महंगो रकम खर्चने पाहुना लक्षित गर्दै पोखरामा बगैंचा रिसोर्ट एण्ड स्पा संचालनमा ल्याइएको छ। अंशुभरा समुहले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा यो रिसोर्ट संचालनमा ल्याएको हो।
अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक तथा रिसोर्ट संचालक सौगात थापाका अनुसार साढे ४ रोपनी क्षेत्रफलभित्र रिसोर्ट बनेको छ। थापाले बगैंचा रिसोर्टलाई सहरभित्रको हरित विश्रामस्थलको रुपमा विकास गर्न खोजिएको बताए। ‘रिसोर्ट निर्माणमा प्रयोग गरिएका हरेक सामाग्री, संरचना र सेवाले पाहुनालाई प्रकृतिसँग निकट ल्याउनेछ,’ उनले भने,, ‘प्रकृतिसँग सामिप्यता ल्याउनेगरि रिसोर्ट संचालन गरिएको हो। यहाँ बसेका पाहुनाले प्रकृतिसँग निकट बनाउन सक्नेछन।’
बगैंचा विचार, विश्राम र पुनर्जागरणको समिश्रण भएको भनाई उनको छ। अंशुुभरा ग्रुपले हस्पिटालिटी, रियल स्टेट, व्यावसायिक मल, अटोमोबाइल र कृषि क्षेत्रमा लगानी गरेको छ। अहिले संचालनमा आएको रिसोर्टमा करिब ७० करोड रुपैयाँ लगानी भएको उनले बताए। ‘हामी पर्यटन क्षेत्रमा पहिलेदेखि नै प्रवेश गरेका थियौं। त्यसैको निरन्तरतास्वरुप नयाँ रिसोर्ट थपिएको हो,’ उनले भने।
थापाका अनुसार बगैंचा रिसोर्ट एण्ड स्पामा बस्ने पाहुनाले प्रतिकोठाको प्रतिरात १ सय ५० देखि ३ सय ५० अमेरिकी डलरसम्म मुल्य तिर्नुपर्नेछ। रिसोर्टमा ३२ वटा कोठा छन। स्ट्यान्डर्ड, एक्जिक्यूटिभ, आर्बर सुइट, बगैँचा सुइट रहेको उनले बताए। ती सबै कोठाबाट हरियाली दृश्यको अनुभव लिन सकिन्छ।
‘आन्तरिक वा बाह्य जसले महंगो रकम खर्चन सक्छन, तिनै पर्यटकलाई लक्षित गरेर रिसोर्ट संचालनमा ल्याएका हौ,’ उनले भने, ‘गुणस्तरीय पाहुना भित्र्याउन यस्ता पूर्वाधार सघाउँछन। पोखरालाई उत्कृष्ट गन्तव्य बनाउन पनि यस्ता पूर्वाधार आवश्यक छ।’
रिसोर्टभित्र रहेको ‘टारो पूलसाइड बार’ र ‘मरिच इन्डो–चाइनीज रेष्टुरेण्ट’ तथा ‘उमामी प्यान–एशियन रेष्टुरेण्ट’ ले स्वादमा समेत बहुर्राष्ट्रिय विविधता ल्याउने उनले बताए। रिसोर्टमा प्रयोग गरिने खाद्य सामाग्री रिसोर्टकै अर्गानिक फार्ममा उत्पादन गरिने पनि थापाले जानकारी दिए।
थापाका अनुसार बगैंचाको अर्को विशेषता भनेको यसको शून्य प्लास्टिक नीति हो। काठ, ढुंगा, हस्तकला र महिला उद्यमीको उत्पादनलाई यहाँ प्राथमिकता दिइएको छ। एकल महिलाद्वारा निर्मित सामग्री, राउटे समुदायले बनाएका परम्परागत भाँडाकुँडाको प्रयोगले रिसोर्टलाई सांस्कृतिक संरक्षणको जीवित थलो बनाएको पनि उनले बताए। रिसोर्टमा जलवायु सचेतना अनुरुप वर्षातको पानी संकलन, विद्युतीय सवारीसाधनको प्रयोग र स्थानीय जैविक विविधताको संरक्षण गरिएको पनि उनले बताए।
रिसोर्टको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उद्घाटन गरिन। रिसोर्ट उद्घाटन गर्दै उनले दीगो पर्यटन, स्थानीय उत्पादनको प्रयोग र सामाजिक उत्तरदायित्वमा आधारित उद्यम देशको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने बताईन। उनले पछिल्लो पुस्ताले व्यावसायमा देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउँदै देशमै अवसर र सम्भावनाको खोज गर्न आग्रह पनि गरिन्।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बगैंचा रिर्सोट एण्ड स्पामा भएको लगानीले पोखराको पर्यटन, रोजगारी र स्थानीय उत्पादनमा बहुआयामिक योगदान दिने विश्वास व्यक्त गरे।
अंशुवरा ग्रुपका अध्यक्ष समेत रहेका गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बगैंचालाई व्यावसायिक सफलताको मात्र होइन, सामाजिक उत्तरदायित्व र वातावरणीय संरक्षणको दृष्टिकोणबाट अघि बढाएको उल्लेख गरे।
उनले पोखराको पर्यटनको दीर्घकालीन विकासका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र कोरला नाकाको प्रभावकारी सञ्चालन अपरिहार्य भएको बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत, चीनलगायत देशमा सिधा उडानको संजाल बिस्तार गर्न संघीय सरकारले सघाउनुपर्ने अध्यक्ष थापाले बताए।
प्रकाशित: १४ श्रावण २०८२ १८:२७ बुधबार