अर्थ

माछामा नेपाल आत्मनिर्भर हुँदै

काठमाडौं-धेरैजसो कृषिजन्य वस्तुमा नेपाल परनिर्भर बन्दै गए पनि स्वदशी माछाले बजारको ८० प्रतिशत हिस्सा ओगटेको एक अध्ययनले देखाएको छ।
मत्स्य विकास निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको मत्स्य अनुसन्धान महाशाखा र नेपाल मत्स्य व्यवसायी संघले गरेको अध्ययनले यस्तो देखाएको हो।
एक वर्ष लगाएर गरिएको अध्ययन प्रतिवेदनमा नेपालमा ६४ हजार नौ सय टन माछा उत्पादन भएको उल्लेख छ। आर्थिक वर्ष २०७०/०७१ मा विदेशबाट १५ हजार टन माछा आयात भएको तथ्यांक छ।अघिल्लो वर्षको तुलनामा यो पाँच हजार टन बढी हो। आर्थिक वर्ष २०६९/०७० मा १० हजार टन आयात थियो। 
मत्स्य व्यवसायी संघका अध्यक्ष तुलसीराज गिरीले स्वदेशी माछाको माग र खपत बढेसँगै आत्मनिर्भर हुने अवस्था आएको बताए। 'नेपालमा वार्षिक उत्पादन र खपत बढेको छ,' उनले नागरिकसँग भने, 'आयातित माछाको तुलनामा स्वदेशी स्वादिलो हुनाले पनि उत्पादन र खपत बढेको हो।' 
मत्स्य विकास निर्देशनालयका निर्देशक रामानन्द मिश्रले आगामी आर्थिक वर्षभित्र बाँकी २० प्रतिशत माग धान्ने गरी उत्पादन बढाउने बताए। 'अहिले ८० प्रतिशत बजार हिस्सा स्वदेशी माछाले ओगटेको छ,' उनले भने, 'बाँकी २० प्रतिशत सकेसम्म यसै वर्ष नभए आगामी वर्षभित्र पूरा गछर्ौं।' 
व्यवसायी तथा सरकार मिलेर गरेको अध्ययनअनुसार २०६३/०६४ मा स्वदेशमा ४६ हजार ७ सय ७९ टन माछा उत्पादन भएको थियो। त्यसको सात वर्षपछि २०७०/०७१ मा ६४ हजार ९ सय टन पुगेको छ। 
अध्ययनअनुसार ८ हजार २० हेक्टर क्षेत्रफलमा पोखरी बनाएर माछा पालिएको छ। पोखरीबाट गत वर्ष ३७ हजार ४ सय ५३ टन उत्पादन भएको थियो। सय हेक्टर धानखेतबाट ४५ टन उत्पादन गरिएको थियो। 'धानसँगै माछापालन गर्दा ४५ टन माछा उत्पादन भयो,' अध्ययनमा भनिएको छ। 
२७ सय हेक्टर क्षेत्रफलमा घोल बनाइ मत्स्यपालन गरिएको छ। यसबाट वार्षिक ५ हजार २ सय २० टन उत्पादन भएको छ। इन्क्लोजरबाट १ सय ४० टन, केजबाट ३ सय ५० टन र रेसवेमा ट्राउट कल्चरबाट एक सय ९२ टन उत्पादन भएको अध्ययनले देखाएको छ। 
त्यसैगरी, प्राकृतिक जलाशय व्यवस्थापनबाट २१ हजार ५ सय टन उत्पादन भएको छ। जलाशयतर्फ नदीबाट ७ हजार एक सय १०, तालबाट ८ सय ८५, रिजरभ्वायरबाट ३ सय ५०, घोलबाट ५ हजार ९ सय ९०, लो ल्यान्ड सिँचित धानखेतबाट ७ हजार एक सय ६५ टन उत्पादन भएको छ। 
मत्स्य बिज उत्पादनतर्फ गत आर्थिक वर्ष ३२ करोड ७७ लाखवटा उत्पादन भएको छ। त्यसमा सरकारी क्षेत्रबाट ३ करोड ६ लाख, ह्याच्लिङबाट १५ करोड ७४ लाख, फ्राइबाट एक करोड ४६ लाख, फिंगरलिङबाट ८ लाख र निजी क्षेत्र (फ्राई) ११ करोड ७८ लाख १७ हजार वटा बिज उत्पादन भएको हो।

प्रकाशित: ३ माघ २०७१ २२:५० शनिबार