भदौ महिनामा देशभरको घरजग्गा किनबेच तथा लिखत पारितबाट सरकारले ३ अर्ब ९१ करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गतका १५८ वटा भूमि प्रशासन कार्यालय तथा स्थानीय तहबाट संकलित विवरणअनुसार यस्तो राजस्व उठेको हो।
कुल राजस्वमध्ये १ अर्ब ९० करोड २१ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर र १ अर्ब ७९ करोड ३५ लाख रुपैयाँ पूंजीगत लाभकरबाट संकलन भएको छ। सेवा करबाट १६ करोड ८२ लाख रुपैयाँ तथा अन्य शुल्कबाट समेत थप आम्दानी भएको छ।
उपत्यकाबाट मात्रै २ अर्बभन्दा बढी
भदौमा संकलित कुल राजस्वको आधाभन्दा बढी हिस्सा काठमाडौं उपत्यकाका ९ वटा कार्यालयबाट आएको छ। उपत्यकाबाट मात्रै २ अर्ब १६ करोड २७ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
देशभरका कार्यालयमध्ये भक्तपुर भूमि प्रशासन कार्यालय सबैभन्दा अगाडि रहेको छ। भक्तपुरबाट एक महिनामा ४९ करोड १६ लाख ९७ हजार रुपैयाँभन्दा बढी राजस्व उठेको छ।
त्यसपछि ललितपुरको लगनखेलबाट ३८ करोड ८० लाख, कलंकीबाट ३७ करोड १२ लाख, चावहिलबाट ३३ करोड ५५ लाख र डिल्लीबजारबाट ३१ करोड ४३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।
उपत्यकाबाहिर पोखरा र इनरुवा अगाडि
उपत्यकाबाहिर पोखराको कास्की भूमि प्रशासन कार्यालयले १६ करोड ८३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। त्यसैगरी इनरुवाबाट १५ करोड ४२ लाख र बुटवलबाट ११ करोड ८८ लाख रुपैयाँभन्दा बढी राजस्व उठेको छ।
चितवन, भैरहवा, विराटनगर, वीरगञ्ज, भद्रपुर, जनकपुरधाम तथा बेलबारीलगायतका प्रमुख व्यापारिक क्षेत्रमा पनि घरजग्गा कारोबारबाट उल्लेख्य राजस्व संकलन भएको छ।
हिमाली जिल्लामा कारोबार न्यून
मुख्य सहरी क्षेत्रमा कारोबार बढेको देखिए पनि हिमाली तथा विकट पहाडी जिल्लामा घरजग्गा कारोबार निकै कम देखिएको छ। बाजुरा, सिर्दिवास, झोताभैरव, जोगबुडा र अछामलगायतका कार्यालयबाट भने तुलनात्मक रूपमा न्यून राजस्व संकलन भएको छ।
प्रकाशित: २ आश्विन २०८३ १७:०६ शुक्रबार



