अर्थ

चालु आर्थिक वर्षमा खानेपानी विभागको ८० प्रतिशत वित्तीय प्रगति

गत आर्थिक वर्षको तुलनामा खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक वर्षमा करिब ८० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा विभागको वित्तीय प्रगति ६३ प्रतिशत मात्र रहेकोमा यही असार २५ गतेसम्मको अद्यावधिक विवरणअनुसार विभागले चालु आर्थिक वर्षमा करिब ८० प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए।

उनले भने, “यो विभाग सहित मन्त्रालयका लागि नै ठूलो उपलब्धि हो, देशभर रहेका २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयहरूमध्ये म्याग्दी, इलाम र जुम्लाले उल्लेखनीय प्रगति गरेका छन् ।”

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको देशभरका २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय मध्ये म्याग्दी, इलाम र जुम्लाले उच्च प्रगति हासिल गरेका विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिए।

उनले भने, “विभागले अघिल्लो आर्थिक वर्षमा ६३ प्रतिशत प्रगति गरेकोमा यो चालु आर्थिक वर्षमा करिब ८० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । निकै ठूलो उपलब्धि र प्रगति पनि हो । जसमा म्याग्दी, इलाम र जुम्लाले उच्च प्रगति हासिल गरेका छन् ।”

प्रगति विवरण अनुसार म्याग्दीले सबैभन्दा उच्च ९५ दशमलव १४ प्रतिशत उपलब्धि हासिल गरेको छ भने इलामले ९३ दशमलव ३० प्रतिशत र जुम्लाले ९१ दशमलव ३६ प्रतिशत प्रगति हासिल गरेका छन् ।

त्यसैगरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय रामेछापले ९१ दशमलव २३ प्रतिशत र अर्घाखाँचीले ९० दशमलव ५३ प्रतिशत प्रगति हासिल गरेका जनाइएको छ ।

८० प्रतिशत भन्दा माथि प्रगति गर्ने अन्य कार्यालयहरूमा नेपालगन्ज, बिराटनगर, खोटाङ, पोखरा, कञ्चनपुर र वीरगन्ज रहेका छन् । धनकुटा, बुटवल र हेटौँडाको प्रगति क्रमश: ७७ दशमलव ५५ प्रतिशत, ७६ दशमलव ६१ प्रतिशत र ७२ दशमलव ५२ प्रतिशत रहेको छ । तर, केही कार्यालयहरूको प्रगति कम देखिएको छ ।

कैलाली, लमजुङ, भक्तपुर, चितवन, सुर्खेत र जनकपुरले ७० प्रतिशतभन्दा कम प्रगति गरेका विभागले जनाएको छ । विशेष गरी जनकपुरले ४६ दशमलव ३९ प्रतिशत मात्र प्रगति गर्न सकेको छ, जुन सबैभन्दा न्यून हो ।

प्रकाशित: २६ असार २०८२ १६:५० बिहीबार

#NagarikNews