नेपालबाट भारत हुँदै बंगलादेशसम्म हुने गाईको तस्करीमा व्यापक जालझेल हुने गरेको पाइएको छ। शनिबार बिहान ३ बजेतिर सशस्त्र प्रहरीले समातेको तस्करीको गाई अन्ततः फेरि तस्करकै हातमा पुगेको घटनाले गाई तस्करहरुको जालझेल छताछुल्ल भएको हो।
रौतहटको दुधियाभारमा रहेको सशस्त्र प्रहरी बलले शनिबार बिहान ३ बजे भारततर्फ तस्करी हुन लागेको अवस्थामा समातेको १७ ओटा गाई र बाच्छा सरकारी प्रक्रिया पूरा गरी अन्ततः तस्करकै हातमा पुगेको छ।
पहाडको विभिन्न ठाउँबाट किनेर संकलन गरी भारततर्फ लैजानको लागि प्रदेश २–०३–०००१ ख १४८७ नम्बरको गाडीमा लगिरहेको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको थियो। सशस्त्र प्रहरी बलले आवश्यक कारबाहीको लागि गाईलाई गौर भन्सारमा बुझाउँदा १७ ओटा गाईलाई ३५ हजार पाँच सय रूपैयाँमा निलाम गरेको छ।
सशस्त्र प्रहरी बलले १७ ओटा पशुधनको मूल्यांकन नै जम्मा ३४ हजारको गरेर पठाएको र सोही मूल्यमा भन्सार कार्यालयले डाँक बढाबढ गर्दा पशुधनलाई ३५ हजार पाँच सय रूपैयाँमा बिक्री भएको हो।
गौर भन्सारमा सिन्डिकेट चलाउनेहरुले सक्रिय भएर गाई र बाच्छोको निलामी सकार गरी पुनः तस्करकै हातमा पुर्याइएको हो।
१७ ओटा पशुधनको ३४ हजार मूल्यांकन गरिनु तथा ३५ हजार पाँच सयमा डाँक बढाबढ हुनुले तस्करीदेखि डाँक बढाबढसम्म मिलेमतो हुने गरेको गुनासो जिल्लामा व्याप्त छ।
प्रकाशित: २८ जेष्ठ २०७९ १४:२६ शनिबार