पोखराको मध्य सहर भएर बग्दै आएको फिर्के खोला मिचेर बनाइएका संरचनामाथि डोजर लगाएलगत्तै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमा एउटा तस्बिर पोष्ट गरे। फिर्के करिडोरलाई तस्बिरमा देखाएजस्तै सुन्दर र स्वच्छ बनाउने योजना अनुसार नै डिजाइन गरेको मेयर आचार्यले उल्लेख गरेका छन्।
‘यो परिकल्पना केवल खोला संरक्षणको योजना मात्र होइन, पोखरालाई ‘हरित, स्वच्छ, आधुनिक र विश्वस्तरीय नदी–करिडोर शहर’ का रुपमा स्थापित गर्ने दूरदर्शी अभियान हो,’ उनले भनेका छन्। पोखरा महानगरपालिका– १८ अधेरिकुनादेखि सुरु भएर पोखराका २, ४, ५, ७, ८ नम्बर वडा हुँदै पोखरा–६ फेवाताल–गाईघाटसम्म फैलिएको ८ किमि लामो फिर्के खोलालाई प्राकृतिक सौन्दर्य, पर्यावरणीय सन्तुलन, पर्यटन र नागरिक जीवनशैलीसँग जोडेर नयाँ शहरी पहिचान दिने लक्ष्य राखिएको उनले बताए।
उनका अनुसार डोजर लगाएर खोलाको दायाँबायाँ ६–६ मिटर खालि गरेलगत्तै फिर्केलाई नयाँ ‘लुक्स’ दिने योजना महानगरको छ। त्यसमा एशियाली विकास बैंक (एडिबी)ले सघाउने उनले बताए। आचार्यका अनुसार २०८० मै यो प्रोजेक्ट एडिबीले स्वीकृत पनि गरिसकेको छ। तर, मिचिएको फिर्केका संरचना हटाउन समय लागेकोले सौन्दर्यकरणको काम अघि बढ्न सकेको थिएन।
‘फिर्के परियोजना पुरा गर्न ६२ करोड रुपैयाँको अनुमान गरिएको छ। दुईवर्षदेखि त्यो बजेट उपयोग भएको छैन। एडिबीले यो प्रोजेक्टका लागि सघाउने निर्णय गरिसकेको छ,’ आचार्यले भने, ‘अहिलेसम्म खोलाको दायाँबायाँ भाग खालि गर्न नसक्दा काम अघि बढ्न सकेको थिएन। तर, अब सहज हुन्छ। दुईवर्षदेखि खातामा पैसा रहेको छ।’
फिर्केको दायाँबायाँ ६–६ मिटर खालि भएपछि सौन्दर्यकरणको काम थालनी हुने उनले बताए। डेढ वर्षभित्र त्यो काम पुरा गर्नेगरि डिजाईन गरेको पनि उनले बताए। ‘एकतहको डिजाइन भएको छ। दुईवर्ष अघिको डिजाइनबारे केही ‘रिभ्यू’ भने हुनसक्छ,’ उनले भने, ‘स्थानीयले सहजै बुझेको खण्डमा फिर्के करिडोरको सौन्दर्यकरण हुनेछ। करिडोर सुन्दर बन्नु भनेको त्यहाँका बासिन्दाको जग्गाको मूल्य बढ्नु हो।’ युगौयुगको आम्दानी हामीसँग भएकोले पनि फिर्केलाई सौन्दर्यकरण गर्न जरुरी रहेको पनि उनले बताए।
विकसित मुलुकले अत्यन्त प्रदूषित र अतिक्रमित अवस्थामा पुगेको खोलालाई पूनर्जीवन दिएर विश्वकै उत्कृष्ट गन्तव्य बनाएर पर्यटकलाई भ्रमण गराएको आफुले देखेको भन्दै मेयर आचार्यले पोखराले त्यही सुन्दर दृष्य कल्पना गरेको उनले बताए। ‘दक्षिण कोरियाको सिओलमा अत्यन्त प्रदूषित र अतिक्रमित अवस्थामा पुगेको चेओङ्येचेन नदीलाई पुनर्जीवन दिई विश्वकै उत्कृष्ट नदी बनाएर दैनिक लाखौं पर्यटकलाई भ्रमण गर्ने बनाइएको छ। पोखरामा पनि फिर्के खोलालाई स्वच्छ, हराभरा र जीवन्त सार्वजनिक करिडोरका रुपमा विकास गर्ने परिकल्पना गरिएको हो,’ आचार्यले भने।
