सुदर्शन सापकोटा, काठमाडौं फागुन ६ - डिसिबिएल बैंकका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अधिकृत सुधिर खत्री प्रहरी सोधपुछपछि छुटेका छन्। लिक्विडेसनमा गएको नेपाल विकास बैंकबारे अनुसन्धान गरिरहेको प्रहरीले खत्रीलाई पक्राउ गरेको थियो।
'दश वर्षअघि तीन महिनाका लागि काम गरेको मानिसलाई पक्राउ गर्नु राम्रो होइन,' नागरिकन्युजसँग उनले भने, 'गल्ती नगरेकालाई पक्रेर प्रतिष्ठामा आँच पुग्ने काम भएको छ।' घटनाले सबै बैंकरहरुलाई निरुत्साहित गर्ने काम भएको उनले प्रतिक्रिया दिए।
पक्राउ गर्नका लागि प्रहरीलाई पठाएको नाममध्येका एक कर्मचारी सञ्चय कोषका प्रसाशक रमेशकुमार भट्टराईले अहिलेको मुद्दामा पुराना प्रवर्द्धकलाई पक्राउ गर्नु गलत भएको प्रतिक्रिया दिएका छन्। उनी २०५६ मा सञ्चय कोषको तर्फबाट नेपाल डेभलपमेन्ट बैंकको सञ्चालक भएका थिए।
'अहिले एकदमै गलत भएको छ,' उनले नागरिकन्युजसँग भने, 'बैंक स्थापना भएदेखि अहिलेसम्मका सवै सञ्चालकलाई पक्रनका लागि पुर्जी जारी गर्नु एकदमै वेठिक हो।'
प्रकाशित: ६ फाल्गुन २०६६ ०४:३२ बिहीबार