अर्थ

भित्रियो होन्डाको ड्रिम युगा बाइक

काठमाडौं, पुस २३ (नागरिक) - होन्डा कम्पनीले नेपाली बजारमा 'ड्रिम युगा' मोडलको बाइक भित्र्याएको छ। कम्पनीले १ सय १० सिसी इन्जिन क्षमताको यो बाइक आइतबारदेखि बिक्री सुरु गरेको हो।
होन्डाको आधिकारिक बिक्रेता ज्योति समूहको स्याकार ट्रेडिङले आइतबार राजधानीमा कार्यक्रम गरी यो बाइकको बिक्री सुरुवात गरेको हो। आइतबार आयोजित कार्यक्रममा होन्डा इन्डिया निर्याततर्फका बिक्री एवं बजार प्रबन्धक प्रदीप चौधरी, स्याकारका अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुहृद ज्योतिले बाइकको बिक्री सुरुवात गरेका हुन्।
स्याकारले यो बाइकलाई नेपाली बजारमा होन्डाको सुरुवाती बाइकको बताएको छ। 'यो नेपालमा होन्डाको सुरुवाती(इन्ट्री लेवल) बाइक हो,' अध्यक्ष ज्योतिले भने, 'कामकाजी ग्राहकलाई लक्षित गर्दै यो बाइक भित्र्याएका हौं।' उनले राजधानीमा बढी मात्रामा स्पोर्टी लुक्स र बढी इन्जिन क्षमताका बाइकको बिक्री गरेपनि कामकाजीले यस्तै बाइक खोज्ने गरेको बताए।


कम इन्जिन क्षमता भए पनि यसको पिकअप बढी रहेको कम्पनीको दाबी छ। स्टाइलिस ग्राफिक्स, आर्कषक रङ, सटिक मिटर कन्सोल, पुच्छ्रे बत्ती, एलई ह्विललगायत विशेषता ग्राहकले यो बाइक रुचाउने उनले बताए। यसमा एयर कुल्ड फोर स्ट्रोक र एसआई इन्जिन छ।

होन्डाले एसियाली मुलुकलाई लक्ष्य गरेर बनाएको यो बाइक भारत र नेपालको सडक सुहाउँदो रहेको ज्योतिले बताए। 'यो हाम्रो जस्तै सडकका लागि निर्माण गरिएको बाइक हो,' उनले भने, 'यसले गर्दा नेपालमा पनि यो बाइक लोकप्रिय हुनेछ।'

यो बाइकमा लामो सिट, सबै गियर लिभर, सिक्रीको पूर्ण केस, ट्युबरहित टायर, पातलो एयर फिल्टर, मर्मतरहित ब्याट्री, हलुका र बलियो फ्रेम, अधिक सस्पेन्सन स्ट्रोक र सजिलो चलाउने सुविधालगायत विशेषता छन्। यको माइलेज अधिक रहेकाले किफायती बाइकको कोटीकमा कम्पनीले राखेको छ।

होन्डाले गरेको परीक्षणमा यो बाइकले प्रति लिटर पेट्रोलले ७२ किलोमिटर माइलेज दिएको दाबी कम्पनीको छ। नेपाली सडकमा परीक्षणकै तुलनामा माइलेज दिने कम्पनीले जनाएको छ। सार्वजनिक सवारी साधन राम्रो नभएको नेपालजस्तो मुलुकमा यसलाई पारिवारीक सवारी बनाउन सक्ने ज्योतिले बताए।

यसमा ८ लिटरको इन्धन ट्यांकी, १ सय ६१ मिलिलिटरको ग्राउन्ड क्लियरेन्स, सेल्फ र किक स्टार्ट, साँघुरो बाटोमा मोड्न सकिने विशेषतायुक्त यो बाइक विभिन्न ५ रङमा उपलब्ध छ। नेपाली बजारमा यसको प्रवर्द्धनात्मक मूल्य १ लाख ६१ हजार ९ सय रुपैयाँ तोकिएको छ। कम्पनीले एक वर्षमा १० हजार वटा यी बाइक बिक्री गर्ने लक्ष्य राखेको छ। मध्यम वर्गलाई लक्ष्य गरी बजारमा ल्यइएको यो बाइक कामकाजीले रुचाउने कम्पनीको दाबी छ।

प्रकाशित: २३ पुस २०६९ ००:२४ सोमबार