विश्व बैंकको आर्थिक सहयोगमा सरकारले बोयर बाख्रा ल्याउन लागेको हो। मन्त्रालयका अनुसार ५० पाठापाठी पनि ल्याइसकिएको छ। अस्ट्रेलियाबाट एउटाको दुई हजार एक सय ५० डलर तिरेर बाख्रा आयात गरेको र तिनलाई चिकित्सकको निगरानीमा खुमलटारस्थित कृषि अनुसन्धान परिषद (नार्क) मा राखिएको उनको भनाइ छ।
‘१५ दिन निगरानीपछि नेपालगन्ज, बन्दीपुर र कैलालीको बुढीतौलस्थित सरकारी फार्ममा पठाउँछौं,' ठाकुरले भने, ‘यहाँको वातावरण अनुकूलन बनाउन अहिले समय खुमलटार राखिएको हो,।'
बोका र बाख्रालाई नेपालको हावापानीअनुसार हुर्कन सिकाउने उद्देश्यले चिकित्सकको निगरानीमा राखिएको हो। मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले नेपालको हावापानीअनुसार घुलमिल हुन थालेपछि र बाख्रा प्रजननयोग्य भएपछि बोकाको संसर्गबाट गर्भाधान गराइने जानकारी दिए। सापकोटाका अनुसार खोप लगाएर भए पनि तिनीहरूलाई नेपालको हावापानीमा घुलमिल हुने अवस्था सिर्जना गरिनेछ।
सरकारले सुदूर तथा मध्यपश्चिमका १२ जिल्लालाई केन्द्रमा राखेर बाख्रा आयात गरेको हो। सरकारको खाद्य सुरक्षा कार्यक्रमअन्तर्गत बाख्रा आयात गरिएको हो। आयातित बाख्राको तौल ३५ देखि ४५ केजीसम्म हुने मन्त्रालयले बताएको छ।
सुर्खेत, दैलेख र डोटीमा प्रजनन केन्द्र बनाउने तयारी गरेको ठाकुरले बताए। उनका अनुसार सुर्खेतमा १० र दैलेख र डोटीमा ८/८ वटा बाख्रा पठाइने छ। सरकारले अस्ट्रेलियाबाट ल्याएलगत्तै बोका–पाठीलाई नेपाली हावापानीमा चाँडै घुलमिल गराउन नार्कको निगरानीमा राखेको छ। प्रजननयोग्य भएपछि तीनवटै केन्द्रमा राखिएका पाठापाठीबीच संसर्ग गराई नयाँ पाठापाठी जन्माइनेछन्। स्थानीय कृषि समूहलाई पाठी दिइनेछ भने बोका फार्ममा राखिनेछ। पाठी स्थानीय जातको बोकाबाट गर्भधान भए पनि ब्याएपछि माउको जस्तै धेरै दूध दिने क्षमताको हुने मन्त्रालयले बताएको छ।
यी बाख्राको दूध बालबच्चा र महिलालाई खुवाउने उद्देश्य राखिएको सहप्रवक्ता सापकोटाले बताए। उनका अनुसार बोयर जातको बाख्राले एक बेतमा ९ सयदेखि १६ सय लिटरसम्म दूध दिन्छ। ‘अस्ट्रेलियाबाट आयातित बाख्रा ब्याएपछि पाठापाठीलाई खुवाएर पनि एक बेतमा ९ सयदेखि १६ सय लिटरसम्म दूध दिन सक्छन्,' सापकोटाले नागरिकसँग भने।
यी बाख्राको दूध पोषणयुक्त खानेकुरा कम भएका गाविसका बालबालिका महिलालाई उपलब्ध गराउने सरकारको तयारी छ। बाख्राको दूध धेरै पोषिलो हुने सापकोटाले बताए। ‘अस्ट्रेलियन बाख्राको दूध बच्चा र आमालाई खुवाउँदा धेरै राम्रो हुने पाइएको छ,' उनले भने। मन्त्रालयले ‘अस्ट्रेलियन डेरी गोट एसोसिएसन'मार्फत यी पाठापाठी ल्याएको हो।
मन्त्रालयमातहतको कृषि तथा खाद्य सुरक्षा आयोजनाले बोका तथा पाठीको रेखदेख र वितरण गर्नेछ। आयोजनाले नै साना किसान समूह छनोट गरी अस्ट्रेलियन बाख्राबाट जन्मिएका पाठी किसानलाई दिनेछ। ‘नयाँ पाठीले पनि प्रजननपछि स्थानीयको तुलनामा धेरै दूध दिन्छन्,' ठाकुरले भने।
प्रकाशित: ७ माघ २०७१ २१:१३ बुधबार