अर्थ

धुलिखेलको सुन्डीखोलामा बन्यो पौने २ करोडको पक्की पुल

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-१० स्थित सुन्डीखोलामा १ करोड ७९ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण सम्पन्न भएको छ। पूर्वाधार विकास कार्यालय धुलिखेलमार्फत निर्माण गरिएको यो पुल १७ महिनामै सम्पन्न भएको हो।

पुल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा, यात्रु तथा सवारीसाधनको आवागमन सहज र सुरक्षित बनेको छ।

बढ्दो सवारी चापलाई मध्यनजर गर्दै निर्माण गरिएको पुलले स्थानीय कृषि उपजलाई बजारसम्म पुर्‍याउन र आर्थिक गतिविधि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने धुलिखेल नगरपालिका-१० का वडाध्यक्ष गोविन्दप्रसाद भण्डारीले बताए।

‘पुल बनेपछि गाउँमा एम्बुलेन्सलगायतका आपत्कालीन सेवा सञ्चालन गर्न निकै सहज भएको छ,’ वडाध्यक्ष भण्डारीले भने।

पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय, धुलिखेल र रोशी गाउँपालिका-२ स्थित एम/एस लामा प्रगति निर्माण सेवाबीच ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार १७ महिनाको अवधिमै निर्माण कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका लेखा प्रमुख केशव पोखरेलले जानकारी दिए।

सुन्डीखोलामा पुल बनेपछि वर्षायाममा खोला बढेर घण्टौँ रोकिनुपर्ने यात्रुहरूको सास्ती हटेको छ।

प्रकाशित: २२ कार्तिक २०८३ २०:४५ आइतबार