अर्थ

बाँकेका संघीय कार्यालयको ८६ प्रतिशत विकास बजेट खर्च

नेपालगन्जस्थित कोष तथा लेखा नियन्त्रणको कार्यालय । तस्बिर: अर्जुन ओली/नागरिक

बाँकेमा रहेका सङ्घीय कार्यालयले ८६ प्रतिशत विकास बजेट (पुँजीगत) खर्च गरेको पाइएको छ । नेपालगन्जस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म ती कार्यालयले उक्त बजेट खर्च गरेका हुन् ।

सङ्घीय कार्यालयले पुँजीगत तर्फ ८ अर्ब १२ करोड ८८ लाख ९२ हजार ३ सय ६१ रुपैयाँ खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख कोष नियन्त्रक मोहन शरण भण्डारीका अनुसार ती कार्यालयले ९ अर्ब ४९ करोड २२ लाख ४६ हजार ५ सय रुपैयाँ अख्तियारी पाएका थिए ।

यस्तै चालूतर्फ १२ अर्ब ५६ करोड २७ लाख ६३ हजार २ सय ४१ रुपैयाँ अख्तियारी पाएकोमा ११ अर्ब ७६ करोड ५४ लाख ४७ हजार ९ सय ३७ रुपैयाँ  ५६ पैसा अर्थात ९४ प्रतिशत रकम खर्च गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा पुँजीगततर्फ ५ अर्ब ३१ करोड ३४ लाख ६४ हजार ९ सय ६९ रुपैयाँ अर्थात ८७ प्रतिशत र चालुतर्फ ११ अर्ब ३५ करोड ९८ लाख ३८ हजार ६ सय २१ रुपैयाँ अर्थात ९४ प्रतिशत बजेट खर्च भएको छ ।

बाँकेमा रहेका सङ्घीय कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा पुँजीगत र चालूतर्फ गरी समग्र रुपमा २२ अर्ब ५ करोड ५० लाख ९ हजार ७ सय ४१ रुपैयाँ अख्तियारी पाएकोमा १९ अर्ब ८९ करोड ४३ लाख ४० हजार २ सय ९८ रुपैयाँ ६२ पैसा अर्थात ९० प्रतिशत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख कोष नियन्त्रक भण्डारीले जानकारी दिएका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा पुँजीगत र चालुतर्फ गरी १६ अर्ब ६७ करोड ३३ लाख ३ हजार ५ सय ९० रुपैयाँ अर्थात ९१ प्रतिशत बजेट खर्च भएको तथ्याङ्कमा उल्लेख छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जका सूचना अधिकारी(कोष नियन्त्रक) नारायण लम्सालका अनुसार सङ्घीय कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा २७ अर्ब ९० करोड ७५ लाख २७ हजार ३ सय ४२ रुपैयाँ ९२ पैसा राजश्व संकलन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा २५ अर्ब २ करोड १० लाख १८ हजार ५ सय २० रुपैयाँ ४७ पैसा र आर्थिक वर्ष २०७९/८० मा २४ अर्ब ५९ करोड २६ लाख ६९ हजार १ सय ३० रुपैयाँ १५ पैसा राजश्व संकलन भएको थियो । 

सबैभन्दा बढी बजेट खर्च गर्ने सङ्घीय कार्यालय

सङ्घीय कार्यालयतर्फ सबैभन्दा बढी हुलाकी सडक आयोजनाले बजेट खर्च गरेको देखिएको छ । उक्त आयोजनाले २ अर्ब ९७ करोड ६३ लाख १४ हजार बजेटको अख्तियारी पाएकोमा २ अर्ब ८९ करोड ५३ लाख ६९ हजार ५ सय ४९ रुपैयाँ अर्थात् ९७ प्रतिशत बजेट खर्च गरेको छ । उक्त कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा शत प्रतिशत बजेट खर्च गरेको थियो ।

यस्तै पुल योजना पश्चिम सेक्टर कार्यालयले १ अर्ब ५१ करोड ३६ लाख ९९ हजार अख्तियारी पाएकोमा १ अर्ब ४० करोड ८४ लाख ९१ हजार ९ सय ८२ रुपैयाँ (९३ प्रतिशत) खर्च भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा उक्त कार्यालयले ९९ प्रतिशत बजेट खर्च गरेको थियो ।

यसैगरी सिक्टा सिँचाइ आयोजनाले १ अर्ब ५५ करोड ९८ लाख ३३ हजार अख्तियारी पाएकोमा १ अर्ब ३९ करोड १८ लाख ३९ हजार ६३(८९ प्रतिशत) खर्च गरेको पाइएको छ । आयोजना कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा शत प्रतिशत बजेट खर्च गरेको थियो । त्यस्तै डिभिजन सडक कार्यालयले १ अर्ब १ करोड ६४ लाख ५८ हजार अख्तियारी पाएकोमा ६३ करोड ७७ लाख १७ हजार ९ सय ७८ रुपैयाँ(६३ प्रतिशत) खर्च गरेको छ । यसअघि आर्थिक वर्ष २०८०/०८१ डिभिजन सडकले ८९ प्रतिशत बजेट खर्च गरेको थियो ।

सङ्घीय आयोजना कार्यान्वयन इकाईले ८६ करोड ४७ लाख ३६ हजार ५ सय रुपैयाँ अख्तियारी पाएकोमा ३९ करोड ३८ लाख ५३ हजार ६ सय ९० रुपैयाँ(४६ प्रतिशत) बजेट खर्च गरेको पाइएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा उक्त कार्यालयले ३९ प्रतिशत मात्र बजेट खर्च गरेको थियो ।

त्यसैगरी सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले ६६ करोड ९७ लाख १० हजार रुपैयाँ अख्तियारी पाएकोमा ६५ करोड ४४ लाख ६० हजार ७ सय ४५ रुपैयाँ (९८) प्रतिशत बजेट खर्च गरेको छ । यसअघि आ.व. २०८०/०८१ मा उक्त कार्यालयले ९४ प्रतिशत रकम खर्च गरेको थियो । 

प्रकाशित: ४ श्रावण २०८२ १८:४७ आइतबार

#NagarikNews