'पाँचसय दरका नोट कोलकाताबाट नेपालसम्म ल्याउन रेलमा लोड भइसकेको छ,' विभाग अधिकारीले भने, 'यी नोट आइतबारदेखि दिन सकिन्छ।'
अहिले बजारमा पाँच सय र हजारका नोटको अभाव छ। ठूला दरका नोट नहुँदा यसको प्रभाव साना नोटमा परेको छ। दसैंअघि सामान्यभन्दा १५ अर्ब रुपैयाँबराबरको थप नोट माग हुन्छ। सोमबारमात्र एक अर्ब रुपैयाँभन्दा बढी नोट बैकिङ प्रणालीभन्दा बाहिर गएको छ। करिब ५ अर्ब ठूला दरका नोट भए अहिलेको माग धान्न सकिने राष्ट्र बैंकको अनुमान छ।
राष्ट्र बैंकले मंगलबार वित्तीय संस्थाले मागको २० प्रतिशतमात्र नोट उपलब्ध गराउन सकेको बतायो। राष्ट्र बैंकले मागअनुसार नोट नदिँदा वाणिज्य बैंकहरू पनि समस्यामा छन्। एटिएमका लागि वित्तीय संस्थालाई ठूला दरका नोट आवश्यक हुन्छ। सकेसम्म ठूलो रकमको भुक्तानी नमाग्न उनीहरूले बचतकर्तासँग आग्रह गरेका छन्। राष्ट्र बैंकका पोखरा, विराटनगरलगायत क्षेत्रीय कार्यालयमा पनि नोट सकिएको छ। यी कार्यालयले विभागसँग थप नोटका लागि आग्रह गरेका छन्। 'तर, काठमाडौंबाट पैसा पठाउन सक्ने स्थिति छैन,' नोट विभागका अधिकारीले जवाफ दिएका दिँदै आएका छन्। चरम अभाव भएको पोखरामा सोमबारसम्म मात्र थप नोट पठाउन सकिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकमा लाइन बसेर नयाँ नोट लिन आउने सर्वसाधारणलाई पनि सीमा तोकिएको छ। एक जनाले बढीमा ६ हजारको मात्र नयाँ नोट साट्न पाउँछन्। राष्ट्र बैंकमार्फत दैनिक झन्डै ३ हजारले ६ करोड नयाँ नोट सटही गर्दै आएका छन्।
नोट सन्तुलन कहाँ बिग्रियो?
करिव एक वर्षदेखि राष्ट्र बैंकको नोट व्यवस्थापनमा समस्या देखिँदै आएको छ। त्यसबेला ठूला नोट नहुँदा राष्ट्र बैंकले सय र यसभन्दा साना नोट चल्तीमा पठाएको थियो। त्यही कारण दसैंअघि साना नोटको मौज्दात पनि कम हुँदै गएको हो।
पाँच सयको नोट छाप्ने फ्रान्सेली कम्पनीले समयमा नोट नदिँदा समस्या थपियो। राष्ट्र बैंकले यो कम्पनीलाई यही कारण जरिवाना गर्ने निर्णय गरेको छ।
यसबाहेक राष्ट्र बैंकबाट चलनचल्तीमा नोट जाने र फर्किएर आउने चक्र पनि खल्बलिएको छ। सामान्य अवस्थामा राष्ट्र बैंकबाट चल्तीमा गएको नोट २ देखि ३ साताभित्र राष्ट्र बैंक नै फर्किने गरेको थियो। तर, चल्तीमा गएका ठूला दरका नोटमध्ये १० प्रतिशतमात्र राष्ट्र बैंक फर्किएका छन्।
गत फागुनमा सरकारले निकै प्रचारप्रसार गरी ल्याएको स्वयंकर घोषणाका बेला ठूला नोट फर्किने चक्र रोकिएको थियो। तर, माओवादी नेतृत्वको सरकार परिवर्तनपछि केही बैंकको साधारण सेयर निष्कासन गर्दा लुकेका नोट बैकिङ प्रणालीमा फर्किएका थिए। तर, अहिले फेरि समस्या देखिएको छ। राष्ट्र बैंकका वरिष्ठ अधिकारी अहिले पनि झन्डै ११ अर्ब रुपैयाँबराबरको ठूला नोट चक्रअनुसार राष्ट्र बैंकमा नफर्किएको बताउँछन्। 'ठूला नोट घरमा लुकाएर राखिएकाले समस्या आएको हो,' ती अधिकारीले भने।
दसलाखभन्दा माथिको कारोबार विवरण राष्ट्र बैंक पठाउनु पर्ने प्रावधानले अहिले नोट लुकेको हुनसक्ने अनुमान गरिएको छ। मुद्रा शुद्धीकरण ऐन अनुसार १० लाखभन्दा माथि पैसा राख्ने, झिक्ने र कारोबार गर्नेको विवरण राष्ट्र बैंक पठाउनुपर्छ। झन्डै एक महिनाअघि राष्ट्र बैंकभित्र रहेको वित्तीय सूचना ब्यूरोले यस्तो सूचना लिँदै आएको छ। आतंककारी गतिविधि, भ्रष्टाचार, जीउ मास्ने बिक्री गर्ने, अपहरणजस्ता गैरकानुनी काममा पैसाको प्रयोग हुन नदिन सूचना दिनुपर्ने व्यवस्था गरिएको हो। वाणिज्य बैंकहरूले यसको विरोध गरेका थिए। सूचना पठाउनुपर्ने प्रावधान केही महिना रोक्न वाणिज्य बैंकको माग थियो। कारोबार विवरण दिनुपर्ने प्रावधान ठीक भए पनि यसलाई १० को सट्टा २५ लाख पुर्याउनुपर्ने माग वाणिज्य बैंकका प्रमुख कार्यकारीको संगठन नेपाल बैंकर्स संघले गरेको थियो।
बढ्दो रेमिट्यान्सले पनि नोटको माग बढाएको छ। दसैंमा धेरै रेमिट्यान्स भित्रिन्छ। गत वर्ष २ खर्ब ९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो। नोट अभाव टार्न साना नोट मात्र दिँदा पनि पछि व्यवस्थापनमा समस्या आउने राष्ट्र बैंक अधिकारीले बताए। दसैंका बेला जाने नयाँ नोट तिहारपछि राष्ट्र बैंक फर्किन्छ। यसमध्ये ८० प्रतिशत बजारमा पुनः चल्तीमा लैजान नमिल्ने गरी आउने राष्ट्र बैंकका अधिकारी बताउँछन्। विभिन्न रंग लागेर र फोहोर भएर नोट फर्किने भएकाले बजारमा फेरि चल्तीमा पठाउन नसकिने ती अधिकारीले बताए। सामान्यतया एउटा नोटको आयु १८ महिना हुन्छ।
प्रकाशित: ३० भाद्र २०६६ २०:१९ मंगलबार