अर्थ

क्यापिटलका कर्मचारी र ऋणीलाई कैद फैसला

काठमाडौं– पुनरावेदन अदालत पाटनको वाणिज्य इजलाशले क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको ६ अर्ब ऋण दुरुपयोग गरेको अभियोगमा कर्मचारी, ऋणी र अन्य गरी ६१ जनालाई दोषी ठहर गरेको छ।
न्यायाधीश भीमबहादुर बोहरा र बाबुराम रेग्मीको इजलाशले ऋणीले कमसल धितो राखी ऋण लिएर बैंकलाई भुक्तानी नगरेकोमा उनीहरूलाई दोषी ठहर गरेको हो।
पुनरावेदनले फाइनान्ससँग रकम लिई नतिरेर हानि–नोक्सानी पुर्‍याएको भन्दै ४९ जना ऋणीलाई दोषी ठहर गर्दै नोक्सान भएको रकम बराबर बिगो असुल र सोही बराबर जरिवाना हुने फैसला गरेको छ। राष्ट्र बैंकको जाहेरीमा पुनरावेदनमा दर्ता भएको ५० थान मुद्दामा फैसला गर्दै वाणिज्य इजलाशले लगानी भएको रकम बराबर बिगो र सोही बराबर जरिवाना हुने निर्णय सुनाएको हो। अदालतले उनीहरूलाई बैंकिङ कसुर ऐनअन्तर्गत जनही तीन–तीन वर्ष कैद हुनेसमेत फैसला गरेको छ।
हरिहर खड्का, हरिप्रसाद आचार्य, रघु कार्की, राजेश केसी, किरणकेशर नेपाल, साजन थापा, प्राणनाथ आचार्य, जयन्ती केसी, अनिल थापा, राजेश थापा, रामभक्त थापा, मदनबहादुर कार्की, कृष्णहरि केसी, केदारबहादुर केसी, जनकप्रसाद तिमल्सिना, विजयबहादुर भट्टराईलाई दोषी ठहर गरेको हो। यस्तै, निरशंकर श्रेष्ठ, प्रेक्षा शर्मा प्रकाशराज खत्री, सविता कार्की, तुलसीकुमारी धमला, श्रीकृष्ण अधिकारी, शान्ति केसी, मधुकर महत, मन्दिरा केसी, भाइकृष्ण खड्का, विमल खड्का, प्रकाश केसी, रामेश्वर थापा, आनन्द थापा, अरुणकुमार मरहठा, सुलोचना थापा, भरतप्रसाद शर्मा, पुष्करराज खड्का, शर्मिला केसी, राजेन्द्र थापा, पूर्णबहादुर केसी र नवराज खड्काले पनि सजाय भोग्नुपर्ने भएको छ।
पुनरावेदनले खराब ऋण लगानीमा तत्कालीन कम्पनीका सिइओ शिवराज जोशीलगायतसहित कर्मचारीहरू मनोज खनाल, पवन कार्की, शम्भु केसी र दीपक शर्माको मिलेमतो रहेको ठहर गर्दै उनीहरूलाई समेत प्रत्येक मुद्दामा आधा जरिवाना गर्ने फैसला गरेको छ। कर्मचारीका रूपमा कार्यसम्पादन नगरी बैैंकिङ कसुर गरेको ठहर गर्दै उनीहरूलाई डेढ वर्ष कैद हुने फैसला पुनरावेदनले सुनाएको छ। पुनरावेदनले कर्मचारीहरूबाट जनही ४३–४३ करोड रुपैयाँ जरिवाना असुल गर्नुपर्ने फैसला गरेको हो।
अदालतले खराब कर्जा स्वीकृत गराउने कार्यमा संलग्न रहेका साक्षी/जमानीलाई समेत दोषी ठहर गर्दै प्रत्येक मुद्दामा १०–१० हजार जरिवाना र १ महिना कैद हुने फैसला गरेको छ। पुनरावेदनको फैसलाअनुसार जमानी बसेका विज्ञान पौडेल, विनयकुमार गुप्ता, शुष्मा केसी, अमूल्यप्रसाद उपाध्याय, राजु शर्मा, डम्बरबहादुर बस्नेत र शोभा श्रेष्ठप्रत्येकले चार–चार लाख जरिवाना बुझाउनुपर्नेछ।
उनीहरूले कम्पनीबाट ऋण दिलाउँदा खराब व्यक्तिलाई मद्दत गरी मतियारको भूमिका खेलेको भन्दै अदालतले दोषी ठहर गरेको हो।

प्रकाशित: ७ जेष्ठ २०७१ ०९:३२ बुधबार