व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी) का कार्यकारी निर्देशक शरदविक्रम राणाले कलात्मक सहर भक्तपुरले निर्यातको सम्भावना धेरै बोकेको बताएका छन्। आयातालाई घटाई निर्यात बढाउनुपर्नेमा विशेष ध्यान आकर्षित गर्दै उनले भक्तपुरबाट धेरै सामानहरु विदेश निर्यात गर्न सकिने बताए।
भक्तपुर चेम्बरको आयोजनामा मंगलबारदेखि भक्तपुरमा सुरु भएको चारदिने तालिम उद्घाटन गर्दै उनले कलात्मक सहर भक्तपुरका संसारमै प्रख्यात र लोकप्रिय सामान उत्पादन हुने भएकाले यसको निर्याततर्फ ध्यान दिनुपर्ने बताए। निर्यातलाई बढाई आयातलाई प्रतिस्थापन गर्नेतर्फ सबैका ध्यान जानु आवश्यक भएको उनले बताए। अहिलेको अवस्थामा निर्यात भन्दा अयात १० गुणाले बढीरहेको भन्दै उनले यसप्रति चिन्ता व्यक्त गरे।
भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी)को संयुक्त आयोजनामा सम्भावित अन्तर्राष्ट्रिय बजार पहुँच सम्बन्धी चार दिने तालिम उद्घाटन कार्यक्रममा आयोजक भक्तपुर चेम्वरका अध्यक्ष न्हुछेरत्न मानन्धरले यही मनसायले तालिम सञ्चालन गरेको स्पष्ट पारे। जिल्लामा बसेर आयात निर्यातमा काम गरिरहेका व्यापार, व्यवसायीलाई लक्षित गरी तालिम सञ्चालन गरिएको उनले जनाए। उनका अनुसार यस्तो प्रकारको तालिम यो नै जिल्लामा पहिलो हो।
तालिममा विभिन्न क्षेत्रका आयात निर्यातसंग सम्बन्धित २५ व्यवसायीहरु सहभागी रहेको जनाइएको छ। तालिम असार ३ गतेसम्म सञ्चालन हुने छ।
प्रकाशित: ३१ जेष्ठ २०७९ १३:१३ मंगलबार