फिर्के करिडोरको मुख्य अवधारणा अनुसार फिर्के खोलाको दायाँ–बायाँ कम्तीमा ६ मिटर मापदण्ड कायम गर्दै व्यवस्थित फुटट्रेल, सुरक्षित साइकल लेन, मर्निङ तथा इभिनिङ वाकका लागि आकर्षक पदमार्ग निर्माण गरिने पनि उनले बताए। खोलाको प्राकृतिक बहाव संरक्षण गर्दै दुवै किनार हरियाली बेल्ट, रैथाने बोटबिरुवा, ढुंगे तटबन्ध, स्मार्ट एलईडी लाइटिङ तथा वातावरणमैत्री सार्वजनिक खुला क्षेत्रले सजाइने पनि आचार्यले बताए।
मेयर आचार्यका अनुसार करिडोरभित्र ठाउँ–ठाउँमा पोखरेली शैलीमा विश्राम स्थल, कफी पोइन्ट तथा खुला क्याफे, सेल्फी पोइन्ट र दृश्यावलोकन स्थल बनाइनेछ। त्यसैगरि खुलापार्क तथा बस्ने चौतारी, सांस्कृतिक तथा कलात्मक संरचना, बालमैत्री र ज्येष्ठ नागरिकमैत्री खुला क्षेत्र पनि निर्माण गरिने उनले बताएका छन्। ‘फिर्के करिडोरलाई केवल हिँड्ने बाटो होइन, जीवनशैली र मनोरञ्जनको सार्वजनिक गन्तव्य’ पनि बनाउनेछ,’ उनले भने। अहिले फिर्के निकै नै प्रदूषित छ। खोलामा जथाभावि फोहोर फ्याक्ने गरिएको छ। वर्षाको भेलले केही फोहोर बगाएपनि हिउँदमा भने दुर्गन्धित हुने गरेको छ।
‘फिर्के खोलालाई पूर्ण रुपमा फोहरमैला रहित, स्वच्छ र निरन्तर बग्ने अवस्थामार्फत पुनर्जीवन दिइनेछ। वर्षायाम बाहेक सुख्खा समयमा पनि खोलामा सफा पानीको बहाव कायम राख्न आवश्यक व्यवस्थापन गरिने,’ मेयर आचार्यले भनेका छन, ‘हिउँदको समयमा याम्दी खोलाको पानी मिसाई प्राकृतिक बहावलाई जीवन्त बनाउने अवधारणा समेत समेटिएको छ। यसले खोलामा वर्षभर पानीको बहाव कायम गर्ने तथा दुर्गन्ध र प्रदूषण नियन्त्रण गर्न पनि सघाउनेछ।’
यो परियोजना सफल भएपछि फिर्के खोला केवल पानी बग्ने खोलाको रुपमा मात्र नभई पोखरेली नागरिकको दैनिकी, विश्राम, मनोरञ्जन, स्वास्थ्य, पर्यटन र हरित भविष्यसँग जोडिएको जीवन्त सार्वजनिक सम्पत्तिका रुपमा स्थापित हुने पनि आचार्यको भनाई छ।
पोखराको मध्यभाग हुँदै पोखरा महानगरपालिकाका आठवटा वडाबाट बग्दै फेवातालमा मिसिने फिर्के खोला केही दशकअघिसम्म पिउन योग्य पानी बग्ने खोलाको रुपमा रहेको स्थानीयले बताउने गरेका छन्। ‘आज फिर्के खोला केवल जमिन अतिक्रमणको शिकार मात्र बनेको छैन, यो फोहोर विसर्जन गर्ने स्थलसमेत बनेको छ,’ मेयर आचार्यले भने। खोलाघरभित्र १६० भन्दा बढी संरचना निर्माण गरिनुका साथै खोलाको प्राकृतिक बहाव नै अवरुद्ध भएपछि वर्षायाममा फिर्के खोला बस्ती र सहरभित्र पस्ने अवस्था सिर्जना भएको थियो।
प्रकाशित: १० जेष्ठ २०८३ १६:१० आइतबार