अर्थ

जेनजी क्षतिको निर्जीवन बिमामार्फत पाँच अर्ब १८ करोड बिमा दाबी भुक्तानी

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बिमा कम्पनीहरूमा परेका कुल तीन हजार तीन सय तीन बिमा दाबीको करिब पाँच अर्ब १८ करोड दाबी रकम बिमितहरूलाई भुक्तानी भएको छ। बिमाका लागि करिब २३ अर्ब ४५ करोड दाबी रकम रहेको थियो।

प्राधिकरणमा १४ वटा निर्जीवन बिमा कम्पनी र चार वटा लघु निर्जीवन बिमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्यांक अनुसार कम्पनीहरूबाट अग्रिम भुक्तानीसमेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बिमातर्फ सात सय १० बिमा दाबीको रकम करिब १९ अर्ब दुई करोडमध्ये करिब तीन अर्ब ८२ करोड र मोटर बिमातर्फ दुई हजार तीन सय ११ वटा बिमा दाबीको रकम करिब तीन अर्ब ४७ करोडमध्ये करिब एक अर्ब २२ करोड भुक्तानी भएको छ।

यसैगरी इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमातर्फ दुई सय २५ वटा बिमा दाबी गरिएकोमा करिब ५५ करोड ४७ लाख दाबी गरिएको थियो। त्यसमध्ये करिब सात करोड ५० लाख, परिवहन बिमातर्फ १२ वटा बिमा दाबीको करिब एक करोड ६९ लाख दाबी रकममध्ये करिब एक करोड ५५ लाख र अन्य बिमातर्फ ४५ वटा बिमा दाबीको करिब ३८ करोड ४० लाख दाबी रकममध्ये करिब पाँच करोड ५० लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ।

जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बिमा कम्पनीले निर्जीवन बिमा कम्पनीहरूलाई करिब तीन अर्ब दुई करोड अग्रिम भुक्तानीसमेत गरी पुनर्बिमा दाबी भुक्तानी गरेको छ।

नेपाल पुनर्बिमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बिमा कम्पनीहरूबाट परेका कुल दुई हजार आठ सय ६२ वटा पुनर्बिमा दाबीको रकम करिब १६ अर्ब ६२ करोड रुपैयाँ रहेको अद्यावधिक तथ्यांक छ।

प्रकाशित: ४ पुस २०८२ ०९:४४ शुक्रबार