अर्थ

रसुवादेखि मुग्लिनसम्म त्रिशूली आरपार गर्नै कठिन, ४१ पुलको नामोनिसान मेटियो

भोटेकोशी र त्रिशूली नदी जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीले उत्तरी सीमानाका रसुवागढीदेखि रणनीतिक महत्त्वको मुग्लिनसम्मको सडक सञ्जाल क्षतविक्षत बनाएको छ।

सडक विभागले तयार पारेको स्थलगत प्राविधिक प्रतिवेदन अनुसार यस नदी करिडोरमा रहेका कुल ६३ वटा पुलमध्ये ४१ वटा बाढीले बगाएको छ। बाढीको तीव्र धक्काका कारण ३ वटा पुल संरचनात्मक रूपमा क्षतिग्रस्त भएका छन् भने १९ वटा पुल मात्र जोगिन सफल भएका छन्।

सडक विभागको प्रतिवेदन अनुसार भोटेकोशी र त्रिशूली नदीको बाढीले चीनसँगको प्रमुख व्यापारिक जीवनरेखा मानिएको राष्ट्रिय राजमार्ग तथा स्थानीय सहायक मार्गहरूलाई तहसनहस पारेको छ।

रसुवाको बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी-रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। रसुवामा मात्र ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ।

प्रतिवेदन अनुसार यस रणनीतिक खण्डमा सडक विभाग मातहतका ५३ वटा र निजी जलविद्युत आयोजना तथा स्थानीय निकाय मातहतका १० वटा गरी कुल ६३ वटा पुल रहेका थिए।

सडक विभाग अन्तर्गतका ५३ वटा पुलमध्ये ३२ वटा बाढीले बगाएको छ। ३ वटा क्षतिग्रस्त छन् भने १८ वटा जोगिएका छन्। यसैगरी जलविद्युत आयोजना र अन्य निकायले निर्माण गरेका १० वटा पुलमध्ये ९ वटा पूर्ण रूपमा बगेका छन् भने १ वटा मात्र जोगिएको छ। बाढीले समग्र करिडोरका कुल ६३ संरचनामध्ये झन्डै ६५ प्रतिशत पुल पूर्ण रूपमा नामेट पारेको छ।

बाढीका कारण रसुवा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ र यहाँका २७ वटा पुलमध्ये २२ वटा पुल बाढीले बगाएको छ।

नेपाल र चीन जोड्ने ऐतिहासिक रसुवागढीस्थित स्थायी मितेरी पुल बाढीले पूर्ण रूपमा बगाइदिएपछि उत्तरी सीमा व्यापार अनिश्चित बनेको छ। मितेरी पुलसँगै रसुवाको टिमुरे क्षेत्रमा रहेका टिमुरे १ र टिमुरे २ का दुवै बेली ब्रिज बाढीमा विलीन भएका छन्।

यस्तै, राष्ट्रिय राजमार्ग ४२ अन्तर्गत पर्ने ४० मिटर लामो घट्टे खोला, ३० मिटर लामो फेनलुङ र २० मिटर लामो कुलुङका स्थायी पक्की पुलहरू पनि तीव्र बहावका कारण बगेका छन्।

रसुवाकै चिलिमेस्थित भोटेकोशी पक्की पुल र १०० मिटर लामो रुङ्गा खोलाको चिलिमे पुल पनि बाढीले सोहोरेको छ। स्याफ्रुबेँसीमा रहेको जलविद्युतको बेली ब्रिज र स्थानीय आवागमनको मुख्य आधार मानिएको ८६ मिटर लामो स्याफ्रुबेँसी पक्की पुल समेत नदीमा बगेपछि माथिल्लो भेगको सम्पर्क पूर्ण रूपमा टुटेको छ।

निजी क्षेत्र र जलविद्युत आयोजनाहरूले निर्माण गरेका पहुँचमार्गका संरचनाहरूमा पनि बाढीले भीषण क्षति पुर्‍याएको छ।

त्रिशूली २१६ आयोजनाको अडिट १ स्थित बेली ब्रिज, हाकु १ र हाकु २ का दुवै बेली ब्रिज, माथिल्लो त्रिशूली जलविद्युत आयोजनाको बेली ब्रिज तथा मैलुङ बजारको बेली ब्रिज बाढीले बगाएको छ।

त्यस्तै सडक विभाग मातहतका ३५ मिटर लामो हाकु खोला पुल, ४० मिटरको बिमली खोला पुल, १० मिटरको क्रसिङ ०+७०० पुल, ६० मिटर लामो मैलुङ चिपलेटी स्टिल आर्च पुल, त्रिशूली-३ ए बाँधका दुईवटा पुल तथा २५ मिटर लामो बाहुबली झरना पुल सबै बाढीले बगाएको छ।

रसुवा जिल्लामा जोगिएका ५ वटा पुलहरूको अवस्था भने स्थलगत रूपमा पुग्न नसकिएका कारण हेलिकप्टरको हवाई निरीक्षणबाट यकिन गरिएको छ।

हवाई निरीक्षणका क्रममा २० मिटर लामो सानो भार्खु आरसीसी पुल, १५ मिटर लामो ठूलो भार्खु आरसीसी पुल, २० मिटरको त्रिशूली खोला प्रिस्ट्रेस्ड पुल र ३५ मिटर लामो ठाडे खोला प्रिस्ट्रेस्ड पुल सुरक्षित रहेको पाइएको छ। यसबाहेक ५०+३०० चेनेजमा रहेको १० मिटरको ठाडो खोला पुल पनि जोगिन सफल भएको छ।

रसुवा र नुवाकोट सीमा क्षेत्र तथा नुवाकोट जिल्लामा रहेका २२ वटा पुलमध्ये १५ वटा बाढीले बगाएको छ। १ वटा पुरिएर क्षतिग्रस्त बनेको छ भने ६ वटा जोगिएका छन्।

