३० वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणले बैंकहरुको निष्त्रि्कय कर्जा बढेर २५.६ अर्ब रुपैयाँ पुगेको पाइएको छ। जबकी १७ वाणिज्य बैंकहरुको कुल ऋण पोर्टफोलियो नै २५.६ अर्ब रुपैयाँ भन्दा कम छ।
चालु वर्षको ९ महिनाको अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १ खर्ब ३० अर्ब रुपैयाँले बढेर समग्रमा ८ खर्ब ४५ अर्ब पुगेको छ।
यो अवधिमा सानिमा बैंक सबैभन्दा कम निष्त्रि्कय कर्जा हुने वाणिज्य बैंकमा परेको छ। बैंकको १८ अर्ब २५ करोडको ऋण पोर्टफोलियोमा ०.०५ प्रतिशतमात्र निष्त्रि्कय कर्जा छ। यससँगै एसबिआई बैंक ०.३५, स्ट्यान्डर्ड चार्टर्ड ०.५२ र एभरेस्ट बैंकको ऋण पोर्टफोलियोको ०.६२ प्रतिशतमात्र निष्त्रि्कय कर्जा रहेको छ। सानिमा बैंक बाहेक विदेशी बैंकहरु– एसबिआई, स्ट्यान्डर्ड चार्टर्ड र एभरेस्ट बैंकको खराब कर्जा सबैभन्दा कम रहेको हो। यिनीहरु विगत वर्षहरुदेखि नै कम निष्त्रि्कय कर्जा हुने बैंकहरुमा पर्छन्।
यसैगरी गत वर्षको तुलनामा राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनएमबी बैंक र माछापुच्छे्र बैंकले निष्त्रि्कय कर्जा उल्लेख्य घटाएका छन्। राष्ट्रिय वाणिज्य बैंकले ५ करोड २५ लाख, स्ट्यान्डर्ड चार्टर्डले ३ करोड ७६ लाख, नेपाल इन्भेस्टमेन्टले ३ करोड ७० लाख, एनएमबी बैंक ३ करोड ८० लाख र माछापुछ्रेले ६० लाख रुपैयाँ निष्त्रि्कय कर्जा असुली गरेका छन्।
"बैंकहरुले निष्कि्रय कर्जा असुलीका लागि प्रयास गरिरहेका छन्," नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष तथा हिमालय बैंकका सीईओ अशोक राणाले नागरिकसँग भने।
बैंकहरुले कर्जा दिँदा नै एक प्रतिशत ऋण जोखिम व्यवस्था बापत् छुट्याउने गर्छन्। त्यस्तै, तीन महिनासम्म ऋणको साँवा तथा ब्याज भुक्तानी भएन भने २५ प्रतिशत, त्यसैगरी ६ महिनासम्म नभए ५० र एक वर्षसम्म साँवा ब्याज भुक्तानी नभए सत् प्रतिशत जोखिम व्यवस्था बापत् छुट्याउनुपर्छ। तर, ३ महिना नाघ्दा पनि ऋणको साँवा ब्याज भुक्तानी नियमित नभए त्यस्तो कर्जा निष्त्रि्कय कर्जाको रुपमा सूचीकृत गर्नुपर्ने केन्द्रीय बैंकको व्यवस्था छ।
चालु आवको नौ महिनासम्मको अवधिमा किस्ट बैंक सबैभन्दा बढी खराब कर्जा हुने बैंक हो। यसको १४ अर्ब ५१ करोडको ऋण पोर्टफोलियोमध्ये २३.७२ प्रतिशत खराब कर्जा छ, जुन गत आर्थिक वर्षको अन्त्यसम्म १६ अर्ब ८२ करोडको ऋण पोर्टफोलियो छँदा ६.५९ प्रतिशतमात्र थियो। किस्ट बैंकमा हालसालै व्यवस्थापन परिवर्तन भएको छ। नेपाल राष्ट्र बैंकले किस्ट बैंकको वर्तमान व्यवस्थापनलाई ऋण लगानी बढाउनेभन्दा कर्जा असुलीलाई प्राथमिकता दिन निर्देशन दिएको छ। यसभन्दा अघिका बैंकका व्यवस्थापन प्रमुख कमल ज्ञवाली सहित व्यवस्थापनका उच्च अधिकारीहरु ऋण जारी गर्दा गरेको हिनामिनाका कारण सजाय भोगिरहेका छन्।
राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार तिनीहरु ३ प्रतिशतभन्दा बढी खराब कर्जा हुने वाणिज्य बैंकको ऋण प्रवाह र परियोजनाहरुलाई सुक्ष्म अनुगमन गरिरहेका छन्। बैंकिङ्ग क्षेत्रमा ३ प्रतिशत बढीको खराब कर्जा राम्रो मानिदैंन। जबकी ९ वाणिज्य बैंकहरुको निष्त्रि्कय कर्जा ३ प्रतिशत माथि छ।
निजी क्षेत्रका बैंकहरुमा किस्ट सहित ग्राण्ड बैंक, कुमारी बैंक, सनराइज बैंक र एनसीसी बैंक उच्च निष्त्रि्कय कर्जा हुने बैंकहरुमा पर्छन्। सरकारी बैंकहरु– रावा बैंक, कृषि विकास बैंक र नेपाल बैंकमा पनि निष्त्रि्कय कर्जाको अवस्था विकराल छ र यसलाई घटाउन प्रयास भैरहेको छ।
एक अर्ब भन्दा बढी निष्त्रि्कय कर्जा हुने बैंकहरुमा कृषि विकास बैंक (३.५ अर्ब), किस्ट बैंक (३.४ अर्ब), रावा बैंक (२.५५ अर्ब), नेपाल बैंक (२.०५ अर्ब), नबिल बैंक (१.५८ अर्ब), हिमालयन बैंक (१.२९ अर्ब), ग्लोबल आईएमई बैंक (१.१६ अर्ब) रुपैयाँ रहेको छ। जसले सम्पूर्ण निष्त्रि्कय कर्जाको हिस्सा उकास्न मद्दत गरेका छन्। गत वर्षसम्म ८९ करोडमात्र निष्क्रिय कर्जा रहेको हिमालयन बैंकको खराब कर्जा नेशनल ट्रेडीङमा बैंकले सहवित्तियकरणमा गरेको २१ करोड रुपैयाँ लगानीका कारण भएको सीईओ राणाले बताए।
प्रकाशित: ६ जेष्ठ २०७१ २०:१५ मंगलबार