अर्थ

माछापुच्छ्रे बैंकको पुलाचौरमा शाखारहीत बैंकिङ्ग सेवा

माछापुच्छ्रे बैंक लिमिटेड बेनी शाखाले बेनी नगरपालिका–५,पुलाचौरमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। आर्थिक कारोबारका लागि सदरमुकाम बेनी आउने झन्झटलाई मध्यनजर गरी स्थापना भएको ग्राहक सेवा केन्द्रमा दैनिक सेवा लिन आउने गरेका छन्।

ग्राहक सेवा केन्द्रका लागि स्थानीय व्यवसायी सरस्वती श्रेष्ठलाई व्यवसायिक प्रतिनिधी नियुक्ती गरिएको माछापुच्छ्रे बैंक लिमिटेड बेनी शाखाका सहायक शाखा प्रबन्धक सुमित सुवेदीले बताए। ‘आवश्यकता अनुसारका स्थानमा सेवा केन्द्र स्थापना गरिरहेका छौं, ‘थप सेवा केन्द्रहरुका लागि समेत अनुरोध आइरहेको छ’ सहायक प्रबन्धक सुवेदीले भने।  

ग्राहक सेवा केन्द्र सञ्चालनमा आएपछि विदेशबाट रेमिट्यान्स सेवा, बचत तथा अन्य कारोबारका लागि दैनिक ग्राहक आउन थालेको  प्रतिनिधि श्रेष्ठले बताइन्। उनले एक सातामै करिब ४० जनाले सेवा लिएको बताइन्।

ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित शाखारहीत सेवा केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भुक्तानी र कर्जाको सिफारिस गर्ने समेत व्यवस्था गरेको छ। बैंकले शाखारहित बैंकिङ्गसँगै समुदायलाई वित्तीय साक्षरता कार्यक्रमलगायत अन्य विभिन्न सामाजिक कार्यहरु समेत गर्ने प्रतिबद्धता जनाएको छ।

हालसम्म बेनी नगरपालिका–१, रत्नेचौर, तातोपानी र रघुगंगा गाउँपालिका–२ भगवतीमा सेवा केन्द्र रहेको छ। बैंकले यसअगाडी प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर, महारानीथान मन्दिर, बेनी शिवालय मन्दिर, दुर्गा भगवती मन्दिरमा भेटी र दक्षिणालाई डिजिटल प्रविधिमार्फत् व्यवस्थापन गर्न तथा अत्याधुनिक बैंकिङ सेवाका प्रयोगकर्तालाई सहज हुने गरी क्यूआर कोड राखेको थियो।

प्रकाशित: १२ श्रावण २०७९ ०९:५७ बिहीबार

बेनी नगरपालिका माछापुच्छ्रे बैंक लिमिटेड