अर्थ

आँपको मूल्य दोब्बर बढ्यो

लहान—आँपको राजधानी मानिने सिरहामा गत वर्षभन्दा यो वर्ष आँपको मूल्य दोब्बरले वृद्धि भएको छ। मधुवा रोग र हावाहुरीले आँपको उत्पादन ७० प्रतिशतको हाराहारीमा कमी हुने भएपछि गत वर्षभन्दा यो वर्ष आँपको मूल्य दोब्बरले बढेको जिल्ला कृषि कार्यालय सिरहाका प्रमुख प्रदीप ठाकुरले जानकारी दिए।


सो कार्यालयले यो वर्ष प्रतिहेक्टर १७ मेट्रिक टन आँप फल्ने अनुमान गरेको थियो। ठाकुरका अनुसार गत वर्ष सिरहामा प्रतिहेक्टर साढे सात मेट्रिक टन आँप उत्पादन भएको थियो। पछिल्लो वर्ष रु ३० प्रतिकिलो बिक्री भएको बम्बई, मालदह, किसनभोग जातका आँप अहिले स्थानीय बजारमा रु ६० देखि रु ७० मा बिक्री भइरहेका छन्।

जेठको दोस्रो सातादेखि बम्बई जातको आँपमात्र पाक्न सुरु भए पनि व्यापारीले बढी मुनाफा कमाउन पाक्ने समय नहुँदै मालदह, किसनभोग, आम्रपाली, दसहरी जातका आँपमा स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिने कारवाइड हालेर पकाउने र बजारमा बिक्री गर्ने गरेका छन्।

त्यस्तो रासायनिक पदार्थ हालेर पकाएको आँप खाँदा उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर पर्ने लहान अस्पतालका चिकित्सक डा मिश्रीलाल साहले बताए।

सिरहामा पाँच हजार ५०० हेक्टर जमिनमा आँपको बगैँचा रहेको जिल्ला कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यसमध्ये चार हजार ७०० हेक्टरमा फल दिने रुख रहेको छ भने बाँकी साना बिरुवा छन्।

सिरहाको आँप काठमाडौँ, पोखरा, वीरगन्ज, विराटनगर, धरानलगायतका सहर र भारतीय बजारमा समेत जाने आँप व्यवसायीहरू बताउँछन् । आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने र सुक्खा जमिन भएकाले अत्यधिक किसान व्यावसायिक आँपखेतीतर्फ आकर्षित भएका छन्।

कृषि विकास कार्यालयले सिरहाको रामनगर मिर्चैयादेखि लहानसम्म पूर्व–पश्चिम सडकदेखि उत्तरतिरका रामनगर मिर्चैया, फूलबरिया, चन्द्रलालपुर, चन्द्रअयोध्यापुर, जमदह, मुकसार, विष्णुपुरकट्टी, बस्तीपुर, गोविन्दपुर, तरेगना गोविन्दपुर गाविसलाई आँपको पकेट क्षेत्र मानेको छ । रासस

प्रकाशित: २७ जेष्ठ २०७१ ०७:५१ मंगलबार