काठमाडौं, असोज२ (नागरिक)- नेपाल विकास बैंकको स्थिति अध्ययन गर्न बनेको जाँचबुझ समितिका अधिकाले बैंक सञ्चालन गर्न दिनुपर्ने सुझावसहितको प्रतिवेदन पुनरावेदन अदालतमा बुझाएका छन्। बैंक सञ्चालनको प्रस्ताव सहित अधिका तीर्थराज उपाध्यायले बुधबार प्रतिवेदन बुझाएका हुन।
तीन महिनाअघि अदालतले बैंकलाई खारेजीमा लग्नुपर्ने/नपर्ने विषयमा सुझाव दिन उपाध्यायलाई तोकेको थियो। त्यसपछि उनले बैंक सञ्चालनका लागि इच्छुक समूहका प्रस्ताव अध्ययन गरेका थिए। 'बैंक ग्यारेन्टी सहित सञ्चालनको प्रस्ताव आएकोले सञ्चालनका लागि सुझाव दिइएको छ' उपाध्यायले भने।
खारेजीमा लग्न पुनरावेदन अदालत पाटनमा राष्ट्र बैंकले निवेदन दिएको बैंक सञ्चालनका लागि दुई समूहको प्रस्ताव परेको थियो। त्यसका लागि बैंक ग्यारेन्टी सहितको प्रस्ताव उपाध्यायले मागेका थिए।
बैंक सञ्चालनका लागि अधिकासमक्ष निम्वस र बद्री भट्टराई समूहको आवेदन परेको थियो। केही समय अगाडी वित्तीय स्वास्थ्य विग्रिएको जनाउँदै राष्ट्र बैंकले बैंक खारेजीका लागि अदालतमा निवेदन दिएको थियो। बैंकको अवस्था र सञ्चालनको सम्बन्धमा सुझाव लिनेक्रममा दुई समूहको आवेदन परेको हो।
बैंक सञ्चालनका लागि पहिलो प्रस्ताव पेस गर्ने निम्वस समूहले बैंक सञ्चालनका लागि तीन करोड २० लाख रूपैयाँ जम्मा गर्ने जनाएको छ। यो रकम तीन महिना सम्म राष्ट्र बैंकले तोकेको बैंक खातामा राख्ने निम्वसको प्रस्ताव छ। तीन महिना सम्म अध्ययन ग बैंक सञ्चालन गर्ने, नगर्ने निर्णय गरिने समूहले जनाएको छ। समूहले संस्थापक सेयर एक रूपैयाँमा खरिद गर्ने प्रस्ताव गरेको छ। साधारण सेयरको मूल्य घटाएर किन्ने योजना नरहेको उसको प्रस्तावमा छ।
निक्षेपकर्ताको रकम र सेयर लगानीकर्ताको अवस्था यथावत् रहनुपर्ने प्रस्ताव समूहको छ। निम्वसले प्रेसिडेन्ट ट्राभल्स, गोल्छा हाउस, आइसिटिसी समूह, अल्पाइन, वर्ल्ड लिंक, वचरण सिंह र कैलाश गोयल मिलेर बैंक सञ्चालन गर्ने जनाएको छ।
२८ प्रतिशत सेयर भएका संस्थापक लगानीकर्ताको समर्थन लिएर भट्टराईले बैंक सञ्चालनका लागि बैंक ग्यारेन्टी सहितको प्रस्ताव गरेका हुन। उनले बैंक सञ्चालनका लागि ६२ करोडको बैंक प्रत्याभूति दिएका छन्। सुरुको वर्ष ६८ करोड र त्यसपछि ९६ करोडको चुक्ता पुँजी बनाउने प्रस्ताव गरिएको छ।
प्रकाशित: १ आश्विन २०६६ २२:२८ बिहीबार