अर्थ

नेपाल विकास बैंक खारेज गर्न लिक्विडेटर नियुक्तिको आदेश

काठमाडौं, पुस २ (नागरिक)- पुनरावेदन अदालत पाटनले बिहीबार नेपाल विकास बैंक खारजीको लागि लिक्वीडेटरको नियुक्ति गर्ने आदेश दिएको छ। अदालतले लिक्वीडेटरमा चार्टर्ड एकाउन्टेण्ट नारायण बजाजलाई नियुक्त गरी काम शुरु गरेको तीन महिनाभित्र कार्य सम्पन्न गर्न भनेको छ। जेठमा राष्ट्र बैंक सञ्चालक समितिले विकास बैंक टाट पल्टेकोले विघटन गर्ने निर्णय गरेको थियो।

यस अघि बैंकको दामासाहीको प्रक्रिया शुरु गरी जाँचबुझ अधिकारी नियुक्त गर्ने कार्य अगाडि बढाइएको थियो।

त्यसअघि राष्ट्र बैंकले बैंकको संरक्षक उत्तम पुनलाई बैंक किन बिघटन नगर्ने भनी स्पष्टीकरण लिएको थियो। स्पष्टीकरणबाट चित्तबुझ्दो जवाफ नआएपछि बैंकलाई बिघटनमा लैजाने निष्कर्षमा राष्ट्र बैंक पुगेको थियो।

नेपाल विकास बैंक बन्द गर्ने राष्ट्र बैंकको निर्णयले बैंकमा लगानी गर्दा पैसा डुब्दैन भन्ने आमधारणा गलत सावित भएको थियो।
नेपाल विकास बैंकको स्थिति अध्ययन गर्न गठित जाँचबुझ समितिले बैंक सञ्चालन गर्न दिनुपर्ने सुझावसहितको प्रतिवेदन पुनरावेदन अदालतमा बुझाएको थियो। यसअघि अदालतले बैंकलाई खारेजीमा लग्नुपर्ने/नपर्ने विषयमा सुझाव दिन उपाध्यायलाई तोकेको थियो। त्यसपछि उनले बैंक सञ्चालनका लागि इच्छुक समूहका प्रस्ताव अध्ययन गरेका थिए।

खारेजीमा लग्न पुनरावेदन अदालत पाटनमा राष्ट्र बैंकले निवेदन दिएको बैंक सञ्चालनका लागि दुई समूहको प्रस्ताव परेको थियो। त्यसका लागि बैंक ग्यारेन्टी सहितको प्रस्ताव उपाध्यायले मागेका थिए।

बैंक सञ्चालनका लागि अधिकासमक्ष निम्वस र बद्री भट्टराई समूहको आवेदन परेको थियो।

प्रकाशित: २ पुस २०६६ ०५:२६ बिहीबार