संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अहिले प्रयोगमा नआएका नयाँ हिमालहरुमा आरोहण खुला गर्ने बताएका छन्।
आइतबार नेपाल पर्वतारोहण संघको ३२ औं साधरण सभालाई सम्बोधन गर्दै उनले सरकारले ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमालहरुमा पर्वतारोहणको लागि अनुमति दिने तयारी गरेको बताएका हुन्।
उनले कुन–कुन हिमालहरुमा आरोहण गर्न सकिन्छ र कुन–कुन हिमालहरुमा आरोहण खुल्ला गर्दा पर्यटन आगमन बढेर त्यो क्षेत्रको जनजीवनलाई समेत लाभावित बनाउन सकिन्छ भन्ने कुराको समिक्षा गरेर हिमाल आरोहणको अनुमति दिने बताए।
मन्त्री श्रेष्ठले पर्वतारोहण सम्बन्धि अन्योलमा रहेका ऐन,कानून र नियमहरु सरकार तत्काल निराकरण गर्न तयार रहेको बताए। उनले सरकारले विगतमा एक वर्षको लागि भ्रमण वर्ष तोकेर काम गर्ने प्रचलन अन्त्य गरी अब एक वर्षको भ्रमण वर्ष भई २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गरेर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउने बताए। मन्त्री श्रेष्ठले नेपाल विश्वको पर्यटकको गन्तव्य स्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताए। उनले नेपालका हिमाल, पहाड, प्राकृतिक खालका उचाईहरुमा पर्यटन खेलकुदको विकास गर्नु आवश्यक रहेको बताए। मन्त्री श्रेष्ठले एडभान्चर खुलकुद,पर्यटन वेस खेलकुद र माउण्टेन खेलकुदका रुपमा पर्वतहरुलाई आधार बनाएर खेलहरुको विकास गर्न सके नेपाल पर्यटक गन्तव्यको रुपमा विकास हुने बताए।
मन्त्री श्रेष्ठले नेपालमा पर्यटकहरु प्राकृतिक मनोरम दृश्यहरु अवलोकनको लागि बढी आकर्षित भएर आउने गरेको बताए। उनले नेपालको पर्यटन क्षेत्रको विकास गर्न पर्यटकलाई आकर्षित गर्नसक्ने भनेको प्रकृति, शाहसीक खेल र संस्कृति नै रहेको जिकिर गरे। मन्त्री श्रेष्ठले नेपालको नेचर, एड्भान्चर र कल्चरको विकास गरी व्यवस्थित गर्नसके पर्यटकहरुको आकर्षित गर्ने माध्यम बलियो बन्ने बताए। उनले सरकार निजी क्षेत्रको सहकार्यबाट नै नेपालको पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ भन्ने मान्यताका साथ अगाडि बढेको बताए।
प्रकाशित: २९ श्रावण २०७९ ११:०३ आइतबार