अर्थ

चिनी उद्योगीविरुद्ध पक्राउ पूर्जी

उखु किसानको पैसा भुक्तानी गर्न आनाकानी गर्ने चार चिनी उद्योगका सञ्चालकविरुद्ध गृह प्रशासनले पक्राउ पूर्जी जारी गरेको छ। वर्षौंदेखि किसानलाई तिर्नुपर्ने बक्यौता नतिरेपछि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत बुधबार पक्राउ पुर्जी जारी गरेको हो।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार बसेको बैठकले भुक्तानी गर्न आलटाल गर्ने उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको थियो। गृहको निर्देशनसँगै रौतहट, सर्लाही र नवलपरासीका जिल्ला प्रशासन कार्यालयले चारवटा चिनी उद्योगका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरेका हुन्।  

इन्दिरा चिनी मिल र अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाल, लुम्बिनी चिनी मिलका सञ्चालक सुशील गोयल र श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छाविरुद्ध पक्राउ पुर्जी जारी भएको गृह मन्त्रालयले जनाएको छ।

चिनी उद्योगीले उखुको बक्यौता रकम नतिरेर किसान आन्दोलित भएपछि गृहमन्त्री थापा, कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र ती मन्त्रालयका सचिवको बैठकले ती उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको थियो।  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार श्रीराम सुगर मिल रौतहटले ३५ करोड, अन्नपूर्ण सुगर मिल सर्लाहीले १७ करोड, इन्दिरा सुगर मिल नवलपरासीले पाँच करोड, लुम्बिनी चिनी उद्योग नवलपरासीले आठ करोड ४१ लाख र महालक्ष्मी सुगर मिल सर्लाहीले किसानको २० लाख तिर्न बाँकी छ।  

किसानले करिब ९० करोड रूपैयाँ बक्यौता रहेको दाबी गर्दै आएका छन्। सरकारी तथ्यांकमा भने करिब ६५ करोड ३१ लाख रूपैयाँ बक्यौता देखिन्छ। अब उखु किसान र चिनी उद्योगीबीचको विवाद समाधान गर्ने जिम्मा गृह मन्त्रालयमा गएको छ। उद्योगीमार्फत रकम दिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मध्यस्थता गर्दै आएकोमा उद्योगीले तत्काल भुक्तानी गर्ने सुरसार नगरेपछि गृहको जिम्मा लगाएको हो।  

उखु किसानलाई भुक्तानी दिलाउन अब गृह मन्त्रालयले पहल गर्ने उद्योग मन्त्रालयकी सह–प्रवक्ता उर्मिला केसीले बताइन्।  

आइतरबादेखि उखु किसानले माइतीघर केन्द्रित आन्दोलन गर्दै आएका छन्। किसानले बुधबार पनि उखुसहित प्रर्दशन गरे। आन्दोलरत किसानको संख्या दिनहुँ बढिरहेको छ। सरकारले बोलाएको बार्तामा अनुपस्थित भएका किसानले लिखित रूपमा दुई सर्त सरकार समक्ष पठाउने भएका छन्। सरकारले वार्ता विरोधी आरोप लगाएपछि बिहीबार लिखित रूपमा सरकारलाई माग पठाएर आन्दोलन जारी राख्ने उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए।

प्रकाशित: २ पुस २०७७ ०३:५० बिहीबार