अर्थ

विश्वको सबैभन्दा सस्तो कार नानो नेपालमा डेढ महिनापछि

ऋषिकेश दाहाल, काठमाडौं, माघ १७- संसारकै सबैभन्दा सस्तो कार नानो डेढ महिनापछि नेपाली सडकमा देखिने भएको छ। टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पहिलो पटक नेपाली सडकमा पाँचवटा नानो कुदाउने तयारी गरेको छ। एक लिटर पेट्रोलमा सहरी क्षेत्रमा २२ किलोमिटर कुद्‍ने नानोको लागि नेपाल पहिलो अन्तरार्ष्ट्रिय बजार हुनेछ।

'टाटाले नेपाललाई नानोको पहिलो अन्तर्राष्ट्रिय बजार बनाउने छ,' सिप्रदीका प्रमुख कार्यकारी अधिकृत शंभुप्रसाद दाहालले नागरिकसँग भने, 'टाटासँगको छलफलपछि नानो मध्य मार्चसम्म नेपाल भित्र्याउने कुरा तय भइसकेको छ।' टाटा मोटर्सको पाँच वर्षे योजनाका बारेमा छलफल गर्न सिप्रदीका पदाधिकारी भारत गएका थिए।

एक लिटर पेट्रोलमा सहरी क्षेत्रमा २२ किलोमिटर कुद्ने नानो नेपाली बजारमा बहुप्रतीक्षित चारपांग्रेमा पर्छ। सन् २००९ मा वर्ष कार (कार अफ दी इयर २००९) जितेको नानो चार सिटे कार हो। कम्पनीले यसलाई 'जनताको कार' नाम दिएको छ।

सन् २००८ मा तयार भएको नानोको मूल्य एक लाख भारु (एक लाख ६० हजार रुपैयाँ) भएकाले यो कार विश्वमै चर्चित बनेको थियो। दुई साताअघिमात्र यसको अमेरिकमा पनि प्रदर्शनी गरिएको थियो। कारको माग उत्पादनभन्दा बढी भएकाले भारतीय उपभोक्ताबीच चिठ्ठामार्फत् बिक्री गरिएको थियो।

नेपाली सडकमा डेढ महिनापछि सडकमा देखिए पनि कारको बुकिङ भने सुरु नगर्ने सिप्रदीले जनाएको छ। पाँचवटा कार नेपाली सडकमा छ महिना गुडेपछिमात्र बुकिङ खुल्नेछ। कम्पनीले नेपाली सडकमा यसको सबै पक्षको परीक्षण गर्न खोजेको हो। 'छ महिनामा यो गाडी हामीकहाँ कसरी चल्छ, त्यसको विस्तृत अध्ययन गरी टाटामा प्रतिवेदन दिनेछौं,' दाहालले भने, 'त्यसपछि हाम्रो आवश्यकता अनुसार सुधारिएर गाडी नेपाल भिœयाउँछौं।'

बिक्री सुरु नभए पनि कम्पनीले नानो चलाउन चाहनेका लागि निरास भने पार्ने छैन। नानो चढ्न चाहनेले आएका पाँचवटा गाडीको 'टेस्ट ड्राइभ' गर्न पाउने छन्। उनीहरुले यो फुच्चे कारको अनुभव कम्पनीलाई दिएपछि त्यो 'फिडव्याक' सिप्रदीले टाटासम्म पुर्‍याउने छ। कम्पनीका अनुसार सन् २०११ भित्र नेपाली बजारमा यसको सहज उपस्थिति हुनेछ। र, नेपाल यो कार कुदाउने पहिलो अन्तर्राष्ट्रिय बजार हुनेछ।

टाटाले नानोको पहिलो बाह्य बजार नेपाल छान्नुका पछाडि केही कारण छन्। उपभोक्ताको 'प्रोफाइल' नेपाल र भारत दुवैको उस्तै छ। छिमेकी मुलुक र समुद्री सतहदेखि अग्लोदेखि कम उचाईसम्मको भुगोलका कारण टाटा मोटर्सले नेपाललाई पहिलो बजार बनाउन चाहेको हो। त्यतिमात्र होइन, भारत र नेपालको यातायात कानुन उस्तै छन्। अर्को कारण हो, भारतमा झै मोटरसाइकलबाट कारमा जान चाहने नेपाली ठूलो वर्ग नानोको प्रतीक्षामा छ। नेपालसँगै भुटानी बजारमा समेत कार पुर्‍याउने टाटाको योजना छ।

'भारतीय बजारमा यो परीक्षण भइसकेको छ। त्यहाँको परीक्षण सफल भएकाले नेपालमा यसको परीक्षण आवश्यक छ,' दाहालले भने। उनका अनुसार कम्पनीले भारतमा पूर्ण परीक्षण भइसकेपछि मात्र कुनै पनि गाडी नेपाल भिœयाउने गर्दै आएको छ।

टाटा कम्पनीले तीनवटा श्रेणीका नानो भारतीय बजारमा उतारेको छ। सबैभन्दा सस्तो एक लाख भारुको हो। नेपाल भित्रने गाडीले सबै कर गरेर २ सय ५ प्रतिशत तिर्नुपर्छ। 'अहिलेसम्म टाटाले नानोको अन्तर्राष्ट्रिय भाउ तोकेको छैन। यसको यथार्थ मूल्य अन्तर्राष्ट्रिय मूल्य तोकेपछिमात्र थाहा हुनेछ। 'हाम्रो अनुमानमा यसको नेपाली बजार मूल्य करिब ७ लाखको हाराहामा हुनेछ।' दाहालले भने 'उपभोक्ताले नानोप्रति देखाउने प्रतिक्रिया र परल मूल्यका आधारमा नेपाली बजारमा यसको मूल्य निर्धारण हुनेछ।

भारतीय बजारमा लोकप्रियता कमाइरहेको नानोको आगामी मार्चदेखि गुजरातस्थित नयाँ प्लान्टबाट उत्पादन सुरु हुनेछ। सम्भवत यही उत्पादित कार नै २०११ मा नेपालीले चढ्ने कार हुनेछ।

नानो
इन्जिन क्षमता : ६२४ सीसी
लम्बाई : १०.१ फिट
चौडाई : ४.९ फिट
उचाई : ५.५१ फिट
स्पिड : ४ गेर
तौल : ६०० किलोग्राम

प्रकाशित: १६ माघ २०६६ १२:३० शनिबार