाङ बजारसँग जोड्ने यो सडकमा पछिल्लो दुई महिनायता नियमित सवारीसाधन सञ्चालन भइरहेका मालिका-२ का वडाध्यक्ष उदयकुमार बूढाथोकीले बताए।
‘मालिका गाउँपालिकाले सञ्चालन गरेको अदिभारा-टाक्से-रुम मोटरबाटो आयोजनामार्फत सडकको पहिरो रोकथाम, नयाँ मार्ग खोल्ने, ग्रेड तथा मोड सुधार गरेर छ वर्षपछि सवारीसाधन सञ्चालन हुने बनाइएको हो’, उनले भने, ‘रुमवासीलाई पालिकाको केन्द्र दरबाङ र जिल्ला सदरमुकाम बेनी आउनजानका लागि घुमाउरो सडकको यात्रा गर्नुपर्ने बाध्यता हटेको छ।’
विसं २०८१ पुस २५ गते दुई करोड ४८ लाख ८७ हजार छ सय छ मा विके कन्स्ट्रक्सनसँग सम्झौता भएको आयोजनाको ८० प्रतिशत भौतिक प्रगति भएको गाउँपालिकाले जनाएको छ।
पालिकाको पूर्वाधार शाखाका प्रमुख दीपक सापकोटाले बिलबाङ-टाक्से खण्डमा दुई दशमलव पाँच किमी नयाँ मार्ग खोल्ने, टेवा र पलम पर्खाल निर्माण, घुम्ती र ग्रेड सुधारको काम सकिएकामा ढलानको काम बाँकी रहेको वडाध्यक्ष बूढाथोकीले बताए।
विसं २०८२ असारमा सम्पन्न हुनुपर्ने आयोजनाको काम निर्माण व्यवसायीले पर्याप्त उपकरण, मजदूर परिचालन गर्न नसक्नु, प्रतिकूल भूगोललगायत कारणले एक वर्ष ढिलागरी सम्पन्न हुन लागेको हो।
योसँगै रुम, बिलवाङका बासिन्दालाई निस्कोट र औँला हुँदै घुमाउँरो सडकको यात्रा गर्नुपर्ने समस्या हटेको स्थानीयवासी प्रकाश पटेलले सुनाए।
रुमबाट जेम, बेली, औँला, स्याउलुङ हुँदै अदिभारा जोड्ने १७ किमी दूरीको घुमाउँरो सडकमा यात्रा गर्दा एक घण्टा ३० मिनेट लाग्ने गरेकामा रुम-बिलवाङ-टाक्से-अदिभारा जोड्ने नौ किमी दूरी अब ४० मिनेटमा पार गर्न सकिने उनले बताए।
सडक मर्मत भएपछि यात्राअवधि छोटिएको उनको भनाइ छ।
मालिका गाउँपालिकाका प्रवक्ता अनुप गौचनले उक्त खण्ड ठूलो बस्ती रुम र छिमेकी जिल्ला बागलुङको ताराखोला जोड्ने छोटो दूरीको भएकाले अदिभारा-टाक्से-रुम सडकलाई पालिकाले प्राथमिकता दिएको बताए।
स्थानीयको माग अनुसार टाक्से खोलामा मोटरेबल पुल निर्माण र पहिरोबाट प्रभावित जोखिमयुक्त सडकलाई सुरक्षित बनाउन पहल गरिएको उनले जानकारी दिए।
प्रकाशित: ३१ जेष्ठ २०८३ २१:४९ आइतबार