दुई जिल्ला जोड्ने सीमा क्षेत्रको खाल्टेस्थित ५० मिटर लामो नयाँ स्टिल आर्च पुल बाढीले बगाएको छ। यसका साथै ऐतिहासिक महत्त्व बोकेको बेत्रावतीस्थित ७० मिटर लामा पुराना र नयाँ दुवै पक्की पुल बाढीको तीव्र चाप थेग्न नसकेर ढलेका छन्।

नुवाकोट खण्डमा पर्ने तुप्चेस्थित १०० मिटर लामो त्रिशूली नदीको पुल, त्रिशूली बजारका पुराना र नयाँ दुवै ६० मिटर लामा पक्की पुल तथा सिमचौरस्थित १०० मिटर लामो त्रिशूली पुल पूर्ण रूपमा बगेका छन्।

मध्यपहाडी लोकमार्ग अन्तर्गत देवीघाट नजिकको त्रिशूली नदी पुल, देवीघाटस्थित ५५ मिटर लामा पुराना र नयाँ दुवै ताँदी खोला पुल तथा देवीघाटको जलस्रोत तथा सिँचाइ डिभिजन नजिकको झोलुङ्गे पुल समेत बाढीले बगाएको छ।

यसबाहेक नुवाकोटकै खड्गभञ्ज्याङ श्रीखली सडक अन्तर्गतको १८० मिटर लामो त्रिशूली पुल, १४० मिटर लामो बुद्धसिंघाट पुल, १५० मिटर लामो रातमाटे पुल र केउरिनी फोस्रेटारको त्रिशूली नदी पुल पनि बाढीमा विलीन भएका छन्।

चेनेज १३+२६० मा रहेको २० मिटर लामो ठूलो खोला प्रिस्ट्रेस्ड पुल भने बाढीसँगै आएको लेदो र पहिरोको विशाल गेग्रानले पूर्ण रूपमा पुरिएको छ। यस खण्डका सुकौरे खोला, धोबी खोला, गुन्द्रे खोला, बिरे खोला, गेर्खु खोला र झाँगर खोलाका आरसीसी तथा प्रिस्ट्रेस्ड पुलहरू भने जोगिएका छन्।

धादिङ खण्डमा रहेका ११ वटा पुलमध्ये ५ वटा बगेका छन्, २ वटा क्षतिग्रस्त बनेका छन् र ४ वटा जोगिएका छन्। गल्छी मुनिको बैरेनी स्यालटार सडक जोड्ने १५० मिटर लामो पुल, १२० मिटर लामो जरेबगैँचा पुल, २०० मिटर लामो घाटबेँसी पुल र मलेखुस्थित ११८ मिटर लामो फुर्के खोला त्रिशूली पुल बाढीले बगाएको छ।

धादिङमै पर्ने कोल्पु खोलाका पुराना र नयाँ दुवै पुल क्षतिग्रस्त भएका छन्। विशेषगरी २+५२० चेनेजमा रहेको ४० मिटर लामो कोल्पु खोलाको नयाँ प्रिस्ट्रेस्ड पुल बाढीको तीव्र धक्काका कारण आफ्नो मूल जगबाट तल्लो तटीय दिशातर्फ सरेको पाइएको छ।

पुल विस्थापित भए पनि हाल जोखिमपूर्ण रूपमा सञ्चालनमै राखिएको छ। धादिङकै भीमढुङ्गा लामीडाँडा सडकको त्रिशूली पुल, महेश खोला पुल, मस्टार त्रिशूली पुल, बेनीघाट पुल र फिस्लिङ गोरखा जोड्ने पुल भने बाढीबाट जोगिएका छन्।

नदीको तल्लो तटीय क्षेत्रमा पर्ने चितवन जिल्ला भने बाढीको विनाशबाट जोगिन सफल भएको छ। चितवन खण्डमा रहेका ३ वटै पुल सुरक्षित अवस्थामा छन्। चुम्लिङटारस्थित त्रिशूली जलविद्युत आयोजनाको बेली ब्रिज, मुग्लिनस्थित १६० मिटर लामो आधुनिक मुग्लिन आर्च पुल र पुरानो मुग्लिन झोलुङ्गे पुल बाढीको असरबाट जोगिएर पूर्ण रूपमा सुरक्षित रहेका छन्।

पुलको संरचनागत प्रकृतिका आधारमा हेर्दा बाढीमा बेली ब्रिजहरू सबैभन्दा बढी कमजोर साबित भएका छन्। सूचीकृत कुल १० वटा बेली ब्रिजमध्ये चितवनको चुम्लिङटार बाहेक बाँकी ९ वटै बेली ब्रिज बाढीले बगाएको छ।

नदी वारपार गर्न बनाइएका मैलुङ चिपलेटी र खाल्टेका दुवै आधुनिक स्टिल आर्च पुल पनि बाढीको तीव्र वेग थेग्न नसकी ढलेका छन्। सहायक खोलाहरूमा बनेका साना आरसीसी र प्रिस्ट्रेस्ड पुलहरू जोगिन सके पनि मूल नदीमा रहेका लामा स्पानका स्थायी पक्की संरचनाहरू पानीको विशाल बहावले सोहोरेको छ।

उत्तरी व्यापारिक मार्ग रसुवागढी पूर्ण रूपमा विच्छेद हुनुका साथै गल्छी-स्याफ्रुबेँसी सडक क्षतविक्षत बन्दा मुलुकको आपूर्ति व्यवस्था, स्थानीय जनजीवन र जलविद्युत क्षेत्रमा ठूलो धक्का पुगेको छ।

प्रकाशित: २४ भाद्र २०८३ १९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App