अर्थ

हवाई उडान नहुँदा मलेसियामा अड्किए ५२ शव

सरकारले पर्याप्त अन्तर्राष्ट्रिय हवाई उडानको व्यवस्था गर्न नसक्दा मलेसियामा ५२ शव अडकिएका छन्। ती शवलाई लामो समयदेखि घर पठाउन नसकिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ।  

‘मलेसियामा औसत हरेक तीन दिनमा दुईजना हाराहारी निधन हुने गरेको छ,’ त्यहाँस्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दीपक ढकालले भने, ‘तर पर्याप्त हवाई उडान हुन नसक्दा घरमा पठाउन सकिएको छैन।’ उनले मलेसियामा वाइड बडी जहाजको उडान हुने हो भने शव ढुवानीमा समस्या नहुने भए पनि केही समययता राखिएका उडानमा हवाई कम्पनीहरूले न्यारो बडी जहाज मात्र उडाइरहेको बताए।  

‘वाइड बडी जहाजको उडान हुने हो भने एकैचोटि २०–२५ वटा शव ढुवानी गर्न मिल्छ। तर न्यारो बडीको जहाजले दुई-तीनवटाभन्दा बढी शव बोक्दैन,’उनले भने। रोजगारीका लागि मलेसिया पुगेका श्रमिकको उतै निधन भएर पनि शव घर ल्याउन नसक्दा घर, परिवार निकै पीडामा रहने गरेका छन्। वैदेशिक रोजगार ऐनअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका व्यक्तिको निधन भएमा रोजगारदाताको साथै वैदेशिक रोजगार बोर्डले शवको ढुवानी घरसम्म गर्ने व्यवस्था गर्ने गरेको छ।

रोजगारीको क्रममा गन्तव्य मुलुकमा निधन हुनेको शव जतिसक्दो चाँडो घरसम्म पुर्‍याउनुपर्ने आवाज उठ्दै आए पनि अनेक कारणले मृतकका आफन्तले समयमै शव प्राप्त गर्न सकेका छैनन्। कहिले रोजगारदाताको ढिलाइ त कहिले आवश्यक कागजपत्र जुटाउन नसक्दा वर्र्षौंदेखि मृतकको शव चाँडोभन्दा चाँडो घरसम्म पुर्‍याउन सरोकारवाला निकाय असफल हुँदै आएका छन्।  

बोर्डले वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका परिवारलाई सात लाख  रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउँछ भने म्यादी जीवन बिमा गरेका श्रमिकका  परिवारलाई बिमा कम्पनीले १४ लाख रूपैयाँ दिने गरेका छन्। ढकालले मलेसिया–काठमाडौंका लागि सरकारले पर्याप्त उडान नराख्दा अत्यावश्यक परेर घर फर्कन खोजेकालाई पनि निकै समस्या परेको बताए।  

‘अहिले क्वालालम्पुर–काठमाडौं सातामा तीन हवाई उडान राखिएका छन्,’ उनले भने, ‘न्यून उडान संख्या राखिएकाले दुई महिनासम्मको टिकट लगभग प्याक भइसकेको अवस्था छ। ’हालसम्म श्रम स्वीकृति जारी भएको आधारमा नेपालका लागि मलेसिया सबैभन्दा ठूलो गन्तव्य हो।

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएका करिब ५५ लाखमध्ये १० लाख रोजगारीका लागि मलेसिया गएका छन्। कोरोना महामारी सुरु भएयता भने मलेसिया रोजगारी बन्द छ। सुरुमा नेपालले श्रम स्वीकृति दिन बन्द गरेकोमा पछिल्लो समयमा मलेसियाले नेपाल लगायत मुलुकका कामदार लिन बन्द गरेको छ।  

करिब साढे एक वर्षयता रोजगारीका लागि मलेसिया जान नपाएका कामदार फर्कने क्रम भने जारी रहेको ढकालले बताए। उनका अनुसार यतिखेर मलेसियामा वैधानिक रूपमा करिब एक लाख ६० हजार श्रमिक छन्। म्यानपावर व्यवसायी भने अलेखबद्ध कामदारको संख्या पनि  जोड्ने हो भने मलेसियामा करिब तीन लाख नेपाली रहेको बताउँछन्।  

ढकालले मलेसियामा कोरोना महामारीको प्रकोप अझै रहेकाले बन्द रोजगारी सुरु हुने अन्योल कायमै रहेको बताए।‘अहिलेसम्मको अवस्था हेर्दा सम्भवतः सन् २०२२ देखि मलेसिया रोजगारी सुरु होला कि भन्ने अनुमान गरेका छौं,’उनले भने।  

प्रकाशित: ३० असार २०७८ ०२:२१ बुधबार

वैदेशिक रोजगारी शव