अर्थ

नारायणीमा ६०.५ किलोमिटर तटबन्धन

नारायणी नदी किनारमा ६०.५ किलोमिटर तटबन्धन भएको छ। नारायणी नदी तटबन्धन व्यवस्थापन आयोजना भरतपुरका अनुसार १६ वर्षको अवधिमा चितवनतर्फ ३५ र नवलपरासी (वर्दघाट) तर्फ २५.५ किलोमिटर तटबन्धन भएको हो। यसका लागि हालसम्म सात अर्ब २४ अर्ब खर्च भएको जानकारी आयोजनाका सूचना अधिकारी इन्जिनियर प्रकाश लम्सालले दिए।

‘नारायणी नदीमा २०६६ सालबाट जनताको तटबन्ध कार्यक्रम लागु भएपछि नारायणी नदीमा तटबन्धन कार्यक्रम सुरु भएको हो’, लम्सालले भने, ‘त्यसयता यहाँ बहुवर्षीय कार्यक्रमअन्तर्गत काम भइरहेको छ।’

यो अवधिमा नदीले भत्काएपछि चितवनतर्फ नौ सय मिटर तटबन्धन पुनः गरिएको उनले बताए। ‘१५ वर्षभन्दा बढी तटबन्धनमा प्रयोग गरिएको जाली खिया लागेर चुँडिने र नदीले खोल्ने रैछ’, उनले भने, ‘सुरुवातमा गरिएको तटबन्ध मर्मत गर्ने काम भइरहेको छ।’

नारायणीमा २०७८ सालमा सबैभन्दा बढी चार अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो। सो बजेटले चितवनतर्फ २० किलोमिटर र नवलपरासी (बर्दघाट पूर्व) तर्फ १२ किलोमिटर तटबन्धन भएको जानकारी लम्सालले दिए।

यस बजेटबाट चितवनतर्फको नारायणी पुलबाट तल्लो क्षेत्रमा काम भएको थियो। नवलपरासीतर्फ गैंडाकोट ५, ६, ७ र ९, कावासोती ११ र मध्यविन्दु नगरपालिका क्षेत्रमा तटबन्धन भएको छ।

गत आर्थिक वर्षमा नारायणी तटबन्धनका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन भएको छ। सो रकमबाट नारायणीको स्रोत व्यवस्थापन र विपत अन्तरगतको क्षतीग्रस्तमा काम भइरहेको जानकारी उनले दिए। ‘गत आर्थिक वर्षको बजेटबाट ६ वटा ठेक्का लागेर काम भइरहेको छ’, उनले भने, ‘यसबाट साढे तीन किलोमिटर तटबन्धनको काम हुन्छ।’

नारायणीले क्षति पुर्‍याएको गैंडाकोटतर्फ नारायणी पुलमुनि, मजुवा सामुदायिक वन क्षेत्र, सेतीवेनी सामुदायिक वन, मध्यविन्दु र कुजौली क्षेत्रमा काम भइरहेको उनले बताए। ‘यो डेढ वर्षको सम्झौता हो। यस आर्थिक वर्षमा सकिन्छ’, उनले भने, ‘पहिलेको काममा पनि ओभरल्याप गर्ने काम भइरहेको छ।’

२०६६ देखि २०७७ सालसम्म चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ १० किलोमिटर तटबन्धन भएको थियो। सो अवधिमा एक अर्ब ७४ करोड रुपैयाँ खर्च भएको उनले बताए। अब चितवनतर्फ नौ किलोमिटर तटबन्धन गर्न बाँकी रहेको उनले बताए। ‘चितवनतर्फ धेरै तटबन्धन भएको छ। अब नौ किलोमिटर तटबन्धन गरियो भने तटबन्धनको बाटो नारायणी पुलबाट गोलाघाटसम्म पुग्न सकिन्छ’, उनले भने ‘भरतपुरको अधिकांश भाग सुरक्षित भइसकेको छ।’

उनका अनुसार काभ्रेघाटदेखि मजुवासम्म, २८ नम्बर वडाको क्षेत्र र न्युरेनी चोकदेखि तामाङ चोकसम्म तटबन्धनको काम बाँकी छ।

प्रकाशित: ७ पुस २०८२ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App